देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता लिएको छ। पछिल्लो मत परिणामअनुसार ५ महानगरमा गठबन्धनको अग्रता छ भने एउटामा स्वतन्त्र उम्मेदवार अगाडि छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने कुनै पनि महानगरको प्रमुखमा अग्रता लिन सकेको छैन।
देशभरका ६ महानगरपालिकाको पछिल्लो अपडेट–
काठमाडौं

सबैभन्दा धेरै चासोको रुपमा हेरिएको काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन्। पछिल्लो मत परिणामअनुसार बालेन शाहले १४ हजार ४४५ मत प्राप्त गरेका छन्। नेकपा एमालेका केशव स्थापित ७ हजार ८५२ मत पाएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ६ हजार ९ सय मत पाएकी छिन्।
त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल अगाडि छिन्। उनले १२ हजार १५७ मत पाएकी छिन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३ हजार ६१४ मत पाएका छन्।
काठमाडौं महानगरपालिकामा ३ लाख २४२ जना मतदाता छन्। यहाँ प्रतिस्पर्धामा उत्रेका मेयरका उम्मेदवारहरुमा एमालेबाट केशव स्थापित, कांग्रेसबाट सिर्जना सिंह (श्रेष्ठ), स्वतन्त्र उम्मेदवार बालेन शाह, विवेकशील साझा पार्टीबाट समीक्षा बास्कोटा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मदन दास श्रेष्ठ छन्।
बालेनलाई जिताउला त काठमाडौंको भित्री बस्तीले ? यस्तो छ ३२ वडाको शक्ति सन्तुलन
त्यसैगरी काठमाडौंको उपमेयरमा एमालेबाट सुनीता डंगोल र गठबन्धनतर्फ एकीकृत समाजवादीबाट रामेश्वर श्रेष्ठ प्रतिस्पर्धामा छन्। त्यस्तै विवेकशील साझा पार्टीबाट कीर्ति तुलाधर र राप्रपाबाट बिनिता मगैया काठमाडौंको उपमेयरमा उठेका छन्।
नेपाल मजदुर किसान पार्टीले सुरेन्द्र महर्जनलाई मेयर र सविता श्रेष्ठलाई उपमेयरमा उठाएको छ भने नेपाली काँग्रेस(बीपी)ले भक्तराज भुसाललाई मेयर र इन्दिरा अधिकारी (थापा) लाई उपमेयरमा उठाएको छ।
कुल ३२ वटा वडाहरु रहेको काठमाडौं महानगरपालिकामा ०७४ सालमा एमालेका विद्यासुन्दर शाक्य मतका साथ मेयरमा विजयी भएका थिए। उपमेयरमा कांग्रेसकी हरिमाया खड्गीले मत ल्याएर जितेकी थिइन्।
एमालेले ०७४ मा राप्रपासँग तालमेल गरेको गरेको थियो। आफूले उपमेयरमा उम्मेदवारी नदिएर एमालेले राप्रपाका राजाराम श्रेष्ठलाई सघाएको थियो। हरिमायासँग पराजित बनेका श्रेष्ठले मत पाएका थिए।
०७४ को चुनावमा मेयरमा उठेकी विवेकशील पार्टीकी रञ्जु दर्शनाले २३ हजार मत ल्याएकी थिइन् भने मेयरमै प्रतिस्पर्धा गरेका किशोर थापाले १८ हजार मत पाएका थिए।
भरतपुर

भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिइरहेकी छिन्। उनले पछिल्लो मतपरिणामअनुसार ९ हजार ४०५ मत पाएकी छिन्। उनलाई एमालेका विजय सुवेदीले ८ हजार ३७ मतका साथ पछ्याइरहेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार २४८ मत पाएका छन्।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ११ हजार १९६ मतका साथ अगाडि छन्। राप्रपाकी हिमला गुरुङ ६ हजार ५४८ मतका साथ दोस्रो स्थानमा छिन्।
भरतपुर महानगरपालिका देशैभरिको ध्यान केन्द्रित भएको महानगरपालिका हो। यहाँ कुल १ लाख ८५ हजार ७५२ मतदाता छन्। यसमध्ये ८८ हजार ८८४ पुरुष र ९६, ८६७ महिला छन्।
भरतपुर महानगरपालिकाको प्रमुखका लागि नेकपा एमालेबाट विजय सुवेदी र पाँच दलीय गठबनधनबाट माओवादी नेतृ रेनु दाहाल मुख्य प्रतिष्पर्धामा देखिन्छन्। उनीहरु दुवैलाई स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चुनौती दिइरहेका छन्।
यस्तै महानगरको उपप्रमुखका लागि एमालेले इन्दिरा शर्मा गौलीलाई उठाएको छ भने सत्तापक्षीय गठबन्धनले कांग्रेस नेता चित्रसेन अधिकारीलाई उपमेयरमा उठाएको छ।
भरतपुरमा मेयरका लागि एमालेलाई सघाउने निर्णय गरेको राप्रपाले उपमेयरमा एमालेसँगको सहकार्यमा मिला गुरुङलाई उठाएको छ। त्यस्तै, विवेकशील साझा पार्टीले पुष्पा सापकोटालाई उपमेयरको उम्मेदवार बनाएको छ।
२०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल ४३ हजार १२७ मतसहित भरतपुर महानगरको प्रमुखमा विजयी भएकी थिइन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका देवी ज्ञवालीले ४२ हजार ९२४ मत पाएका थिए। उनीहरुबीचको मतान्तर २०३ मात्र थियो।
कांग्रेससँग तालमेल गरेर चुनावमा उत्रिएको माओवादी केन्द्रले प्रमुखमा झिनो मतान्तरले मात्रै जित हात पारेको थियो। तर, उपप्रमुखमा भने कांग्रेस नेतृ पार्वती शाह ठकुरी फराकिलो मतान्तरका साथ निर्वाचित भएकी थिइन्। ठकुरीले उपमेयरमा प्रतिद्वन्द्वी एमालेकी दिव्या शर्मा आचार्यलाई साढे ७ हजार भन्दा बढी अन्तरले पराजित गरेकी थिइन्। शाहले ४७ हजार १९७ मत ल्याउँदा एमाले नेतृ शर्माले ३९ हजार ५२५ मतमा चित्त बुझाउनु परेको थियो।
उपमेयरमा राप्रपाका तर्फबाट उम्मेदवार बनेकी रिना गुरुङले ७ हजार २५२ मत पाएकी थिइन्।
पोखरा

पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले १२ हजार ९४५ मतका साथ अग्रता लिएका छन्। उनलाई पछ्याइरहेका एमालेका कृष्णबहादुर थापाले ११ हजार १५० मत पाएका छन्।
उपप्रमुखमा कांग्रेसकी कोपिला रानाभाटले १२ हजार ६९६ मतका साथ अग्रता लिएकी छिन् भने एमालेकी मञ्जुदेवी गुरुङले १२ हजार ९१ मतका साथ पछ्याइरहेकी छिन्।
कास्कीको पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७१२ मतदाता छन्। जसमध्ये ९७ हजार ७० पुरुष, १ लाख १० हजार ६४१ महिला र १ अन्य मतदाता छन्।
पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका नेता धनराज आचार्य मेयरमा उठेका छन् भने एमालेका तर्फबाट कृष्णबहादुर थापा उठेका छन्। एमालेबाट फुटेको एकीकृत समाजवादीसँगको प्रतिस्पर्धालाई ओली भर्सेस माधव नेपालबीचकै प्रतिस्पर्धाका रुपमा हेरिएको छ।
