सन् २०२१ को ‘मिस वर्ल्ड’ को शुक्रबार हुन लागेको उपाधि छिनोफानो कार्यक्रममा अन्तिम समयमा स्थगित भएको छ।
विश्वप्रतिष्ठित सौन्दर्य प्रतियोगिताको ग्रान्ड फिनालेको सबै तयारी भइसकेको अवस्थाम स्थगित भएको हो।
यसपटक प्रतियोगिता डिसेम्बर १७ मा पुर्तो रिकोको सेन जुआनमा हुने तय थियो। तर आयोजक, कर्मचारी र कयौँ प्रतिस्पर्धी सुन्दरीहरुलाई समेत कोरोना भाइरस देखिएपछि यसको फाइलन कार्यक्रम रोकिएको हो।
प्रतियोगितामा सहभागी १७ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यहीकारण ‘मिस वर्ल्ड २०२१’को ग्रान्ड फिनाले अन्तिम समयमा तत्काललाई स्थगित भएको हो।
मिस वर्ल्ड आयोजकले विज्ञप्ति निकालेर सबैजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य अधिकारीको सल्लाहमा कार्यक्रम स्थगित गरिएको जनाएको छ।
आयोजनास्थल पुएर्तो रिकोमा कोरोना संकट कम भएमा अबको ९० दिनभित्र कार्यक्रम गर्न सकिने जनाइएको छ।
पुर्तो रिकोका स्वास्थ्य अधिकारीहरुले सुन्दरीहरुमा पनि कोरोना संक्रमणको पुष्टि गरेका छन्। उनीहरुका अनुसार प्रतियोगितामा सहभागी १७ जनामा कोरोना पोजेटिभ देखिएको छ। आयोजकले सातजनालाई आइसोलेट गरिसकेका छन्।
पुर्तो रिकोका स्वास्थ्य विभाग प्रवक्ता लिसडियन एसीभीडोले संक्रमितको संख्या बढ्दै गएको बताएका छन्। उनका अनुसार सबै संक्रमितलाई कोभिडविरुद्धको खोप लगाइएको छ।
‘मिस वर्ल्ड’की अध्यक्ष जुलिया मार्लेले कोरोनाकै कारण कोही प्रतियोगी प्रतियोगितामा सहभागी हुन नसके पनि उनीहरु ताज जित्न योग्य हुने बताएकी थिइन्। तर अब प्रतियोगिता नै तत्काललाई स्थगित भएको हो।
अब मिस वर्ल्डमा सहभागी प्रतिस्पर्धीको कोभिड परीक्षण गरेरे उनीहरुलाई घर फर्काउने तयारी छ। नेपालबाट प्रतिनिधित्व गरेकी नम्रता श्रेष्ठ शीर्ष १० मा पुगेकी थिइन्।
Shares

प्रतिक्रिया