अन्नु चौधरी स्कुल पढ्दा गीतहरु सुन्थिन्। तर, गायनमा उनलाई खासै रुची थिएन। कहिलेकाहीँ घरमा गुनगुनाउँथिन्। अन्नुको स्वर उनकी आमालाई खुब मन पथ्र्यो। साथीभाइबीच रमाइलो गर्दा गीत गाउँथिन्। साथीहरुलाई पनि मन पर्थ्याे।
तर, सार्वजनिक कार्यक्रममा उनको स्वर कहिल्यै गुञ्जियन। न उनले चाहिन, न कसैले अवसर नै दिए।
एसएलसीपछि उनी कैलालीको प्रतापपुरबाट प्लस टू पढ्न धनगढी पुगिन्। केएमसी कलेजमा भर्ना भइन्। त्यहाँ पनि साथीहरुले उनको स्वरको तारिफ गरे। तर, अन्नुलाई अझै थाहा थिएन, राम्रो गीत गाउने, राम्रो स्वर हुने गायिका बन्छन् भन्ने। अर्थात, म कुनै दिन गायिका बन्छु भन्ने।
माटि कोरे गइली
अन्नु धनगढी गएपछि आफ्नी ठूलीआमाकोमा बस्न थालेकी थिइन्। त्यसैबेला ठूलीआमा अन्नुको स्वरप्रति आकर्षित भइन्। त्यसपछि आफ्ना गायक साथी मरिणाम चौधरीसँग अन्नुबारे कुराकानी गरिन्। मरिणामसँग अन्नुको भेटघाट भयो।
‘मैले जीवनमा कहिल्यै सार्वजनिक कार्यक्रममा गीत गाएकी थिइनँ, एल्बममा गीत गाउने कुरा त सपनामा पनि सोचेकी थिइनँ’ अन्नु भन्छिन्, ‘मरिणाम दाइसँग भेट भएपछि उहाँले मलाई अवसर दिनुभयो र मैले गीत गाएँ।’
‘माटि कोरे गइली हो रामा, ओहे मटकोरवा’ बोलको अन्नुको पहिलो गीत नै हिट भयो। थारु समुदायमा उनीबारे ब्यापक चर्चा हुन थाल्यो। कैलालीका स्टेज कार्यक्रमहरुमा उनको माग बढ्यो। कुरा २०७३ सालको हो।
यसरी अन्नु रातारात गायिका बनिन्, १८ वर्षकै उमेरमा।
एकपछि अर्को हिट
पहिलो गीत सार्वजनिक भएपछि अन्नुको माग बढ्न थाल्यो। लगत्तै उनले अर्को नेपाली गीत ‘भुलेर तिम्रो मायालाई’मा स्वर दिइन्। यो गीतपछि त अन्नु थारु समुदायका कलाकारहरुबीचमा चर्चाको विषय बन्न थालिन्।
‘यो गीत यति धेरै जनाले मन पराउनु भयो कि त्यसपछि मैले पछाडि फर्किएर हेर्नै परेन’ अन्नु खुसी साट्छिन्।

दुई वर्षको अवधिमा उनले १० वटा गीत गाइन्। तर, सांगीतिक क्षेत्रको बारेमा भने उनलाई थाहा थिएन। न त गीत गायवापत मारिश्रमिक आउँछ भन्ने नै थाहा थियो। बस्, रहरले अन्नुलाई सांगीतिक क्षेत्रमा तान्दै लग्यो।
परिवारका सदस्य पनि उनको चौतर्फी चर्चामा रमाए। उनलाई थप हौसला दिए, साथ दिए। गीत गायवापत विस्तारै सहयोगस्वरुप केही पैसा पनि पाउन थालिन् उनले। त्यसपछि थाहा पाइन्, यो क्षेत्रमा नामसँगै दाम पनि हुँदो रहेछ भन्ने। अब उनको रहर कर्ममा बदलिन थाल्यो।
काठमाडौं यात्रा
गीत गाउन थालेको एक वर्षमै अन्नुले विन्दास म्युजिक अवार्ड– २०७४ हात पारिन्। अब अन्नुको खोजी हुन थाल्यो। त्यसपछि उनी काठमाडौं उक्लिइन्।
लगत्तै अन्नुले नेपाल तारा दीपक लिम्बूसँग ‘मरेँ भने मरेको पल’ बोलको गीत गाइन्। यो गीतले थारु संगीतमात्र परिचय बनाएकी अन्नुलाई नेपाली संगीतकै उज्जवल भविष्यका रुपमा लिन थालियो।
अब उनमा आफ्नो कर्मथलो काठमाडौं बनाउने हौसला बढ्न थाल्यो। किन कि विस्तारै गीत गायवापत पारिश्रमिक पनि पाउन थालेकी थिइन्। अहिले त कतैबाट अफर आए उनी पारिश्रमिकको आफै डिमान्ड गर्छिन्।
आफ्नै विशेषता
सुरिलो स्वर अन्नुको विशेषता हो। थारु समुदायमा उनको स्वरको क्रेज यति छ कि अन्नुलाई कहिलेकाहीँ अचम्म लाग्छ। छोटो समयमा उनको फ्यान फलोइङ पनि बढेर धेरै माथि पुगेको छ।
धेरैले अन्नुलाई तिम्रो स्वर भारतीय गायिका अल्का याग्रिकको जस्तो छ भन्छन्। त्यसैले उनले आजभोलि अल्कालाई पछ्याउने गरकी छन्।
‘तपाईंलाई चाहीँ मेरो स्वर अल्काको जस्तो छ भन्ने लाग्छ त ?’
‘खोई यो त मैले भन्दा पनि अरुले ख्याल गर्ने कुरा हो’ अन्नु मुस्कुराउँछिन्। उनलाई लाग्छ कसैको स्वर कसैसँग दाँज्नुभन्दा पनि सबैको आ–आफ्नै विशेषता हुन्छ। र, अन्नुको पनि आफ्नै विशेषता छ।

सर्वाधिक चर्चित बनेको उनको गीत ‘दुःखसँग भाग्दाभाग्दै’ यसको प्रमाण हो। उनका थारु भाषाका गीत भने सबै हिट छन्। भर्खरै सार्वजनिक भएको ‘चुरी पायल कंगना’को चर्चा उस्तै छ।
यतिधेरै स्रोताको माया पाएपछि अन्नुलाई यतिबेला संगीतप्रति भित्रैदेखि रस पसेको छ। उनी भन्छिन्, ‘अब म चाहेर पनि यो क्षेत्रबाट टाढा हुन सक्दिनँ।’
बचेको पैसा परिवारलाई
अन्नुले अहिले गीत गाएर राम्रै आम्दानी गरिरहेकी छन्। काठमाडौंमा आफूलाई चाहिने खर्चमात्र चलाएकी छैनन्, कहिलेकाहिँ घरमा पनि पैसा पठाइदिन्छिन्।
काठमाडौं आएको ६ महिनामै उनको छलाङ चानचुने छैन। सांगीतिक क्षेत्रमा स्थापित हुन सानोतिनो संघर्षले पुग्दैन। मानिसहरु दशकौँ संघर्ष गरेपछि बल्ल चर्चामा आउन थाल्छन्।
अन्नु भने दुई–चार वटा गीत गाएरै हिट भइन्। र, भइरहिन्। हालसम्म उनले गाएका थारु र नेपाली गरी दुई सयभन्दा धेरै गीत छन्। र, धेरैजसो चर्चामा पनि।
‘तर, मलाई अझै धेरै गर्नु छ’ अन्नु भन्छिन्, ‘भर्खरै बामे सर्दै गरेकी छुजस्तो लाग्छ। हरेक दिन नयाँ कुरा सिक्नु नै अहिलेको मेरो लक्ष्य हो।’
Shares

प्रतिक्रिया