महानगरमा विवेकशील साझा पार्टीले सुशीला केसी अधिकारी र राप्रपाले शंकर खराललाई मेयरको उम्मेदवार बनाएको छ।
उपमेयरतर्फ एमालेबाट मञ्जुदेवी गुरुङ, नेपाली कांग्रेसबाट कोपिला रानाभाट, विवकेशीलबाट माधव भण्डारी र राप्रपाबाट रञ्जनाकुमारी सेन पौडेल उम्मेदवार बनेका छन्।
गत २०७४ को स्थानीय निर्वाचनमा एमालेका मानबहादुर जिसी ६० हजार ११८ मतले विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी रामजी कुँवरले ४६ हजार ४१६ मत पाएका थिए। ०७४ मा तत्कालीन संघीय समाजवादी फोरमका हुमबहादुर गुरुङले ३ हजार १७० र राप्रपाका गीता गुरुङले २ हजार २७२ मत ल्याएका थिए। एमाले र कांग्रेसबीचको भारी मतान्तरकै कारण पोखरालाई एमालेको बिरासतका रुपमा हेरिँदै आएको थियो।
०७४ मा उपप्रमुख पनि एमालेले नै जितेको थियो। एमालेकी मञ्जुदेवी गुरुङ ५६ हजार ४४८ मतले निर्वाचित भएकी थिइन् भने उनकी प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत पाएकी थिइन्।
महानगर उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी गोमा ढकालले ८ हजार ७९६ मत पाएकी थिइन्। त्यस्तै, उपमेयरमा राप्रपाका रमेशबहादुर खत्रीले २ हजार ८४० र स्वतन्त्र उम्मेदवार सिरोज कोइरालाले २ हजार १९९ मत ल्याएका थिए।
विराटनगर

विराटनगर महानगरपालिकाको प्रमुखमा नागेश कोइराला अगाडि छन्। उनले अहिलेसम्म ११ हजार ६९९ मत पाएका छन्। एमालेका सागरकुमार थापाले ८ हजार ६५० मत पाएका छन्।
उपप्रमुखमा एमालेकी शिल्पा कार्कीले ८ हजार ९९३ मत पाएकी छिन्। जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले ५ हजार ६१८ मतका साथ उनलाई पछ्याइरहेका छन्।
अघिल्लो चुनावमा नेपाली कांग्रेसको गढ मानिएको विराटनगर महानगरपालिकामा १ लाख ३३ हजार १४२ मतदाता छन्। यीमध्ये ७० हजार ५२४ पुरुष र ६२ हजार ६१८ महिला मतदाता छन्।
विराटनगर महानगरपालिकाको प्रमुखका लागि नेकपा एमालेले सागरकुमार थापालाई उठाएको छ भने नेपाली कांग्रेसले नागेश कोइरालालाई टिकट दिएको छ।
त्यस्तै, लोकतान्त्रिक साजवादी पार्टी (लोसपा) ले मृत्युञ्जयकुमार मिश्र, विवेकशील साझा पार्टीले अमलेशकुमार कर्ण र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रह्लादप्रसाद साह हलुवाईलाई मेयरको उम्मेदवार बनाएको छ।
महानगरको उपप्रमुखका लागि एमालेले शिल्पा कार्की र जनता समाजवादी पार्टी (जसपा) ले उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई टिकट दिएको छ। उपमेयरमा लोसपाले सहनाज खातुन, विवेकशील साझाले सञ्जु पराजुली र राप्रपाले विन्दाकुमारी लुइँटेल आचार्यलाई उम्मेदवार बनाएको छ।
२०७४ को स्थानीय तह निर्वाचनमा विराटनगरमा कांग्रेसका भीम पराजुली २३ हजार ३१ मतका साथ महानगर प्रमुखमा विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विनोदप्रसाद ढकालले १७ हजार ३२१ मत प्राप्त गरेका थिए।
महानगरको प्रमुखमा तत्कालीन संघीय समाजवादी फोरमका उमेशकुमार यादवले १४ हजार ९५८ मत ल्याएका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रह्लादप्रसाद साह हलुवाइले ५ हजार ५२४ मत पाएका थिए। जसपाका उमेश अहिले गठबन्धनबाट बागी उठेका छन्।
महानगरको उपप्रमुखमा कांग्रेसकी इन्दिरा कार्की २० हजार १४६ मतसहित विजयी भएकी थिइन्। उनकी निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी नमिता न्यौपानेले ११ हजार ५२४ मत पाएकी थिइन्। अहिले नमिता गठबन्धनबाट बागी उठेकी छिन्। ०७४ को चुनावमा राप्रपाकी शोभा श्रेष्ठले ४ हजार १०२ मत पाएकी थिइन्।
ललितपुर

ललितपुर महानगरपालिकाको प्रमुखमा पनि कांग्रेसले अग्रता लिइरहेको छ। कांग्रेसका चिरिबाबु महर्जनले अहिलेसम्म ११ हजार ७७७ मत पाएका छन्। एमालेका हरिकृष्ण व्यञ्जनकारले ५ हजार २१८ मत पाएका छन्।
उपप्रमुखमा भने एमालेकी मञ्जली शाक्य बज्राचार्यले ४ हजार ३३५ मत पाएकी छिन्। उनलाई माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले २ हजार ७९४ मत पाएका छन्।
ललितपुर महानगरपालिकामा १ लाख २२ हजार ८९० मतदाता छन्। जसमध्ये ५९ हजार ४५३ पुरुष र ६३ हजार ४३७ महिला छन्।
महानगरको प्रमुखका लागि नेकपा एमालेबाट हरिकृष्ण ब्यञ्जनकार र नेपाली कांग्रेसबाट पुरानै मेयर चिरिबाबु महर्जन मुख्य प्रतिस्पर्धी हुन्।
विवेकशील साझा पार्टीबाट उज्वलकृष्ण श्रेष्ठ, राप्रपाबाट अष्टबहादुर महर्जन र नेमकिपाबाट अशोक महर्जन मेयरका उम्मेदवार छन्।
उपप्रमुखका लागि एमालेले मञ्जली शाक्य बज्राचार्यलाई उठाएको छ भने नेकपा माओवादी केन्द्रले कांग्रेससमेतको गठबन्धनमा बाबुराज बज्राचार्यलाई अघि सारेको छ। त्यस्तै, ललितपुरको उपमेयरमा राप्रपाले स्वर्णिमा शाक्य र नेमकिपाले ममिता श्रेष्ठलाई अघि सारेको छ।
२०७४ को स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको प्रमुखमा कांग्रेसका चिरिबाबु महर्जन २४ हजार ६४२ मतका साथ विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ३१६ मत पाएका थिए। अहिले पनि दुबै प्रतिस्पर्धीहरु मैदानमा खटिएका छन्।
ललितपुरको महानगर प्रमुखमा ०७४ मा स्वतन्त्र उम्मेदवारी दिएका साझा पार्टीका रमेश महर्जनले १३ हजार ४५८ मत पाएका थिए। कोरोनाका कारण महर्जनको निधन भएपछि साझा पार्टीलाई घाटा लागेको छ।
गत चुनावमा नेकपा माओवादी केन्द्रका उम्मेदवार दिनेश महर्जनले १० हजार ६६१ मत ल्याएका थिए। माओवादीले अहिले उपमेयर लिएर मेयरमा कांग्रेसलाई सघाएको छ।
उपप्रमुख पदमा ०७४ मा विजयी कांग्रेसकी गीता सत्यालले १९ हजार ८१९ मत ल्याएकी थिइन्। उनकी निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार शोभा शाक्यले १४ हजार २४० मत पाएकी थिइन्। शोभा साझा पार्टीकी हुन्।
ललितपुर महानगरको उपप्रमुखमा माओवादीकी हसिना शाक्यले १२ हजार ९७९ मत पाएकी थिइन्। त्यस्तै राप्रपाका बाबुकाजी प्रधानले उपमेयरमा १० हजार ५४० मत ल्याएका थिए।
वीरगञ्ज

वीरगञ्ज महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले अग्रता लिइरहेका छन्। उनले अहिलेसम्म ९ हजार ७६८ मत पाएका छन्। उनका प्रतिस्पर्धी एमालेका विजयकुमार सरावगीले ४ हजार २८६ मत पाएका छन्।
उपप्रमुखमा कांग्रेसका इम्तियाज आलमले ६ हजार ६६१ मत पाएका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तमलाल झाले १ हजार ८१ मत पाएका छन्।
वीरगञ्ज महानगरको प्रमुखका लागि नेकपा एमालेले निवर्तमान मेयर विजयकुमार सरावगीलाई उठाएको छ। सरावगीले ०७४ को चुनावमा जनता समाजवादी पार्टीबाट मेयर जितेका थिए। उनी एमालेमा प्रवेश गरेर पुनः उम्मेदवार बनेका छन्।
जनता समाजवादी पार्टी (जसपा) ले भने एमालेमा जानै लागेका लोसपा नेता राजेशमान सिंहलाई मेयरमा टिकट दिएको छ।
उता राप्रपाले पत्रकार गिरीश गिरीलाई मेयरको उम्मेदवार बनाएको छ। वीरगञ्जमा तीनैथरिको प्रतिस्पर्धाले चुनावलाई रोचक बनाइदिएको छ।

महानगरको उपप्रमुखका लागि नेपाली कांग्रेसबाट इम्तियाज आलम उठेका छन्। उनी गठबन्धनका साझा उम्मेदवार हुन्।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट पुरुषोत्तमलाल झा र राप्रपाबाट बिना जैसवाल उपमेयरको उम्मेदवार छन्।
गत निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार विजय सरावगी १९ हजार ३९३ मत प्राप्त गरेर वीरगञ्जको प्रमुखमा विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजय द्विवेदीले १९ हजार १९७ मत ल्याएका थिए।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट महानगर प्रमुखमा उठेका राजेशमान सिंह १२ हजार १६५ मतका साथ तेस्रो भएका थिए। अहिले सिंहले जसपा, काँग्रेस र माओवादीको साथ पाएका छन्।
गत स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको प्रमुख मेयर पदका एमालेबाट बसरुद्धिन अन्सारी, नेकपा माओवादी केन्द्रबाट रहबर अन्सारी र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट विमल श्रीवास्तव चुनावी प्रतिस्पर्धामा थिए।
चौथो भएका लोकतान्त्रिक फोरमका श्रीवास्तवले ८ हजार ७०१ मत पाएका थिए भने पाँचौँ भएका एमालेका अन्सारीले ८ हजार ६८८ र छैठौँ भएका माओवादी केन्द्रका रहबर अन्सारीले ८ हजार ३०५ मत पाएका थिए।
वीरगञ्ज महानगरको उपप्रमुखमा ०७४ मा कांग्रेसकी शान्ति कार्की १९ हजार ६०७ मतका साथ निर्वाचित भएकी थिइन्। उनकी निकटतम प्रतिद्वन्द्वी तत्कालीन संघीय समाजवादी फोरमकी उम्मेदवार पिंकीदेवी यादवले १८ हजार ५३० मत ल्याएकी थिइन्।
उपप्रमुखका लागि तत्कालीन राजपाले अघि सारेकी रम्भा मिश्राले १० हजार ६६३ र नेकपा एमालेकी उम्मेदवार सोफिया आचार्यले १० हजार ३४१ मत पाएका थिए। तत्कालीन नेपाल लोकतान्त्रिक फोरमकी रिंकु यादवले ७ हजार ५८६ र नेकपा माओवादी केन्द्रकी उम्मेदवार दुर्गा क्षेत्रीले ५ हजार २८ मत ल्याएका थिए।
Shares

प्रतिक्रिया