कला


एमाले मुख्यालयमा आत्महत्या गर्ने राजवंशी काव्यबिम्बमा

एमाले मुख्यालयमा आत्महत्या गर्ने राजवंशी काव्यबिम्बमा

नेपालखबर
मंसिर ८, २०७८ बुधबार २०:२८, काठमाडौँ

नेकपा (एमाले)को तत्कालीन मुख्यालय बल्खुमा आत्महत्या गरेका झापा आन्दोलनका योद्धा तथा कम्युनिस्ट कार्यकर्ता डेगेन्द्र राजवंशीलाई काव्यबिम्ब बनाएर कवि विमल निभाको नयाँ पुस्तक प्रकाशित भएको छ।

‘डेगेन्द्र राजवंशीको आत्महत्या’ शीर्षकको पुस्तक कवि निभाको चौथो कविता सङ्ग्रह हो।

चितवनमा सम्पन्न हुन लागेको एमालेको दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा कवि निभाले एमालेको राजनीतिमा खासै चर्चा नगरिने घटनालाई विम्ब बनाएर कविताका माध्यमबाट पुनः बहस आमन्त्रण गरेका छन्।

निभाले डेगेन्द्र राजवंशीको आत्महत्यालाई ‘नृशंसतापूर्वक’ गरिएको ‘आत्महत्यात्मक हत्या’ भनेका छन्। कवि भन्छन्–

‘कम्युनिस्ट पार्टीको त्यो हेडक्वार्टरमा
जहाँ कमरेड डेगेन्द्र राजवंशीको
आत्महत्यात्मक हत्या भएको थियो नृशंसतापूर्वक
त्यहाँ बिहानैदेखि नै
पोलिट्ब्युरोको मिटिङ भइरहने गर्छ प्रतिदिन
र, पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव,
र, स्थायी कमिटीका मेम्बरहरु
गरिब, दुःखी र सर्वहाराहरुका
सम्पूर्ण पक्षमा गर्ने गर्छन्
निरन्तर लामा–लामा
अलौकिक बहस, छलफल र वार्ता!’

‘आलुबखडाको बोटमा जुन दिन डेगेन्द्र राजवंशी पासो लागे, त्यो दिन नेपालको कम्युनिस्ट आन्दोलनले पनि एक किस्ता मृत्यु बेहोर्यो,’ नयाँ कविता सङ्ग्रहका सन्दर्भमा प्रकाशन संस्था ‘बेला पब्लिकेसन्स’का सम्पादक विनोदविक्रम केसीले भने, ‘अविराम उही आन्दोलनको अंश रहेका कवि विमल निभालाई दारुण विम्बका हैसियतले डेगेन्द्रले सदैव आलो रहने शोक दिए, यो कविता सङ्ग्रह डेगेन्द्रकै नाममा सचोट र सआक्रोश समर्पित छ।’

पाठकहरुबीच अग्रणी कम्युनिस्ट कविका रुपमा परिचित विमल निभा आफूलाई मार्क्सवादी विचारधारसँग सम्बद्ध लेखकका रुपमा चिनाउँछन्। निभाका मित्र तथा समीक्षक शार्दूल भट्टराई ‘कम्युनिस्ट पार्टीमा नरहेका कम्युनिस्ट लेखक’ भनेर उनको मूल्यांकन गर्छन्।

‘उनी कम्युनिस्ट पार्टीभन्दा बाहिर रहे पनि कम्युनिस्ट विचारभन्दा बाहिर कहिल्यै रहेनन्। बरु उनी नै कम्युनिस्ट कविका उदाहरण बनेका छन्,’ भट्टराई भन्छन्, ‘कम्युनिस्ट पार्टीको सदस्य हुँदैमा मार्क्सवादप्रति प्रतिबद्ध लेखक मानिने परम्परालाई विमल निभाले तोडेका छन्। उनी स्वतन्त्र रहेर पनि मार्क्सवादप्रति प्रतिबद्ध छन्।’

साढे पाँच दशकदेखि कविता कर्ममा समर्पित कवि निभा थोरै तर शक्तिशाली कविता लेख्ने साधक मानिन्छन्। ‘डेगेन्द्र राजवंशीको आत्महत्या’ पुस्तकमा उनका ७० वटा अप्रकाशित कविताहरु संगृहित छन्।

‘जनवादी, जनका जीवनवादी र जनका मुक्तिवादी कवि भएकाले उनको काव्य साधनाको पर्यावरण सदा प्रतिरोधी रह्यो’, सम्पादक केसीले भने, ‘कुनै कवि मान्छेद्वेषी व्यवस्थाप्रति कतिसम्म आक्रामक हुन सक्छ, उनका कविताका मुद्रा त्यसका सबुत हुन्।’

निभाका यसअघि तीन कविता सङ्ग्रह– ‘आगोनेर उभिएको मानिस’, ‘एउटा बाहुला नभएको बुसर्ट’, ‘जोकरको बन्दुक’ र दुई व्यंग्य निबन्ध संग्रह ‘चौथो कालम’ र ‘डाइनोसोर जिउँदो छ’ प्रकाशित छन्। उनले नेपालका प्रमुख पत्रिकाहरुमा लामो समयदेखि व्यंग्य स्तम्भ पनि लेख्दै आएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad