ad ad

कला


चित्रकलामा पदचाप छाडेर गए उत्तम नेपाली

चित्रकलामा पदचाप छाडेर गए उत्तम नेपाली

वरिष्ठ कलाकार उत्तम नेपाली


समर्पण श्री
साउन ६, २०७८ बुधबार १३:५२,

मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगन्जमा बुधबार बिहान ४ बजे वरिष्ठ कलाकार उत्तम नेपालीले अन्तिम श्वास लिए। 

उनको निधनले नेपालको कला क्षेत्रलाई नै स्तब्ध बनायो। तीन वर्षदेखि श्वासप्रश्वास, मुटु रोगले थलिएका थिए उनी, विस्मृति पनि थियो।

‘दिउँसो १२ बजेसम्म कोही चिन्नुहुन्थ्यो। छोरीहरूलाई पनि। मै भेट्न जाँदा पनि ठम्याउनुहुन्नथ्यो’, उत्तमको जीवनमाथि किताब लेखेका कला समीक्षक मुकेश मल्ल सम्झिन्छन्। 

उत्तमले कक्षा क्षेत्रमा थुप्रै पदचापहरू छाडेका छन्, जसलाई अरू कलाकारले उसैगरी पछ्याइरहेका छन्। 

चित्रकार रमेश खनाल उनलाई शालीन व्यक्तित्व भएको शालीन कलाकार मान्छन्। 

‘उहाँ एउटा शालीन व्यक्तित्व भएको मूर्धन्य कलाकार हुनुहुन्थ्यो। वर्कसपहरूमा उहाँमार्फत धेरै कुरा सिक्न पाएको थिएँ’, चित्रकार खनाल उत्तमलाई सम्झिँदै भन्छन्। 

उनले नेपालमा आधुनिक चित्रकलाको सुरुवात गरेका थिए। 

अमूर्त चित्रहरूमा सिद्धहस्त उनले चित्रलाई साहित्यसँग जोड्ने नयाँ कामसमेत गरेका थिए। 

‘आधुनिक चित्रकला र कवितालाई एक साथ ल्याउने उहाँ सबैभन्दा पहिलो कलाकार हो’, साहित्यकार डा. अभि सुवेदी भन्छन्, ‘आफ्नो ग्यालरीमा कविता र पेन्टिङको उहाँले प्रदर्शन गर्नुभयो। त्यो पेन्टिङमा नेपालका आधुनिक कविहरूका कविताका लाइन र प्यारेग्राफ थिए।’ 

ललितकला प्रज्ञा प्रतिष्ठानको सदस्य हुँदा साहित्यकार बोलाउँदै उनीहरूको पोट्रेट गरेको अभि सम्झिरहन्छन्। 

‘उहाँले मेरो पनि पोट्रेट गर्नुभएको छ। जसमा मेरो अंग्रेजी कविता छ’, अभि भन्छन्। 

चित्रकार हरि प्रसाद शर्मा चित्रमा आफ्नो विधा फरक भए पनि उत्तमसँगको सामीप्यता निकै स्मरणीय रहेको बताउँछन्। 

‘अमूर्त चित्रहरूमा उहाँ यति पारखी हुनुहुन्थ्यो, उहाँका चित्रहरूले जीवन्तता प्रदान गर्थे’, उनी सम्झिन्छन्। 


नेपालीले बनाएकाे साहित्यकार अभि सुवेदीकाे चित्र। 

काठमाडौंको किलागलमा १९९४ सालमा जन्मेका थिए उत्तम। 

बाबु बाजेको पेसा व्यापार भए पनि उनलाई भने सानैदेखि कुची समाउने रहर जागेको थियो। 

चित्रकलामा स्नातक गरेका उत्तमले लखनउमा पढेका थिए।  लखनउबाट परम्परागत ‘वाश पेन्टिङ’ सिकेर आएका थिए उनी। 

‘उहाँले त्यस्तो स्कुल पढ्नुभयो जहाँ कलाकार नन्दलास बोसको छत्रछाया थियो। त्यसैको प्रभावले आफ्नो परम्परालाई कलामा समेट्ने सीप उहाँसँग रह्यो’, मुकेश मल्ल भन्छन्, ‘सुरु सुरुमा उहाँले ओरेन्टियल आर्ट गर्नुभएको थियो।’

उत्तमले कला विकासका लागि संस्थागत विकासदेखि लिएर मोर्डन आर्टको क्षेत्रमा गरेको योगदान अतुलनीय छ। कलाको नयाँ धार स्थापना गर्न उत्तमको महत्वपूर्ण भूमिका रहेको मुकेश सम्झिन्छन्। 

‘नेपाली कलामा आफ्नोपन स्थापना गर्नुभयो। जस्तै टुँडालको पेन्टिङ गरेर कलाभित्र आफ्नोपन ल्याउने काम उहाँले गर्नुभयो’, मुकेश सम्झिन्छन्। 

नेपाल प्रज्ञा प्रतिष्ठान स्थापना गर्न पनि उत्तमको अहम् भूमिका रहेको मुकेश बताउँछन्। 

०१८ सालमा उत्तमले पहिलोपटक चित्रकला प्रदर्शनी गर्दा उद्घाटन गर्न आएका राजा महेन्द्रले तीनवटा पेन्टिङ किनेका थिए। 

चित्रकला साथसाथै उत्तम कवि पनि थिए। उनको २०६१ सालमा ‘उत्तम नेपालीका कविता’ कवितासंग्रह प्रकाशित समेत भएको थियो। 

सिंगो जीवन नै सिर्जना र कलामा समर्पण गरेका उत्तम अब सम्झनामा मात्र छन्।

‘उहाँको अलग्गै व्यक्तित्व सधैँ सम्झना आइरहनेछ। उहाँको अभाव कला क्षेत्रले सधैँ महसुस गरिरहनेछ’, मुकेश भन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .