कारोबार


बदलिन थाल्यो धानखेतीको तालिका, जेठमै पाक्न थाल्यो चैते धान

बदलिन थाल्यो धानखेतीको तालिका, जेठमै पाक्न थाल्यो चैते धान

नेपालखबर
असार ९, २०८२ सोमबार १४:५, कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका किसान रामसिकन राना अहिले चैते धान काट्ने तयारीमा छन्। अधिकांश किसानले वर्षमा एक पटक मात्र धान रोप्ने गरेका छन्, तर रानाले चैते र बर्खे गरेर वर्षमा दुई पटक धानखेती गर्दै आएका छन्। 

डेढ बिघा खेतमा उनले ‘चैते–५’ जातको धान रोपेका छन् । रानाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत उनले बीउ, मल र सिँचाइमा ८५ प्रतिशत अनुदान पाएका छन्।

कृषि प्राविधिकको सल्लाहअनुसार खेती गरेकाले रोग–कीराको समस्या देखिएको छैन। ‘चैते धान पाक्नै लागेको छ। एक दुई दिनमा चैते धान काटेर वर्षे धानको रोपाइँ गर्ने सुरसारमा छौँ,’ उनले भने, ‘वर्खे धान जस्तो चैते धानमा रोग कीराको समस्या छैन, उत्पादन पनि सोचेभन्दा बढी नै हुनेमा विश्वस्त छौँ।’

लगातार वर्षा हुन थालेकाले खेतमा काटेको चैते धान थन्क्याउने र थ्रेसिङ गर्ने पिरलो भने उनलाई छ।

परियोजना अन्तर्गत कञ्चनपुरमा यस वर्ष ५४ हेक्टरमा चैते धानखेती गरिएको छ। विगतको तुलनामा चैते धानखेती गर्ने किसानको सङ्ख्या बढेको कृषि अधिकृत सञ्जु उपाध्याय रिमालले बताए। उनका अनुसार चैते धान माघमा बीउ राखी फागुनदेखि चैतको पहिलो सातासम्म रोपिन्छ र १२० दिनभित्र पाकेर असारको सुरुवातमा कटनीका लागि तयार हुन्छ।

कृषि ज्ञान केन्द्रका अधिकृत जागृत खनालका अनुसार सीमसारयुक्त र डुबानग्रस्त खेतमा चैते धान उपयुक्त मानिन्छ । विशेषगरी बेलडाँडीलगायत डुबान हुने ठाउँका किसानका लागि यो वैकल्पिक बालीका रूपमा देखिएको छ । यस वर्ष कञ्चनपुरमा कूल २६० हेक्टर क्षेत्रमा चैते धानखेती भएको छ । त्यसमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि परियोजना, पालिकाको अनुदान र किसानको लगानी समावेश छ। चैते धानप्रति हेक्टर चार दशमलव छ मेट्रिकटन उत्पादन हुने गरेको छ।

महाकाली सिँचाइको कमाण्ड एरियाका किसानले थोरै लागतमा चैते धानखेती गर्दै आएका छन् । भूमिगत सिँचाइ (पम्पसेट, स्यालो ट्युबेल, डिप ट्युबेल) लगायतको सहायताले सिँचाइ गर्ने किसानको लागत खर्च भने बढी लाग्ने गरेको छ। बाली विकास अधिकृत खनालका अनुसार पुनर्वास नगरपालिकामा चालु आवमा चैते धानखेतीलाई प्रवद्र्धन गर्नका लाागि कार्यक्रम सञ्चालन गरिएको छ।

सो अन्तर्गत किसानलाई साना सिँचाइ, उन्नत बीउबिजन, कृषि औजार, उपकरण लगायतमा अनुदान दिइएको छ। त्यस अन्तर्गत नगरपालिका क्षेत्रमा २४ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको छ। जिल्लाको सिँचाइ सुविधा उपलब्ध भएका पुर्नवास, बेलौरी, भीमदत्त, शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालिकाका किसानले चैते धानखेती गर्दै आएका छन्। कृष्णपुर नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका केही किसानले फाट्टफुट्ट रुपमा चैते धानखेती गर्दै आएका छन्।

कृषि ज्ञान केन्द्रको अनुदानमा मात्रै जिल्लामा एक सय ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती हुदै आएको छ । किसानले उत्पादन गरेको चैते धानको बजारमा लागतअनुसार मूल्य नपाउने गरेको गुनासो गरेका छन्। उत्पादित चैते धान चिउरा र भुजा बनाउनका लागि बढी प्रयोग हुने गरेको छ। 

चैते धानखेती गर्ने किसालाई भने छाडा चौपायाबाट बाली जोगाउनका लागि खेतमै पहरा दिनुपर्ने बाध्यता छ । चैते धानमा रोग प्रतिरोधी क्षमता हुने भएकाले मौसमी असरमा पनि किसानले सोचेभन्दा बढी उत्पादन दिने कृषि प्राविधिकको भनाइ छ।

शुक्लाफाँटा नगरपालिकाका कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐर एकै वर्षमा वर्खे र चैते धानखेती गरी किसानले दुई पटक धान उत्पादन लिन थालेको बताउँछन्। 

‘धानको उत्पादन बढेसँगै किसानको वार्षिक आम्दानी दोब्बरले बढेको छ’, उनले भने, ‘गहुँ बाली तथा तरकारी बाली लगाएर खाली हुने खेतको सदुपयोग भएको छ, देशको खाद्य भण्डार बढाउने कार्यसँगै आपतकालीन अवस्थामा खाद्य आपूर्तिका लागि चैते धानखेती सहयोगी रहेको छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad