ad ad

निर्वाचन विशेष


जो माओवादीसँग मेयरमा पराजित भए, तिनैको विजय जुलुसमा भाषण गर्न गए

जो माओवादीसँग मेयरमा पराजित भए, तिनैको विजय जुलुसमा भाषण गर्न गए

सीताराम बराल
जेठ ५, २०७९ बिहिबार १९:२०, काठमाडौँ

पहिलो स्थानीय तह निर्वाचन (२०७४) मा गोर्खाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित मेयर दीपकबाबु कँडेल यसपटकको निर्वाचनमा पराजित भए। 

पराजित मात्र हो र! तेस्रो स्थानमा खुम्चिन पुगे। २०७४ मा आफैंले पराजित गरेका माओवादी केन्द्रका विवश चिन्तनबाट उनी पराजित हुनुपर्यो। 

अन्तिम मत परिणाम सार्वजनिक भएसँगै पालुङटारको मेयर–उपमेयर र चारवटा वडामा विजय हासिल गरेको माओवादी केन्द्रले विजय जुलुस निकाल्यो। 

जुलुसको अग्रपंक्तिमा मेयरका विजयी उम्मेदवार विवश चिन्तन र उपमेयरकी उम्मेदवार बन्दना पाण्डे थिइन्। विजयी दुवैजना अबीर र मालाले छोपिएका थिए। यी दुईजनाको बीचमा अर्का एक व्यक्ति पनि थिए। विजय जुलुसका अन्य सहभागीझैँ उनको अनुहार पनि हँसिलो थियो। 

ती व्यक्ति विजय जुलुसमा सहभागीमात्र भएनन्, सम्बोधन पनि गरे। ‘तपाईंहरु पालुङटारको भाग्यरेखा कोर्न आएका जनप्रतिनिधि हुनुहुन्छ’ भन्दै विजयी माओवादी केन्द्रका उम्मेदवारहरुलाई खुसीसाथ बधाई दिए। 

माओवादी केन्द्रको विजय जुलुसमा सहभागी भएर सभालाई सम्बोधन गर्ने व्यक्ति अरु कोही नभएर पराजित नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार दीपकबाबु कँडेल थिए। 

प्रतिस्पर्धीले विजय हासिल गरेपछि औपचारिकता लागि पराजितले बधाई र शुभकामना दिने प्रचलन नेपालमा पनि  सुरु भएको छ। तर, पराजित हुँदा पनि दिल फराकिलो पारी विजय जुलुशमै सहभागी भएर बधाई र शुभकामना दिने आम संस्कारको विकास भइसकेको छैन। 

पालुङटारका निवर्तमान मेयर कँडेलले यो परम्पराको थालनी गरेका छन्। 

विजयी उम्मेदवारलाई सामाजिक सञ्जालबाटै ‘बधाइ–शुभकामना’ को औपचारिकता निर्वाह गरे हुनेमा पराजित कँडेल किन विजय जुलुसमै सहभागी भए? 

कतै जसपा नेता डा बाबुराम भट्टराईको मेख मार्न माओवादी केन्द्रको विजय जुलुसमा सहभागी भएका त होइनन्?  
११ वैशाखमा मनोनयन दर्ता भएपछि २७ वैशाखमा निर्वाचनको मौन अवधि सुरु हुनुअघिसम्म उनले जसपाबाट जे जस्तो झमेल बेहोर्नु पर्यो, त्यो परिदृष्य नजिकबाट देख्नेहरुका लागि उपरोक्त आशंकाजन्य प्रश्न जायजै लाग्छन्। 

किनभने, सत्ता गठबन्धनमा रहेको जसपा नेता डा. बाबुराम भट्टराई पालुङटार जसपाले पाउनैपर्ने अडानमा थिए। 

तर, २०७४ मा मेयरमा विजय हासिल गरेको कांग्रेसको स्थानीय नेतृत्व यसका लागि तयार थिएन। तर, मनोनयन फिर्ता गर्ने दिन (१६ वैशाख) डा. भट्टराईले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई पालुङटार जसपालाई छाड्न सहमत गराए। पालुङटारको मेयर जसपाले नपाए कांग्रेस नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारबाट जसपाले समर्थन फिर्ता लिने धम्की दिएको चर्चा पनि चल्यो। 

जसपाले समर्थन फिर्ता लिँदा गण्डकी सरकार ढल्थ्यो। जसपाको साथ पाए एमाले नेतृत्वमा गण्डकीमा फेरि नयाँ सरकार बन्ने सम्भावना रहन्थ्यो। यही कारण देउवा जसपालाई पालुङटार नगरपालिकाको नेतृत्व दिन तयार भएका हुन् भन्ने चर्चा कांग्रेसजनबीच चल्यो।

कारण जे होस्, डा. भट्टराईको जोडबलपछि प्रधानमन्त्री देउवाले निर्वाचन कार्यालयलाई कांग्रेस उम्मेदवार कँडेलको उम्मेदवारी फिर्ताको पत्र पठाए। 

तर, देउवाको पत्र निर्धारित समय भन्दा ढिलो पुगेकाले कँडेलको उम्मेदवारी रद्द हुन सकेन। उम्मेदवारी कायम रहेपछि कँडेल प्रचारमा लागे।  

कँडेलको उम्मेदवारी फिर्ता हुन नसके पनि डा. भट्टराईले पालुङटारमा जसपाबाट मेयरका उम्मेदवार प्रेम गुरुङलाई गठबन्धनको उम्मेदवार बनाउन प्रयास गरिरहे। 

डा. भट्टराईको निरन्तरको जोडबलका अघिल्तिर देउवाको केही जोड चलेन। पार्टी केन्द्रले नै अनुरोध गरेपछि बैशाख दोस्रो हप्ता कँडेलले आफूले उम्मेदवारी निष्क्रिय बनाएको र मेयरमा जसपा उम्मेदवारलाई समर्थन गर्न अनुरोध गर्दै विज्ञप्ति जारी गरे। 

कँडेलको विज्ञप्तिसँगै पालुङटारमा कांग्रेस–जसपाबीच तालमेल भएको सञ्चार प्रवाह भयो। 

तर, मेयर जसपाले लिएर पालुङटारमा कांग्रेससँग तालमेल गराएका जसपा अध्यक्ष डा. भट्टराईले जिल्ला सदरमुकाम गोर्खा नगरपालिकामा मेयर माओवादी केन्द्र र उपमेयर जसपाले लिने गरी तालमेल गरे।  

यो निर्णयले गर्दा पालुङटार कांग्रेस क्रुद्ध भयो। उसले पालुङटारमा जसपासँगको तालमेलको भङ्ग भएको घोषणा गर्यो। मेयरका उम्मेदवार कँडेल आफ्नो उम्मेदवारीलाई सक्रिय बनाउँदै फेरि प्रचारमा लागे। 

कहिले ‘जसपासँग तालमेल भयो’ भन्ने, कहिले ‘तालमेल भङ्ग भयो’ भन्ने प्रचारका कारण कांग्रेस समर्थक मतदातामात्र होइन, अगुवा कार्यकर्ताहरु समेत अलमलिए। निर्वाचनको मौन अवधि सुरु हुनु अघिल्लो दिनसम्म यो अलमल रहिरह्यो। 

यो अलमलको असर निर्वाचन परिणाममा देखियो। माओवादीका चिन्तन विजयी हुँदा कँडेल तेस्रो स्थानमा पुगेर पराजित भए। विजयी चिन्तनले ६ हजार ७२, निकटतम प्रतिद्वन्द्वी जसपाका प्रेम गुरुङले ६ हजार ७ सय १७ र कँडेलले ४ सय ९ सय ९७ मतमात्र प्राप्त गरे। 

‘सुरुदेखि एउटा निर्णय गरेर लाग्न पाइएन’ कँडेलले नेपालखबरसँग गुनासो गरे, ‘गठबन्धनमा सिर्जित यो झमेलाले प्रचार अभियान र निर्वाचन परिणाममा केही न केही असर गर्यो।’ 

कतै यही झमेलाका कारण विजयी माओवादी केन्द्रका उम्मेदवारहरुको जुलुशमा सहभागी र भाषण समेत गरेर कँडेलले डा. भट्टराईसँग बदला लिन खोजेका त होइनन्? 

‘त्यो चाहिँ होइन’ कँडेलले भने, ‘कांग्रेस र जसपा सत्ता गठबन्धनका सहयात्री दल भएकाले डा. भट्टराईले पालुङटार जसपाले पाए हुन्थ्यो भनेर प्रयास गर्नु स्वभाविक हो। तर, के गर्ने भन्ने विषयमा हाम्रो नेतृत्वले विचार पुर्याउनु पर्दथ्याे। त्यसमा चाहिँ नेतृत्वले ध्यान दिएन।’ 

आफ्नो पराजयमा स्थानीय नेतृत्वमा देखिएको गुटउपगुटले पनि भूमिका खेलेको उनले बताए।

‘यहाँ पनि देउवा पक्ष र कोइराला पक्ष भन्ने गुट छ, त्यसको असर निर्वाचनमा देखियो’ उनले भने, ‘हाम्रै पार्टीका साथीहरुले पूर्णरुपमा मलाई सहयोग गरेनन्। प्रदेशका नेतृत्वका साथीहरुले सुरुदेखि नै पालुङ्टारको नेतृत्व जसपालाई दिन पाए हुन्थ्यो भन्ने भावना राख्नुभयो। त्यसले प्रचार अभियानलाई असर पुर्यायो।’ 

डा. भट्टराईप्रति कुनै ‘तुष’ नरहेको बताएपछि कँडेलले आफैंलाई पराजित गर्ने माओवादी केन्द्रका उम्मेदवारहरुको विजय जुलुसमा सहभागी हुनुको कारण बताउन सुरु गरे। 

‘म मेयर–उपमेयरको विजय जुलुसमा मात्र सहभागी भएको होइन, वडाका साथीहरुको विजय जुलुसमा पनि सहभागी हुँदै आएको छु’ उनले भने, ‘पालुङटारमा माओवादी केन्द्र, जसपा र कांग्रेसका साथीहरुले विभिन्न वडामा विजय हासिल गर्नुभएको छ। म सबै जुलुसमा सहभागी भएर उहाँहरुलाई बधाई र शुभकामना दिएको छु।’ 

कँडेलका अनुसार, जब पालुङटारको अन्तिम मत गणनाको परिणाम विहीबार दिउँसो सुनाइँदै थियो, कँडेल त्यहाँ उपस्थित थिएनन्। 

‘औपचारिकरुपमा परिणाम घोषणा हुँदाकै बेला उहाँहरुलाई अविरमाला लगाएर बधाई र शुभकामना दिन चाहन्थेँ, तर अन्यत्रै भएकाले त्यो अवसर प्राप्त गर्न सकिनँ’ उनले भने, ‘जब फुर्सदिलो भएँ, त्यसपछि बधाई दिन गएँ। उहाँहरुले विजय जुलुश निकाल्दै हुनुहुँदो रहेछ, २ मिनेटजति त्यसमा सहभागी भएर बधाई र शुभकामनासहित सम्बोधन गरेँ।’ 

जसपा उम्मेदवार प्रेम गुरुङले विजय हासिल गरेको भएपनि विजय जुलुसमा सहभागी हुन आफूलाई अप्ठेरो नपर्ने कँडेलले बताए। 

‘पालुङटारका जनताको छनोटमा हिजो म परेँ, आज अर्काे साथी जनताको छनोटमा पर्नुभएको छ। जनताले गरेको यो निर्णयलाई मैले सहर्ष स्वीकार गर्नुपर्छ’ कँडेलले भने, ‘जनमतलाई स्वीकार गर्न पनि म त्यो विजय जुलुसमा गएको हुँ।’ 

कँडेल पेशाले इन्जिनियर हुन्। माओवादी केन्द्र र माओवादी छाडेका जसपा अध्यक्ष डा. भट्टराईको प्रभावक्षेत्र पालुङटार नगरपालिकामा कांग्रेस उम्मेदवारका रुपमा विजय हासिल गर्नमा उनको यो पेशागत पृष्ठभूमिले पनि भूमिका खेलेको थियो।  

यही पेशागत पृष्ठभूमिले पनि उनको विजयमा सहयोग गर्यो। थोरै मतान्तर नै सही, उनी विजयी भए। उपमेयरमा भने माओवादी केन्द्रकी पम्फा बसेल निर्वाचित भइन्। 

आज अर्थात् ५ जेठ पाँच वर्षअघि (२०७४) मा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकालको अन्तिम दिन हो। संयोगवस त्यसैदिन पालुङटारको मतगणना सम्पन्न भयो, निर्वाचन परिणाम सार्वजनिक भयो। 

‘पाँच वर्षको अवधिमा मैले धेरै काम गर्न सकिन होला। तर, पालुङटार नगरपालिकाको विकास कस्तो हुनुपर्छ भन्ने रेखाङ्कन मेरो कार्यकालमा भएको छ’ कँडेलले भने, ‘भोलिदेखि उहाँहरुको कार्यकाल सुरु हुन्छ। आशा छ, उहाँहरुले त्यो रेखाङ्कनमा रङ्ग भर्नुहुनेछ। यही कुरा भन्न पनि म उहाँहरुको विजय जुलुसमा गएको हुँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .