ad ad

कला


श्रवण मुकारुङको कविता : ‘हे कालीगण्डकी’

श्रवण मुकारुङको कविता : ‘हे कालीगण्डकी’

नेपालखबर
असोज ३, २०७८ आइतबार ११:३९, काठमाडौँ

कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको संगालो मात्रै। यो त आफैँमा जागरण पनि हो। चेत पहिल्याउने बाटो पनि हो। 

कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाह हुने नदी। अर्को नदी अर्थात् कालीगण्डकी। यी दुई नदी जोड्ने प्रयत्न गरेका छौं हामीले। नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी। ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन्।

पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो। यससँग लाखौं मानिसको जीवन जोडिएको छ। स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ। 

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि बीभत्स दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदूषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ। 

नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापन भएका छन्। 

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रसिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदै छ। नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ। यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, सांस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसबीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह संकटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ। 

त्यसलाई कवितामार्फत मुखरित गर्न ‘कालीगण्डकी नदी सप्तक शृंखला’ (आन्दोलन कविता) का रूपमा आयोजना गर्ने निश्चय ‘कालीगण्डकी बचाऔँ अभियान’ ले थालेको छ। 

यस अन्तर्गत प्रस्तुत छ- कवि श्रवण मुकारुङको याे कविता– 

हे कालीगण्डकी (गीति कविता)

ए कालीगण्डकी...!

हे आमा गण्डकी...!

माकुरोको माउ भयो तिम्रो जिन्दगी

 

तिम्रो अमृतधारा पिई

हुर्किएका सन्तान

तिम्रै मुटु कलेजा पो

कुटुकुटु खान्छन्

ए कालीगण्डकी...

 

तिम्रो नाम कैलाशदेखि काशी गंगासम्म

तर तिम्रै काख रित्तो

लुटे शालिग्राम

ए कालीगण्डकी...

 

तिम्रो निश्चल बगाइमा

हिमाल ऐना हेर्थ्यो

कौडा नाच्थे डाँफे मुनाल

घामले भाका फेर्थ्यो

ए कालीगण्डकी...

 

यता गैह्रो उता पैह्रो

च्वँ ! च्वँ ! कठैबरा

कुन विरह बोकी

बसाइँ सर्यो पानीचरा

ए कालीगण्डकी...

 

पुर्खा थिए माहुरीझैं

तिमी तिनको रानी

तर तिम्रो सन्तान चैं

तिम्रै मलाम जानी

ए कालीगण्डकी...

 

लाज, घिन, पाप, धर्म

छैन कुनै डर

आफ्नै आमा बेची

मान्छे बनाउँदैछन् घर

ए कालीगण्डकी...

© श्रवण मुकारुङ, भोजपुर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .