धेरैको व्यवसायिक जीवन शिक्षणबाट सुरु हुन्छ। तर शिक्षणबाटै सबैले व्यवसायिक यात्रा टुङ्ग्याउँदैनन्।
नेपालमा शिक्षण पेसा त्यागेर राजनीतिमा आउनेको संख्या धेरै छ। तर, राजनीतिमा सफल हुने थोरै छन्।
तिनैमध्ये एक हुन्, दानबहादुर गुरूङ। जसले चितवनको इच्छाकामनामा सत्ता गठबन्धनलाई हराउँदै अध्यक्ष पद पक्का गरेका छन्।
इच्छाकामना गाउँपालिका–६ निवासी एमाले उम्मेदवार गुरुङले नेपाली कांग्रेसकी उम्मेदवार गीताकुमारी गुरुङलाई फराकिलो अन्तरले हराउँदै अध्यक्ष पद पक्का गरे।
२२ वर्षे सरकारी शिक्षण पेसा त्यागेका दानबहादुरले करिब ६ हजार ११० मत ल्याए।
राष्ट्रिय आधारभूत विद्यालय पैरेनीका प्रधानाध्यापक उनको पेन्सन पाक्न चार वर्ष बाँकी थियो। तर उनी गाउँको सेवा गर्न राजनीतिमा होमिए, अध्यक्ष पनि जिते।
‘समाजमा चेतना बाँड्दै परिवर्तन गर्नुपर्छ भन्ने अन्तर प्रेरणा र अठोट बाल्यकालदेखि नै थियो’, उनले भने, ‘त्यसैले शिक्षण रोजेको थिएँ। १६ वर्ष लामो स्थायी जागिर गरेर चित्त नबुझेपछि राजनीतिमा आएँ।’
शिक्षण पेसामा चित्त नबुझाएका उनले त्यसबाट अवकाश लिएर गाउँको सेवामा होमिन राजनीति थाले।
‘शिक्षण पेसामा रहेर मात्रै शिक्षा सुधार गर्न सक्छु जस्तो लागेन, जति दिनुपर्ने थियो त्यति दिन सकिएन जस्तो लाग्यो’, दानबहादुरले भने, ‘त्यसैले पालिकाको समग्र विकासका लागि नेतृत्वमा आउने योजना बनाएँ। सफल भएँ। अब काम गरेर देखाउँछु।’
लामो समय शिक्षण कार्यमा बिताएको अनुभवले काम गर्न सहज हुने उनले बताए।
‘मेरो विचार र सोचाइ अरुभन्दा भिन्न छ’, आफैँले आफूलाई तुलना गर्दै उनले भने, ‘बुबाले बाँचुञ्जेल चप्पल जुत्ता देख्न पाउनुभएन। त्यसैले मैले दुःख र संघर्ष बुझेको छु।’
उनले निःस्वार्थ गाउँको सेवामा दत्तचित्त भएर लाग्ने पनि बताए।
‘रवाफ देखाउन गाउँपालिकामा आउन खोजेको होइन। कमाउने पनि उद्धेश्य पनि छैन। कमाउने उद्धेश्य भएको भए सरकारी जागिर छोडेर आउने नै थिइनँ’, उनले भने, ‘नितान्त जनताको सेवा गर्न आएको हुँ।’
शिक्षणबाट असन्तुष्ट भएर आफूले राजनीति नरोजेको पनि उनले बताए। ‘शिक्षणमा असन्तुष्ट भएर राजनीतिमा आएको होइन’, उनले भने, ‘शिक्षण मेरो रोजाइको पेसा हो। तर आजीवन त्यसैमा सीमित भइरहन मन लागेन। राजनीतिबाट पनि शिक्षा क्षेत्रमा योगदान दिन्छु। राजनीतिबाट धेरै पक्ष सुधार्न सक्छु, त्यो सम्भव लागेर यता आएँ।’
नियमित विद्यालयमा जाने यात्रा त टुङ्गिएको छ तर अध्ययन र सिकाउने उत्सुकता मरेको छैन।
परिर्वतनको चाहना विद्यार्थीकालदेखि नै रहेको बताउँदै उनले त्यो अझै जीवित रहेको सुनाए।
‘विद्यार्थीकालमा पनि संगठनमा आवद्ध भएर विद्यार्थीका आवाज बुलन्द गर्थेँ। चुपचाप समय बिताउने स्वभाव होइन, केही न केही गर्नुपर्छ भन्ने हुटहुटी छ’ ,उनले भने, ‘शिक्षण पेसामा आवद्ध भएपछि शिक्षकको हकहितको निम्ति शिक्षक संगठनमा रहेर काम गरेँ।’
शिक्षा, विज्ञान र प्रविधिबिना अन्य कुनै क्षेत्रको विकास सम्भव छैन भन्ने उनलाई लाग्छ।
‘शिक्षाको विकासबिना अन्य केही सम्भव छैन। अशिक्षितले नदीमा ढुंगा, बालुवा देख्छ, तर शिक्षितले विद्युत देख्छ, त्यसैले शिक्षा क्षेत्रमा लगानी गर्नुपर्छ। सबै क्षेत्रको मेरुदण्ड शिक्षा हो’, उनी भन्छन्।
सबैभन्दा पहिला गाउँको शिक्षा क्षेत्र राम्रो गर्न दरबन्दीको व्यवस्था गर्ने उनको योजना छ।
इच्छाकामना गाउँपालिकामा विषयगत तथा तहगत दरबन्दी बढाएर शिक्षा क्षेत्रमा आमुल परिर्वतन ल्याउने उनले बताए।
‘शिक्षालाई सीप र सीपलाई रोजगारीसँग जोड्न सके उन्नति र विकास टाढा छैन’ ,उनले भने, ‘इच्छाकामनाको समृद्धिसँग शिक्षा र चेतनालाई जोड्नेछु।’
विद्यार्थीलाई विद्यालय ल्याएर टिकाउन सुविधायुक्त भवन, निःशुल्क स्वास्थ्य बिमा, विद्यार्थीसँग घुलमिल हुने शिक्षक नियुक्त गर्ने र विकट ठाउँका बालबालिकालाई डे–बोर्डस्, छात्रबाट, निःशुल्क कापी कलम स्टेशनरी व्यवस्था गर्ने योजना सुनाए।
‘म विद्यालय नआउने बालबालिकाका लागि वातावरण बनाउँछु। गाउँमै क्याम्पस बनाउँछु। विद्यालय भवन बनाउँछु’, उनले भने, ‘स्वास्थ्य चौकीको स्तरोन्नति गर्नेछु। गाउँका गरिब पत्ता लगाएर निःशुल्क स्वास्थ्य बिमा गराउँछु।’
उनले गाउँका बालबालिकाले बुझ्ने भाषाका शिक्षक राख्ने योजना पनि सुनाए।
‘बालबालिकाले भाषा बुझ्ने शिक्षक राख्ने, उनीहरुको रहनसहन बुझ्ने, विद्यार्थीसँग घुलमिल हुने शिक्षक नियुक्त गर्ने र विकट ठाउँका बालबालिकालाई डे–बोर्डस्, छात्रबाट, निःशुल्क कापी कलम स्टेशनरीको व्यवस्था गर्छु’, उनले भने, ‘उनीहरुलाई टिकाएर राख्न जरुरी छ । अन्य भौतिक पूर्वाधारका अलवा गाउँगाउँमा शिक्षाको विकास गर्न सक्यो भने इच्छाकामना यसै राम्रो हुने मैले ठान्छु।’
रोजगारी र सुविधाका लागि स्थानीय सहर छिरे, बेरोजगार युवा विदेशिए। केही सक्षम विद्यार्थीले पनि अवसर नपाएको कारण नेपालमै बस्न रुचाएनन्। यो देख्दा उनलाई दुःख लाग्छ।
सरकारी विद्यालयलाई अंग्रेजी माध्यममा लगेर निम्न वर्गका समुदायको जीवनस्तर उकास्ने योजना गुरूङले सुनाए।
गाउँपालिकाको अध्यक्षमा विजयी भएसँगै गरिबीको रेखामुनि रहेका चेपाङ, दलित समुदायको जीवनस्तर उकास्ने योजना उनीसँग छ।
इच्छाकामनाका ग्रामीण क्षेत्रका सडकको अवस्था सुधार्ने, भौतिक पूर्वाधारका क्षेत्रमा समेत उस्तै प्राथमिकता राखेको उनले बताए।
‘गाउँमा विद्यार्थी घट्न थालेका छन्। विद्यालय नै संकटमा पर्ने अवस्था छ। यो सुधार गर्छु। विद्यालय जोगाउने उपाय खोज्छु,’, उनले सुनाए।
Shares
प्रतिक्रिया