निर्वाचन विशेष


भीमदत्त नगरमा तीन दशकपछि फर्कियो कांग्रेसको सत्ता

भीमदत्त नगरमा तीन दशकपछि फर्कियो कांग्रेसको सत्ता

गोकुल जोशी
जेठ ९, २०७९ सोमबार १७:५२, कन्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेसले बहुमत वडासहित मेयर–उपमेयर जितेको छ।

नेकपा एमालेले भीमदत्त नगरपालिकामा वि.सं. २०७४ सालयताको विरासत गुमाएको  छ।  त्यसबेला १० वडासहित मेयर जितेको एमाले यसपटक ३ वडामा खुम्चिएको छ।

१९ वडामध्ये भीमदत्तमा कांग्रेसले १३ वडा सहित मेयर र उपमेयर दुवैमा जित हासिल गरेको छ। जबकी ०७४ मा कांग्रेसले ७ वडा र उपमेयर जितेको थियो।

यसपटकको जितले कांग्रेस भीमदत्तमा तीन दशक पछि बलियो उपस्थिती सहित नेतृत्वमा पुगेको छ। 

वि.सं. २०४९ सालमा तत्कालीन महेन्द्रनगरमा बाजी मारेको कांग्रेस त्यसपछि पहिलो पटक बहुमत सहित भीमदत्तको सत्ता पुगेको हो।

‘२०४९ मा जितेका थियौँ, त्यसपछि ०५४ र ७४ को चुनाव हार्यौँ‍,’ नेपाली कांग्रेस कञ्चनपुरका सचिव हेमराज ओझाले भने, ‘०४९ पछि बहुमत जितेको पहिलो पटक नै हो।’
संघीयतापछि पहिलो पटक भएको स्थानीय तह निर्वाचनमा कांग्रेस एमालेसँग पराजित भएको थियो।

त्यसबेला २ वडा जितेको माओवादीले यसपटक पनि त्यति नै जितेको छ। यस्तै, एक वडामा कांग्रेसबाट टिकट नपाउँदा ‘विद्रोह’ गरेर स्वतन्त्र लडेका उम्मेदवार पनि विजयी भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयको अन्तिम परिणामअनुसार मेयरमा कांग्रेसका पदम बोगटी र उपमेयरमा निलम लेखकले जित निकालेका छन्। 

मेयरमा विजयी भएका बोगटीले १५ हजार ८८२ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी एमालेका महेशप्रसाद पन्तले ८ हजार १७९ मत प्राप्त गरे।

यस्तै, राप्रपाका गजेन्द्रबहादुर चन्दले ७ हजार १०५ मत ल्याएका छन्। माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार समाजवादीका राजेन्द्र पाण्डेयले ३ हजार ४५२ मत ल्याएका छन्।

मेयरमा बोगटीले प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतान्तर ७ हजार ७०३ ले विजयी भएका हुन। बोगटी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेकै सुरेन्द्र विष्टसँग १६६ मतले पराजित भएका थिए।

उपमेयरमा कांग्रेसकी निलम लेखक १२ हजार २१६ मत सहित विजयी भइन्। उनका प्रतिस्पर्धी माओवादी र समाजवादीको गठबन्धनबाट उपमेयरका उम्मेदवार माओवादीका कृष्णदत्त जोशीले १० हजार ५९६ मत ल्याए।

यस्तै एमालेकी भुवन कुवँरले ७ हजार ९९० र राप्रपाकी हेलन श्रेष्ठले ४ हजार ७७२ मत प्राप्त गरिन्।

को हुन बोगटी?
बोगटीले विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको मूलधारको राजनीतिमा प्रवेश गरेका हुन्। 

वि.सं.२०३६ सालमा कक्षा १० मा पढ्दा उनी नेपाल विद्यार्थी संघमा आबद्ध भए। 

वि.सं. २०४० सालमा विद्यार्थीका आन्दोलनका क्रममा पनि पटक पटक पक्राउ परे। वि.सं. २०४५ सालमा नेपाल विद्यार्थी संघको ५ औँ महाधिवेशनका लागि उनी प्रतिनिधि निर्वाचित भए। 

त्यसपछि बोगटीले वि.सं. २०४६ सालको जनआन्दोलनमा नेपाल विद्यार्थी संघको महाकाली अञ्चलको नेतृत्व सम्हालेका थिए। 

बोगटी वि.सं. २०४७ सालमा नेवि संघ कञ्चनपुरको जिल्ला उपसभापतिमा निर्वाचित भएका थिए। 

वि.सं. २०५० सालमा नेविसंघको ६ औँ महाधिवेशनमा निर्विरोध केन्द्रिय सदस्य चयन भएका उनी कांग्रेसको ११ औँ महाधिवेशनमा जिल्ला सदस्य भए।

त्यसपछि कांग्रेसको जिल्ला सह–सचिवको जिम्मेवारी सम्हाले, बोगटीले। 

करिब १५ वर्ष कांग्रेस कञ्चनपुरको सचिव भएर काम गरेका उनी २०६२÷०६३ सालको जनआन्दोलनमा समेत सहभागी भए। 

लामो समय राजनीतिमा बिताएका बोगटी वि.सं. २०६४ सालमा महेन्द्रनगर नगर विकासको अध्यक्ष भएका थिए। उनी अहिले नेपाली कांग्रेस कञ्चनपुरको सभापति पनि छन्।

वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट भीमदत्त नगरपालिकाको मेयरको उम्मेदवार बने। तर, एमालेका सुरेन्द्र विष्टसँग १६६ मतले पराजित भएका थिए। 

त्यसबेला विष्टले ११ हजार ८३१ र बोगटीले ११ हजार ६६५ मत ल्याएका थिए।

०७४ सालमा झिनो मतान्तरले चुकेका उनै बोगटी दोस्रो प्रयासमा भारी मतान्तरका साथ विजयी भएर भीमदत्तको मेयरमा बन्न सफल भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad