ad ad

रोजगार


जापानी भाषा र सीप परीक्षा उत्तीर्णलाई जापान पठाइने

जापानी भाषा र सीप परीक्षा उत्तीर्णलाई जापान पठाइने

जापान


नेपालखबर
साउन १९, २०७९ बिहिबार १९:१९, काठमाडौँ

जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जाने तयारी अवस्थामा रहेका नेपालीलाई यथाशक्य छिटो पठाउने विषयमा सहजीकरण गर्ने निर्णय गर्दै नेपाल–जापान संयुक्त कार्यसमितिको बैठक सम्पन्न भएको छ। 

काठमाडौँमा आज सम्पन्न बैठकमा जापानको स्पेसिफाइड स्किल वर्कर्स (एसएसडब्ल्यू) प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा पठाउन नेपाल सरकारले निर्माण गर्नुपर्ने कार्यविधि बनाउने विषयमा छलफल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

जापान सरकारले त्यहाँको औपचारिक माध्यमबाट एसएसडब्ल्यू प्रणालीअन्तर्गत नेपालबाट कामदार उपलब्ध हुने विषयको जानकारी रोजगारदातालाई गराउने तथा नेपाल–जापान श्रम समझदारीपत्रमा नेपाल तथा जापानको समसामयिक कानुनी व्यवस्था समेटेर परिमार्जन गर्नुपर्ने भएमा सोको तयारी गर्ने विषयमा छलफल भएको थियो।

संयुक्त कार्यसमितिको तेस्रो बैठक जापानमा आयोजना गरिने दुवै पक्षबीच सहमति भएको छ। संयुक्त कार्यसमितिको पहिलो बैठक सन् २०२० को नोभेम्बरमा भर्चुअल माध्यमबाट बसेको थियो। पहिलो बैठकको सहमतिअनुसार जापानमा केयरगिभर, कृषि, निर्माण क्षेत्र र रेस्टुरेन्टमा करिब ८५० नेपालीले रोजगारी प्राप्त गरेका छन्। 

सन् २०१९ मा नेपाल र जापानबीच ‘स्पेसिफाइड स्किल वर्कर्स’ (एसएसडब्ल्यू) प्रणालीअन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्नेगरी श्रम समझदारी भएको थियो। सो प्रणालीअन्तर्गत जापानका १४ वटा विभिन्न पेसागत क्षेत्रमा नेपालीले रोजगारी पाउने जनाइएको छ। 

बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेलको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि योजना बम्जन, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि हिमालचन्द्र अर्याल, वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवार र मन्त्रालयका उपसचिव डा थानेश्वर भुसाल र जापानी प्रतिनिधिमण्डलको तर्फबाट सहायक उपमन्त्री चोमुतो नाकागावाको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डलले भौतिक रुपमा सहभागिता जनाएको थियो। 

जापानका सम्बद्ध निकायका अन्य प्रतिनिधिले भर्चुअल माध्यमबाट सहभागिता जनाएको मन्त्रालयले जनाएको छ। बैठकको शुभारम्भ गर्दै श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले नेपाल–जापान श्रम समझदारी पत्र कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा रोजगारी दिने सम्बन्धमा संयुक्त कार्य समितिको बैठकलाई शुभकामना दिएका थिए। 

जापानी प्रतिनिधिमण्डलद्वारा श्रममन्त्रीसँग भेटवार्ता
बैठकपछि जापानी सहायक उपमन्त्री चोमुतो नेतृत्वको प्रतिनिधिमण्डलले श्रममन्त्री शेरबहादुर कुँवरसँग भेटवार्ता गरेको छ। भेटमा भाषा परीक्षा उत्तीर्ण भएका र सीप सिकेर बसेका नेपाली कामदारलाई तत्काल जापानमा रोजगारीका अवसर उपलब्ध गराउनेबारेमा छलफल भएको थियो।

सो अवसरमा मन्त्री कुँवरले पाँच हजारभन्दा बढी नेपाली रोजगारीका लागि जापान जाने तयारीमा रहेको जानकारी गराए। भेटमा उपमन्त्री चोतुमोले आजको गोष्ठी नेपाली कामदार जापान लैजानका लागि सकारात्मक भएको विश्वास व्यक्त गरे। 

उनले अहिले जापानमा कामदारको माग धेरै भएकाले (एसएसडब्ल्यू) मार्फत पाँच हजारभन्दा बढी नेपाली कामदार लिनका लागि जापान तयार भएको र श्रम सम्झौता कार्यान्वयनमा ढिलाइ भएकामा चासो व्यक्त गर्दै नेपाली कामदारलाई जापान लैजान भइरहेका समस्या समाधान गरी रोजगारीको बाटो खुला गर्न आफूले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .