ad ad

निर्वाचन विशेष


रुपन्देही : एमालेले बलियो क्षेत्र गुमायो, कांग्रेसको प्रभाव विस्तार

रुपन्देही : एमालेले बलियो क्षेत्र गुमायो, कांग्रेसको प्रभाव विस्तार

सुदीप भण्डारी
जेठ १४, २०७९ शनिबार ९:४३, बुटवल

०७४ सालको स्थानीय तहको चुनावमा नेकपा एमालेले रुपन्देहीका १६ पालिकामध्ये ७ वटामा प्रमुख र उपप्रमुख दुवै जितेको थियो। त्यसबेला जितेका सबै पालिकामा एमालेले यसपटक प्रमुख पद गुमाएको छ।

तिलोत्तमा नगरपालिकाको मतगणना सकिएसँगै रुपन्देहीका १६ वटै पालिकाको नतिजा आएको छ। तिलोत्तमामा कांग्रेसका रामकृष्ण खाण मेयरमा र एमालेकी जागेश्वरी देवी चौधरी उपमेयरमा निर्वाचित भए। प्रमुख पद गुमाए पनि तिलोत्तमासँगै एमालेले रुपन्देहीका सबै नगरपालिकामा उपप्रमुख पद भने जितेको छ।

बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, तिलोत्तमा, सैनामैना नगरपालिकामा एमालेले यसअघि जितेको प्रमुख पद गुमायो। तर, उपप्रमुख पद कायम राखेको छ।

अघिल्लो पटक देवदह नगरपालिकामा उपप्रमुख पद जितेको एमाले यसपटक प्रमुख र उपप्रमुख दुवै पदमा विजयी भएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाको उपप्रमुखमा एमाले पहिलो पटक विजयी भएको छ।

शुद्धोधन गाउँपालिकामा पनि उसले अघिल्लो पटक जितेको अध्यक्ष पद गुमाएर उपाध्यक्ष पद कायम राखेको छ। कञ्चन र सियारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै गुमाएको छ।

अघिल्लो पटक जितेको सबै ७ वटै पालिकाको नेतृत्वमा पराजित भए पनि एमालेले नयाँ पालिकामा प्रमुख पद पाएको छ। जिल्लाको देवदह नगरपालिकामा अघिल्लो पटक उपमेयर जितेको एमाले मेयरमा हारेको थियो। तर यसपटक मेयर र उपमेयर दुवै पदमा विजयी भएको छ। 

यसअघिको नतिजाका आधारमा कमजोर मानिएको ठाउँमा यसपटक एमाले बलियो देखिएको छ। गैडहवा गाउँपालिकामा अघिल्लो चुनावमा एमाले तेस्रो स्थानमा थियो। तर यसपटक अध्यक्ष र उपाध्यक्ष दुवै पद सो पार्टीले जितेको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा मेयर नजिते पनि एमालेले उपमेयर हात परेको छ। अघिल्लो पटक एमालेका मेयर उम्मेदवार नै थिएनन् भने उपमेयरमा पाँचौ स्थानमा थियो। पाँच वर्षअघि कुनै पनि वडा नजितेका एमालेले अहिले लुम्बिनी सांस्कृतिकमा ५ वटा वडा जितेको छ।

ओमसतियो गाउँपालिकामा अघिल्लो पटक एमाले पाँचौँ स्थानमा थियो। तर यसपटक अध्यक्ष जितेको छ। तर यहाँ उपप्रमुख तथा कुनै पनि वडामा एमाले विजयी हुनसकेन।

रुपन्देही जिल्ला भरमा अघिल्लो पटक ६७ वटा वडा जितेको एमाले यो चुनावमा घटेर ४५ वडामा खुम्चिएको छ।

कांग्रेसको प्रभाव विस्तार
रुपन्देहीमा ५ वर्षअघिको चुनावमा कांग्रेसले दुई वटा पालिका प्रमुख र दुई वटा उपप्रमुख जितेको थियो। तर यो चुनावमा १० वटा पालिका प्रमुखमा विजयी भएको छ। बुटवल उपमहानगरसहित, सिद्धार्थनगर, तिलोत्तमा, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा मेयर तथा शुद्धोधन, सियारी, कञ्चन, मायादेवी, सम्मरीमाई गाउँपालिकामा अध्यक्ष पद कांग्रेसले जितेको हो। नगरमा कुनै पनि उपप्रमुख पद जितेको छैन भने ४ वटा गाउँपालिका उपाध्यक्षमा विजयी भएको छ। अघिल्लो पटक मेयर जितेको देवदह नगरपालिकामा कांग्रेसले अहिले सो पद गुमाएको छ।

यो पटक कांग्रेसले विगतमा एमालेले जिते जति नै ६७ वटा वडा जितेको छ। ५ वर्षअघि कांग्रेसले ३९ वटा वडा जितेको थियो।

जसपाभन्दा लोसपा बलियो
उपेन्द्र यावदको पार्टीले ५ वर्षअघि रुपन्देहीको ४ वटा गाउँपालिकामा अध्यक्ष जितेको थियो। ३ पालिकामा उपाध्यक्ष र एउटा नगर उपप्रमुखमा पनि विजयी भएको थियो। त्यति बेला संघीय समाजवादी पार्टीको नाममा चुनाव लडेको उपेन्द्रको पार्टी यो पटक जनता समाजवादी पार्टीको रुपमा छ। जनता समाजवादी पार्टीले यो चुनावमा रुपन्देहीमा रोहिणी गाउँपालिकाको अध्यक्ष जितेको छ भने उपाध्यक्षमा पराजित भएको छ। यसअघि जितेको कोटइमाई, गैडहवा र मर्चवारी गाउँपालिका उसले गुमाएको छ।

जसपाले यो पटक जिल्ला भरमा ८ वटा मात्र वडाध्यक्ष जितेको छ। अघिल्लो चुनावमा तत्कालिन संघीय समाजवादी पार्टी २२ वटा वडामा विजयी भएको थियो।

यो पटक रुपन्देहीमा जसपा भन्दा लोसपा बलियो देखिएको छ। उसले कोटइमाई गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ। मायादेवी गाउँपालिकामा उपाध्यक्षमा विजयी भएको छ। लोसपामा अहिले महन्त ठाकुर अध्यक्ष छन्। ५ वर्षअघि उनी राजपामा थिए। त्यसबेला राजपाले दोस्रो चरणको चुनाव देशभर बहिष्कार गरेको थियो। राजपाका समर्थकहरुले रुपन्देहीमा स्वतन्त्र रुपमा चुनावमा भाग लिएका थिए। राजपाबाट राजीनामा दिएर मेयर लडेका मनमोहन चौधरीले लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयर जितेका थिए। तर अहिले लोसपाबाट उम्मेदवार बनेका उनी पराजित भएका छन्।

लोसपाले वडा पनि जसपाले भन्दा बढी जितेको छ। उसले जिल्लाभरमा ११ वटा वडाध्यक्ष जितेको छ।

रुपन्देहीमा हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीले मर्चवारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको छ। मर्चवारीमै दुई वटा वडाध्यक्ष समेत हात पारेको छ।

माओवादी केन्द्र रुपन्देहीमा पालिकाको नेतृत्वबाट लगभग हराएको छ। रुख चुनाव चिन्ह लिएर उसले कञ्चन गाउँपालिकाको उपाध्यक्ष मात्र जितेको छ। जिल्लाभरमा ४ वटा वडाध्यक्षमा विजयी भएको छ। माधव नेपालको एकीकृत समाजवादी पार्टीले जिल्लाभरमा एउटा मात्र वडा जितेको छ।

वडामा देखिए राप्रपा र जनमत
राष्ट्रिय प्रजातन्त्र पार्टीले रोहिणी गाउँपालिकाको उपाध्यक्ष जितेको छ। तर कतै पनि अध्यक्ष जित्न सफल भएन। रुपन्देहीभर राप्रपाले १० वटा वडाध्यक्ष जितेको छ।

सीके राउतको जनमत पार्टीले ४ वटा वडा जितेको छ। नेपाल राष्ट्रिय जनता पार्टीले एउटा र स्वतन्त्र उम्मेदवारले दुई वटा वडाध्यक्ष जितेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .