निर्वाचन विशेष


३७ सय मतले चुनाव हारे, बदर भयो ५७ सय मत

३७ सय मतले चुनाव हारे, बदर भयो ५७ सय मत

सागर न्यौपाने
जेठ ८, २०७९ आइतबार १८:५६, काठमाडौँ

चुनाव हार्दाको चोट सजिलै बिर्सिन नसकिने उम्मेदवारहरु बताउने गर्छन्। मत नपाएरै चुनाव हार्दा सहन केही सहज होला, तर उम्मेदवारलाई पाएको मत बदर भएकै कारण हारेँ भन्ने लाग्यो भने कस्तो होला?

ललितपुरको महालक्ष्मी नगरपालिका प्रमुखका उम्मेदवार शिव कट्टेल त्यस्तै एक उम्मेदवार हुन्, जो अत्यधिक मत बदर भएका कारण आफू पराजित भएको बताउँछन्।

कांग्रेस–माओवादी केन्द्रबीचको गठबन्धनका साझा उम्मेदवार शिव कट्टेल झण्डै चार हजार मतअन्तरले एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठसँग पराजित भए।

श्रेष्ठले ९ हजार ३ सय ५० मत ल्याई विजयी हुँदा कट्टेलले ५ हजार ६ सय ५८ मत ल्याए।

प्रमुख हारेपनि गठबन्धनले उपप्रमुख जितेको छ। कांग्रेसकी लक्ष्मी महर्जन ९ हजार ५ सय ९१ मत ल्याई विजयी भइन।

महालक्ष्मी नगरपालिकामा १० वटा वडा छन्। निर्वाचन आयोगका एक सदस्यले नेपालखबरलाई दिएको जानकारीअनुसार प्रमुख पदमा परेको मतमध्ये १० वटै वडामा गरेर ५ हजार ७ सय ५७ मत बदर भएको छ।

ती बदर मतमध्ये अधिकांश नगरपालिका प्रमुखका उम्मेदवार कट्टेललाई परेको छ। गठबन्धन भएकोले महालक्ष्मी नगरको प्रमुख माओवादीले पाएको थियो भने उपप्रमुख कांग्रेसले। 

‘हसियाँ हथौडा र रुख दुवैपट्टि स्वस्तिक लगाइएको मतपत्र धेरै भेटियो,’ गणनामा बसेका ती कर्मचारीले भने, ‘रुखबाट प्रमुख पदको उम्मेदवार नै थिएनन् तर मत खसेको छ।’

वडा १ देखि १० वडासम्मै त्यस्तै बदर मत भेटिएको उनले बताए। गठबन्धनको अर्काे घटक माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी एक्लै चुनावमा होमिएको थियो।

गठबन्धनले चुनाव हार्नुको कारण एकीकृत समाजवादीले मत काट्नु पनि हो। तर, त्यो भन्दा ठूलो कारण मत बदर भएको उम्मेदवार कट्टेलले बताए।

निर्वाचन कार्यालय ललितपुरका एक कर्मचारीले गठबन्धनका दलहरुले मत दिने तरिका सिकाउन नसकेर मत खेर गएको बताए।

‘कि त सातै स्वस्तिक छाप रुख चिन्हमै लगाइएको छ,’ ती कर्मचारीले भने, ‘कि सातै स्वस्तिक छाप गोलाकार भित्रको हँसिया र हथौडामा लगाइएको छ, दलहरुले बुझाउन नसक्दा मतदाता झुक्किएका हुन्।’

त्यसो त कट्टेल यसमा आफूलाई हराउने षड्यन्त्र पनि देख्छन्। 

‘कांग्रेसले मलाई हराउने षडयन्त्र ग¥यो,’ कट्टेलले नेपालखबरसँग भने, ‘उनीहरुको उम्मेदवार नै नभएको चिन्हमा किन मत हालियो? गठबन्धनकै उपमेयर जित्दा मैले मत बदर भएकै कारण हार्नु पर्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .