सातै प्रदेशमा ‘सप्तरङ्ग–३’ हुने भएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोडकास्टिङले ‘सप्तरङ्ग–३’ हुने जानकारी गराएको हो।
गृष्मा ब्रोडकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरङ्ग’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने छ।
‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाइलाई जनमानसमा कलामार्फत प्रस्ट्याउनु नै ‘सप्तरङ्ग’को मूल आशय हो', आयोजकले भनेका छन्।
पहिलो र दोस्रो संस्करण सद्भाव र ऐक्यबद्धतामा केन्द्रित भएको थियो। कला संस्कृतिलाई उजागर गर्दै २४ मङ्सिर देखी काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरङ्ग–३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ।
काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर , २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ।
‘सप्तरङ्ग–३’ मा अभिनेता राजेश हमाल , गायक बद्री पङ्गेनी , प्रमोद खरेल , रामकृष्ण ढकाल, अनिल सिंह , हास्य कलाकार सन्दीप छेत्री , राजा राजेन्द्र पोखरेल गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीसहित कलाकार सहभागी हुने छन्।
पाँच वर्षदेखि निरन्तर रूपमा गृष्मा ब्रोडकाष्टिडले मनोरञ्जनको क्षेत्रमा आफ्नो मौलिक कार्यक्रममार्फत सिङ्गो देश र विदेशमा रहिआएका आप्रवासी नेपालीलाई एउटै साझा सांगीतिक धागोमा गाँस्दै आएको छ।
पहिलो र दोस्रो संस्करणले सात प्रदेशबीचको आम जनताको सम्बन्ध सुमधुर बनाउन प्रभावकारी भएको थियो। यो संस्करणले सातै प्रदेशमा साङ्गीतिक यात्राको माध्यमबाट स्वास्थ्य र संवृद्धि को नारा लाई प्रवर्द्धन गरिने आयोजकले जनाएको छ।
कार्यक्रमको होस्ट निता प्रधान, विवेक खतिवडा र नरेश भट्टराईले गर्ने छन्।
Shares
प्रतिक्रिया