ad ad

निर्वाचन विशेष


हर्कराज साम्पाङ : धरानको खानेपानीले जन्माएको ज्याद्रो ‘स्वतन्त्र’

हर्कराज साम्पाङ : धरानको खानेपानीले जन्माएको ज्याद्रो ‘स्वतन्त्र’

फाइल फोटो


जेवी पुन मगर
जेठ ३, २०७९ मंगलबार २०:३९, काठमाडौँ

काठमाडौं महानगरपालिकामा दलको ओट नलिई स्वतन्त्र उम्मेदवारी दिएका ३२ वर्षीय बालेन साहले जसरी विश्वभरि छरिएका नेपालीको ध्यान तानिरहेका छन्, धरान उपमहानगरपालिकाका मेयर पदका प्रत्यासी हर्कराज साम्पाङ (राई) ले पनि धेरैको ध्यान खिचेका छन्।

बालेनले काठमाडौंमा पहिलो स्थानको दौडमा अन्य प्रतियोगीलाई जसरी आफ्नो नजिक आउन दिइरहेका छैनन्, त्यसैगरी हर्कले धरानमा पहिलो स्थान लिइरहेका कांग्रेस उम्मेदवार किशोर राईलाई अत्याउँदै पछ्याइरहेका छन्।

स्वतन्त्र उमेदवारका उमेर र चुनाव चिन्ह ‘लौरो’ का कारण धेरैले समानता खोजे पनि यी दुई पात्रबीच आधारभूत रुपमै भिन्नता देखिन्छ। लौरो चुनाव चिन्ह पनि कागताली परेर मिलेको देखिन्छ। साम्पाङले आफू पानी अभियन्ता भएकाले आयोगसँग धारा चुनाव चिह्न मागेका थिए। त्यो नपाएपछि उनी आयोगसँग निकै रिसाए। 

पछि साम्पाङलाई पनि लौरो थमाइयो जुन बालेनलाई झैँ उनका निम्ति पनि शुभ सावित हुन गयो। बालेनका पुर्खा मधेसबाट उपत्यका उक्लिए झैं हर्कका परिवार खोटाङबाट धरान ओर्लिएकाले बसाइँसराइको प्रवृत्तिमा तराई र पहाडमा हलचल मच्चाइरहेका यी पात्रबीच केही समानता त भेटिन्छ, तर अन्य कुरामा भने यिनको कतै मिलाप भेटिँदैन। 

सामाजिक सञ्जालको ‘इन्जिनियरिङ’द्वारा उत्पादित बालेनको सामाजिक छवि व्यवस्थित रुपले निर्माण गरिएकोले स्वाभाविक रुपमा’कस्मेटिक’ छ। तर ‘धराने ब्रो’ राई परिदृश्यमा आउनाका पछाडि केही यस्ता कारक तत्व छन्, जुन चमत्कारिक रुपले दृश्यमा देखिएका बालेनभन्दा सर्वदा पृथक छन्। 

यस आलेखमा युरोपको झल्को दिनेगरी निर्माण गरिएको व्यवस्थित बस्ती (धरान) जहाँ विश्व चहारेका लाहुरेहरुको घना बसोबास छ, जसलाई वाम गढको रुपमा पनि चिन्छि– त्यो बस्तीभित्र दश वर्षदेखि उधुम मच्चाइरहेका अराजक जस्ता देखिइने पात्र हर्क साम्पाङ किन स्वीकार्य बन्दै गइरहेका छन्? गएको स्थानीय निर्वाचनमा जम्माजम्मी ४ सय मत पाएका साम्पाङले यत्रो मत–समर्थन कसरी बटुलिरहेका छन्? यस आलेखमा प्राप्त तथ्यांकका आधारमा त्यसको ब्याख्या गरेका छौँ।

काकाकुल धरानका आड भरोसा 
जनजीवनसँग प्रत्यक्ष जोडिएको खानेपानी समस्या हरेकपाली प्रमुख चुनावी एजेण्डा बन्दै आएको धरानमा यसपालिको निर्वाचनमा पनि त्यसले सबैको घोषणापत्र रंगाइदिएको छ। 

धरानमा खानेपानीको जोहो गर्दै आइरहेको ‘धरान खानेपानी व्यवस्थापन बोर्ड’ को तथ्यांक अनुसार, सुविधासम्पन्न यो बस्तीलाई दैनिक २ करोड ५० लाख लिटर पानी चाहिएकोमा जम्मा १ करोड ६० लाख लिटर मात्रै आपूर्ति गर्न सम्भव भइरहेको छ। 

धरानको पानी संकटबाट पार पाउन खानेपानी संस्थानलाई विस्थापन गरि एशियाली विकास बैंक (एडिबी) को लगानीमा ‘एकीकृत सहरी विकास कार्यक्रम’ अन्र्तगत ‘धरान खानेपानी व्यवस्थापन बोर्ड’ स्थापना गरी चारकोसे जंगलको भूमिगत श्रोतबाट पानी निकाल्ने परियोजना ल्याइयो। 

दश वर्षअघि थालिएको यो परियोजनामा २ अरब १६ करोड खर्च गरियो। त्यतिबेला नगरपालिका र दलका नेतृत्वले यो परियोजनाले खानेपानी समस्या हल गर्ने तर्क गरिरहेका थिए। 

साम्पाङहरू सरोकार मञ्चमार्फत यो परियोजना ‘फेल हुने’ दावी गरिरहेका थिए। तिनले जमिनको होइन, सप्तकोसीबाट पानी ल्याए मात्रै धरानले पानी संकटबाट मुक्ति पाउँछ भन्ने तर्कसहितको योजना सुनाइरहेका थिए। नभन्दै त्यस्तै भयो। एडिबीको परियोजनाले काम गरेन। पानी समस्या ज्यूँका त्यूँ रहिरह्यो। 

संस्थानलाई लखेटी बनाइएको एडिबी परियोजना  खानेपानी संकट टार्न नभई भ्रष्टाचार गर्न ल्याइएको भन्दै साम्पाङहरुले थालेको आक्रामक आन्दोलनका कारण उनी कयौं चोटी प्रहरीको नियन्त्रणमा लगिए। 

गल्ली–गल्लीमा चिच्याउँदै हिँड्दा कयौँ चोटी भौतिक आक्रमणको शिकार समेत भए। साम्पाङको आरोप सत्य नजिक थियो भन्ने कालान्तरमा प्रमाणित हुँदै गयो। खानेपानी व्यवस्थापन बोर्डलाई नेताहरुका श्रीमतीलाई जागिर खुवाउने थलो बनाइएपछि स्वाभाविक रुपले त्यसले काम गर्न नसक्ने नै भो। 

यस्तो बेथितिलाई सडकमा ल्याइदिन साम्पाङले कुनै कसर छाडेनन्। धरानको पानी समस्या निराकरणका निम्ति दवाव श्रृजना गर्न अभियन्ता कृष्ण पालिखेको नेतृत्वमा ‘धरान सरोकार मन्च’ गठन गरि थालिएको संघर्षका खास अभियन्ता साम्पाङ पनि थिए। पालिखेको देहावसानपछि आन्दोलनको नेतृत्व यिनै साम्पाङले गरिरहेकोले धरानका टोल–टोलमा उनी परिचित अनुहार हुन्।

साम्पाङले जनतासँग प्रत्यक्ष जोडिने यस्ता जनसरोकारका थुप्रा अभियानको नेतृत्व गरेका छन्। धरानको ठूलो समस्याको रुपमा देखिएको बीपी कोइराला प्रतिष्ठानमा भएको बेथिति र भ्रष्टाचारको मुद्दा उठाई त्यसको अगुवाई गर्ने अभियन्ता यिनै साम्पाङ नै हुन्। 

त्यति मात्र नभई जग्गा दलालहरूको मिलेमतोमा जलाधार क्षेत्र अतिक्रमण गरि ब्यक्तिको नाममा जग्गा नामसारी गरिदिने सम्बन्धित निकायको दुष्कर्मको उनले छाती थापेर विरोध गरे।

स्थानीय संचारकर्मी गोपाल दाहालको अनुभवमा आफ्नो मुद्दामा अडिग निर्भीक साम्पाङ कसैका अगाडि झुक्न जानेका छैनन्। धरानबासीहरुका निम्ति साम्पाङ एउटा यस्तो ज्याद्रो अभियन्ता हुन्, जो आफुलाई ठीक लागेका मुद्दाका निम्ति हरदम जोसँग पनि लड्न–भिड्न तम्तयार रहिरहन्छन्। 

सेउती क्षेत्रमा अवैध रुपमा गरिएको ढुंगा गिट्टी उत्खननको विरोध गर्दै आफै भिड्न गएका साम्पाङमाथि आक्रमण हुँदा उनी घाइते समेत भए। तर त्यसले उनी किन्चित पछाडि हटेनन्। विराटनगर स्थित हाम्रा संवाददाता सुमन पुरीका अनुसार, त्यो आक्रमणको दोष उनले तत्कालीन मेयर तिलक राईमाथि  लगाएका थिए। 

दलको दलनले ल्याएको अत्यास
विश्व चहारेका लाहुरेले बसालेर पनि वामहरुको गढको रुपमा ख्याति कमाएको धरानलाई प्रगतिशीलता अपनाएको शहरको रुपमा पनि ब्याख्या गरिन्छ। त्यसैले धरानमा लामो कालखण्डदेखि नै वामहरुको ‘राजकाज’ चल्दै आइरहेको छ।

तर गएको स्थानीय निर्वाचनबाट निर्वाचित मेयर डा.तारा सुब्बाको एक वर्षमै मृत्यु भएपछि कार्यवाहक मेयर भएकी उपमेयर मन्जु भण्डारीले कार्यालयका कर्मचारीलाई घरमा लगि भान्से बनाउने देखि लिएर  नगरपालिकामा ३५ लाखको भोजभतेर गरेर अख्तियारी मिचेको भन्दै विरोध भयो  । 

उनले नगरपालिकालाई ‘पार्टी प्यालेस’ मा बदलिदिएपछि एमाले धरानले समेत त्यसको मूल्य चुकाउनु पर्यो। ७५ साउनमा भएको उपनिर्वाचनमा त्यसको फाइदा कांग्रेसले उठायो। कहिल्यै किल्ला तोड्न नसकेको बाम गढमा कांग्रेसले झण्डा गाड्यो। तिलक राई मेयरमा चुनिए। अहिले तिलक मैदानमा छैनन्। तर उनी कांग्रेसबाट उठेका किशोर राईसँग भिडिरहेका छन्। कुनै बेलाको ‘शासक’ एमाले अहिले तेस्रो स्थानमा घस्रिइरहेको छ।  

धरान रंगशाला निर्माणमा भ्रष्टाचार गरेको आरोप खेपेका किशोर आफैँ स्वच्छ छविका होइनन्। त्यसमाथि उनीमाथि ‘गुण्डागर्दी’ को समेत आरोप लाग्ने गरेको छ। राम्रो उम्मेदवार दिएर एमालेले यसपाली त्यसको फाइदा उठाउन सक्थ्यो। 

स्थानीय नेतृत्वले धरानका पुराना एमाले नेता मनोज मेयाङ्वोलाई मेयरका प्रत्यासीको रुपमा हेर्न चाहेका थिए। मनोज ५४ सालको सफल मेयरको रुपमा चिनिन्छन्। आफुलाई कुनै बेला ‘गिज्याएको’ रिसमा अध्यक्ष केपी शर्मा ओलीले मेयाङ्बोको टिकट काटेर भ्रष्टाचारको आरोप लागेकी मन्जु भण्डारीलाई मेयर पदमा उठाइदिए। 

त्यसको असर निर्वाचनमा पर्यो। यसको छनक पहिल्यै देखिइसकेको थियो। धरानमा  चुनावी सभालाई सम्बोधन गर्न गएका ओलीलाई भेट्न मात्र नभई उनको सभामा समेत मेयाङ्बो देखिएनन्।

राई लिम्बुको सघन बसोबास भएको  धरानमा त्यसको सिधा फाईदा साम्पाङलाई पुग्यो। यो आलेख तयार पार्दासम्म कांग्रेसका किशोरले ६३०३ मत ल्याएका छन् भने साम्पाङले ५७०७ मत ल्याएका छन्। स्थानीय सञ्चारकर्मीहरुको भनाइमा असन्तुष्ट जतिको मत साम्पाङले पाइरहेकाले यसपालि धरानमा ‘नपत्याउने खोलाले बगाउने’ सम्भावना बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .