कला


डरै डरले अन्योलमा अर्जुन कुमारको ‘चपली हाइट-३’

डरै डरले अन्योलमा अर्जुन कुमारको ‘चपली हाइट-३’

नेपालखबर
पुस ११, २०७८ आइतबार १३:३९, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’ नेपाली फिल्म उद्योगको आशा गरिएको चलचित्र हो। 

यो चलचित्रले कोरोनाका कारण शून्य रहेको सिने उद्योगलाई चलायमान बनाउने आशा गरिएको थियो। 

तर ठूलो लगानीको चलचित्र भएकाले जोखिम मोल्न नचाएको भन्दै निर्माता अर्जुन कुमार तत्कालीन समयमा फिल्म रिलिज गर्न तयार भएनन्। 

फिल्म उद्योग थोरै चलायमान भएपछि प्रदर्शन मिति तय गरेका अर्जुन विभिन्न बहानामा आफ्नो फिल्मको प्रदर्शन मिति सारिरहेका छन्। 

अर्जुन कुमारले पुस २ गतेलाई प्रदर्शन मिति तय गरेका थिए। यो मितिबाट सारेर पुस १५ लाई चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेका अर्जुन कुमारलाई अहिले अप्ठ्यारो अवस्था सिर्जना भएको छ। 

पुस १६ गतेबाट चलचित्र ‘कठपुतली’रिलिज हुँदैछ। अर्जुन कुमारले पुस १५ को समय लिनु अघि नै ‘कठपुतली’ले प्रदर्शन मिति तय गरेको थियो। 

चलचित्र संघले एउटा नेपाली चलचित्र प्रदर्शन भएको दुई हप्तासम्म अर्को नेपाली चलचित्र रिलिज गर्न नपाइने नियम बनाएको थियो। 

चलचित्र विकास बोर्डका सदस्य समेत रहेका अर्जुन अर्को नेपाली फिल्मसँग जुध्न गएपछि समस्यामा परेका हुन्। 

उनलाई चलचित्र संघले नियम अनुसार फिल्म प्रदर्शन गर्न भन्दै पटक पटक प्रदर्शन मिति सार्न आग्रह गरेको थियो। 

हल सञ्चालकले अर्जुनले यो नियम नमानेको खण्डमा चलचित्र रिलिज सहजताका लागि बनाएका अन्य नियम पनि नमान्ने चेतावनी दिएको छ।

योबाहेक संघले चलचित्रको ट्रेलर बजाएको रकम नलिने, हलमा पोष्टर राखेको रकम नलिने, पहिलो सातामा नेपाली चलचित्रले ५५ प्रतिशत शेयर र बाँकी हप्तादेखि ५० प्रतिशत शेयर पाउने  नियम पनि चलचित्र नियम बनाएको थियो। 

चलचित्र प्रदर्शनको यहि विषयमा छलफल गर्न आइतबार दिउँसो चलचित्र संघमा बैठक बोलाइएको छ। संघको बैठकपछि चलचित्र विकास बोर्ड, चलचित्र संघ र चपली हाइट ३ को निर्माण पक्षसँग बसेर छलफल गर्ने बताइएको छ। 

अर्जुन कुमारले भने आफू उद्योगको राजनीतिको सिकार भएको बताएका छन्। उनले भने, ‘चलचित्रले कति पैसा कमाउँछ भन्ने सोच्नै छाडिसके । अब एक शो भएपनि चलचित्र चलाउन पाए पुग्छ। उद्योगको राजनीतिले दिक्क भइसके।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad