ad ad

कला


जन्मदिनमा रेखाको उद्घोषः अब राजनीतिमार्फत् समाज परिवर्तन गर्छु

जन्मदिनमा रेखाको उद्घोषः अब राजनीतिमार्फत् समाज परिवर्तन गर्छु

समर्पण श्री
भदौ ५, २०७८ शनिबार १७:४६, काठमाडौँ

अभिनेत्री, निर्देशक तथा निर्माता रेखा थापाको उमेरमा शनिबारबाट एक अंक थपियो– ३७। 

यही अवसरमा उनलाई जन्मदिनका शुभकामना आइरहेका छन्। अधिकांश शुभचिन्तकले शुभेच्छा प्रकट गर्ने क्रममा उनलाई एउटा पदवी समेत दिएका छन्– हिरो।

रेखाले चलचित्र ‘हिरो’बाट फिल्म करिअरको सुरुवात गरिन्। उनले चलचित्र क्षेत्रका केही मानकसमेत बदलिन्। एउटै ढर्रामा बन्ने अधिकांश नेपाली फिल्मका रेडिमेट थिम हुन्थ्यो– हिरो। र, हिरो सधैं पुरुष पात्र नै हुन्थ्यो।

फिल्ममा सधैं हिरोइनलाई कमजोर पात्रका रुपमा देखाइन्थ्यो। जब हिरोइन अभरमा पर्थिन्, तब त्यहाँ जीवनदाताको रुपमा हिरोको इन्ट्री हुन्थ्यो। 

रेखाले आँट गरिन् र त्यो ‘हिरो’ महिला पनि हुन्छ भन्ने साबित गरिन्। सामाजिक विषयवस्तुमाथि बनेका एक्सन फिल्महरूमा रेखाले आफूलाई उही ‘हिरो’को रुपमा उभ्याइन्। 

‘हिरोको मानकलाई बदल्न पुरानो संरचनालाई बदल्नुपर्छ। नायकत्व निर्वाह गर्नसक्छु भन्ने आँट मलाई सानैदेखि थियो। त्यो मैले सिनेमामा पनि प्रयोग गरेँ,’ रेखा भन्छिन्, ‘त्यसरी काम गर्दा केही पुरुष पात्रहरूसँग मेरो द्वन्द्व पनि भयो।’ 

रेखालाई लाग्छ– ‘यो धरतीमा जन्मने हरेक व्यक्ति हिरो हो, उसले चाहेको खण्डमा जे पनि गर्न सक्छ।’ 

त्यही कुरा वास्तविक जीवनमा पनि आफूले निर्वाह गर्न चाहेको उनको तर्क छ। 

विगतका कमजोरी सुधार्ने प्रयास
रेखा आफ्नो विगतको समीक्षा गर्न चाहन्नन्। उनी सोच्छिन्– उपलब्धिमूलक काम गरेजस्तो लाग्दैन के समीक्षा गरुँ!

समीक्षा गर्ने उमेरमा पनि आफू पुगेको जस्तो लाग्दैन रेखालाई।

‘समीक्षा त्यो समयमा गर्ने हो। जुन समयमा आफू तृप्त भइन्छ। तर, म तृप्त छैन,’ रेखा भन्छिन्। 

बरु आजसम्मको अनुभूतिलाई ठूलो पाठशालाको रुपमा चित्रण गर्छिन् उनी। 

‘मैले सिक्न धेरै बाँकी रहेछ। जब नयाँ कुरा जान्दछु आफूलाई जेरोमा पाउँछु,’ उनी भन्छिन्। 

कहिलेकाहीँ उनलाई लाग्छ, जीवनमा थुप्रै कमजोरी गरिएछ। र, बाँकी दिनमा ती कमजोरी सुधार्ने प्रयत्न गर्छिन्। 

आफ्ना सफलता असफलताबारे रेखालाई वास्ता छैन। उनको शब्दकोशमा सफलताको अर्थ छ– निरन्तरता।

‘मान्छे क्रियाशील भइरहनुपर्छ। क्रियाशील भइरहने मान्छे सधैं सफल हुन्छ। निरन्तर रुपमा काम गर्ने मान्छे एकदमै सफल हो,’ रेखा भन्छिन्। 

सिनेमा र समाज
‘म भाग्यमानी छु। यसकारण कि ३७ औं जन्मोत्सव मनाउन पाइरहेको छु,’ रेखा जन्मदिनमा खुसीयाली बाँड्दै भन्छिन्। 

तर, आफू खुसी हुनुले मात्र अर्थ राख्दैन रेखाको जीवनमा। उनी व्यक्ति, समाज र देशले खुसी बाँडेको हेर्न चाहन्छिन्। 

त्यो खुसी सिनेमाबाट बाँड्ने उनको प्रयत्न थियो। तर, अहिले उनलाई लागेको छ, त्यतिले मात्र पुग्दैन।

‘झण्डै चार वर्षयता जिन्दगी, समय, समाज र देशलाई एकदम नजिकबाट नियाल्न थालेको छु। मैले मेरो उत्तरदायित्व राजनीतिबाट पुरा गर्ने प्रयत्न गरिरहेकी छु,’ रेखा भन्छिन्। 

राजनीतिमा रेखाको ठूलो सपना छ। उनी राप्रपाको केन्द्रीय सदस्य समेत हुन्। उनी राजनीतिमार्फत् नै बलियो ढंगले देशको युवा र महिलालाई अगाडि सार्न चाहन्छिन्।

‘हिजोको घिनलाग्दो राजनीतिलाई सफा गर्ने हामीजस्ता युवाले सपना देख्न सक्छौं। त्यसको लागि म युवालाई अगाडि सार्न खोज्दैछु,’ रेखा भन्छिन्। 

चाँडै नै सरप्राइज लिएर राजनीतिक मैदानमा देखिने दाबी समेत गर्छिन् रेखा। 

‘मलाई विश्वास छ, पर्दामा भन्दा धेरै माया मैदानमा पाउनेछु,’ उनको कामना छ।  

राजनीतिमा सक्रिय रेखा तीन वर्षयता पर्दामा देखिएकी छैनन्। कतिपय शुभचिन्तकलाई लागिसकेको छ– रेखा सिनेमाबाट टाढिँदै छिन्।

तर, रेखा निश्चिन्त भएर भन्छिन्, ‘सिनेमालाई म जीवनभर साथ लिएर हिँड्छु।’
 
उनले निर्देशन गरेको पछिल्लो फिल्म हो ‘मालिका।’ उनका तीन वटा फिल्म पाइपलाइनमा छ। तर, महामारीले निर्माण प्रक्रियामा जान नसकेको बताउँछिन् उनी। 

जे होस्, रेखासँग अझै ‘हुटहुटी’ बाँकी छ। चाहे त्यो सिने क्षेत्रमा होस्, वा राजनीतिमा। दुवै क्षेत्रबाट आफूले केही फरक गरौं भन्न सोच उनमा छ। 

‘एक जनाको मात्र जिन्दगी उकास्न सकेँ भने पनि मान्छे भएर जन्मिनुको सार्थकता मैले पाउनेछु,’ रेखा उत्साहित सुनिन्छिन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .