निर्वाचन विशेष


झडप र विवादपछि सुदूरपश्चिमका ५ ठाउँमा रोकियो मतदान

झडप र विवादपछि सुदूरपश्चिमका ५ ठाउँमा रोकियो मतदान

गोकुल जोशी
बैशाख ३०, २०७९ शुक्रबार १६:१४, महेन्द्रनगर

स्थानीय तह निर्वाचनको क्रममा सुदूरपश्चिमका पाँच पहाडी जिल्लामा दुई पक्षबीच झडप भएको छ। 

पहाडी जिल्ला बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछामका केही ठाउँमा दुई पक्षबीच झडपको स्थिती सृजना भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रवक्ता एसएसपी भोलाबहादुर रावलले जानकारी दिए।

विवाद पश्चात् बाजुराका एक, बझाङका तीन र कञ्चनपुरको एक ठाउँमा विवादले चुनावी प्रक्रिया रोकिएकोले सुचारु गर्न छलफल भइरहेको उनले बताए ।

‘अन्य ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ। विवादले तीन ठाउँको मतदान रोकिएकाले सुचारु गर्न छलफल भइरहेको छ’ उनले भने, ‘पहाडी जिल्लाका केही ठाउँमा सामान्य झडप भएका छन्।’

बझाङमा झडप भएका मतदानस्थल जयपृथ्वी नगरपालिका वडा नम्बर ७ स्थित सुनिपिपल चौर मावि सुवेडा, केदारस्युँ गाउँपालिका वडा नम्बर ४ स्थित जगन्नाथ माबि सैन्सु र मष्टा गाउँपालिका ५ स्थित द्वारिकानाथ माध्यमिक विद्यालयमा पनि मतदान रोकिएको छ। 

बाजुराको पाण्डुसैनमा पनि मतदान रोकिएको प्रहरीले जनाएको छ। 

यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिकामा नक्कली मतदाता आएको भन्दै मतदान प्रक्रिया रोकिएको छ। नेकपा माओवादी केन्द्रका नेताहरुले मत हाल्न पाउने भनी फर्जी मतदातालाई पठाएपछि विवाद भएको हो।

पुनर्वास नगरपालिका वडा नम्बर १० को विजय माध्यमिक विद्यालय मतदानस्थलमा मतदान रोकिएको कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत मदन धामीले बताए। 

उनका अनुसार राजनीतिक दलको बैठक जारी रहेकोले सहमति पश्चात् मतदान सुरु हुने छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad