कारोबार


बगरमा तरबुजा खेती: मुक्त कमैयाको आय आर्जनको प्रमुख आधार

बगरमा तरबुजा खेती: मुक्त कमैयाको आय आर्जनको प्रमुख आधार

नेपालखबर
बैशाख २५, २०८२ बिहिबार ११:३९, कञ्चनपुर

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वनहराका मुक्तकमैया परिवारले बगरलाई हराभरा बनाएका छन्। बगर तरबुजा, काँक्रो, लौका, फर्सी, मुला, तोरैयालगायत फल र सागसब्जी लटरम्म छन्।

बगरमा १०० बढी परिवारले उत्पादन गरेका तरबुजा, काँक्रोलगायतको साजसब्जी बिक्री गर्न मुक्तकमैया परिवारले पूर्वपश्चिम राजमार्ग नजिक टहरा नै बनाएका छन्। यी टहराबाट उनीहरुले तरबुजालगायत फल बिक्री गर्दै आएका छन्। साँझबिहान राजमार्गमा निकै भीडभाड हुने गरेको छ । यो भीड तरबुजा र काँक्रो खरिद गर्ने ग्राहकको हो।

छ वर्षदेखि बगरमा खेती गर्दै आएका शिवलाल रानाले राजमार्ग छेउको कारोबारले वर्षभरिको घरको खर्च चल्ने बताए। तरबुजालगायत फल बिक्री गरेर दैनिक रु दुई हजारदेखि रु तीन हजार ५०० सम्म आम्दानी हुने गरेको उनले बताए।

वैशाखदेखि असारसम्म रु तीन लाखदेखि रु पाँच लाखसम्मको कारोबार हुने गरेको उनले जानकारी दिए। ‘बढी उत्पादन गर्ने परिवारले बढी आम्दानी गर्छन्’ , उनले भने, ‘थोरै उत्पादन गर्नेको थोरै आम्दानी हुन्छ।’ 

पन्ध्र वर्षदेखि बगरखेतीमा संलग्न बिरा रानाले बगरमा उत्पादन भएको लौका, तरबुजा बिक्री गरी सकेपछि पुनः स्थापना गरिँदा पाइएको जग्गामा पनि खेती गरेकाले तीन महिना सडकमा बसेर तरबुजाको कारोबार गर्दै आएको बताए।

‘कमैयामुक्तिको घोषणापछि वनहरा नदी छेउको जग्गामा पुनः स्थापना गरिँदा घर निर्माण र खेतीका लागि दश कट्ठा जग्गा उपलब्ध गराइएको थियो’ , उनले भने, ‘जग्गामा लगाएको अन्नबालीले चार महिना पनि खान नपुग्ने भएपछि केही वर्ष मजदुरी गरेरै जीविका चलायौँ।’ 

‘अन्य नदी बगरमा तरबुजा, काँक्रो रोपेको देख्यौँ, हामीले पनि सिक्यौँ, त्यसपछि मजदुरी गर्न छाडेर यसमै भविष्यका सपना बुन्न थाल्यौँ, तरबुजा फलेका छन् । यो खेतीलाई निरन्तरता दिँदै आएका छौँ’ , उनले भने । घर खर्च सहज रुपमा चलेकाले अरुसँग ऋण लिनुपर्ने अवस्था अन्त्य भएको उनी बताउँछन्।

राजमार्ग छेउमै बसेर १४ वर्षीया अस्मिता रानाले पनि तरबुजा बेच्दै आएका छन् । ‘बिहान विद्यालय जान्छु’ , उनले भने, ‘त्यसबेला आमाले टहराबाट बेच्नुहुन्छ, विद्यालयबाट फर्केपछि म बेच्छु।’ 

टहरामा बसेर तरबुजा बेचेर आउने आम्दानीको केही हिस्सा घर खर्चका लागि राखेर अरु पैसा विद्यालयमा आवश्यक पर्ने पोसाक, कापी कलमलगायतमा खर्च हुने गरेको उनले उल्लेख गरे। वनहरा मुक्तकमैया बस्तीकै ४० वर्षीया पूजा रानाले एक दशकदेखि राजमार्ग छेउमा तरबुजालगायत बिक्री गर्दै आएका छन्।

वनहरा नदीको बगरमा उहाँले दश कट्ठा जग्गामा तरबुजाखेती गरेका छन्। ‘वैशाख महिनाको पहिलो हप्तादेखि बेच्न सुरु गरेका हाैँ। अहिलेसम्म रु ६५ हजारभन्दा बढीको बिक्री गरिसकेका छौँ,’  उनले भने।  उनका अनुसार प्रतिकिलो तरबुजा रु ३० देखि रु ४० सम्ममा बिक्री हुने गरेको छ।

बीउबिजन र रासायनिक मलमा गरेर रु ३० देखि ४० हजार तरबुजाखेतीमा भएको थेग्रा राना बताउँछन्। रानाले बर्सेनि रु पाँच लाख बढी मुनाफा आर्जन गर्दै आएको बताए। उनले यो महिनामा २० क्विन्टल काँक्रो र ६० क्विन्टल तरबुजा बिक्री गरिसकेका छन्।

‘बिहान बगरबाट टिपेर राखेको तरबुजा तथा साजसब्जी साँझ नपर्दै सकिन्छ’ , नन्दलाल रानाले भने, ‘बढ्दो गर्मीका कारण ग्राहकले बढी माग गर्ने गरेका छन्। अरु क्षेत्रमा बेच्न लैजाँदा ढुवानी खर्च लाग्छ, निकै श्रम गर्नुपर्छ, घर नजिकैको राजमार्गमा सहजै बिक्री हुने भएपछि त्यहीँ टहरा बसेर बच्ने गरेका छौँ।’ 

पहिले इँटाभट्टामा काम गर्दै आएका तौला राना बगरखेतीबाट मनग्गे आम्दानी हुने थाहा पाएपछि मजदुरी गर्न छाडेर तरबुजाको खेतीमा संलग्न भएको बताउँछन्। वनहराबाहेक अन्य क्षेत्रका व्यापारीलाई भने त्यस क्षेत्रमा तरबुजा बेच्न भने नपाइने नियम मुक्तकमैयाले बनाएका छन्।

तरबुजा खरिद गर्न राजमार्ग छेउ पुगेका अमरपुरका अमरबहादुर ऐर वनहराका तरबुजा रसिला हुने हुँदा प्रत्येक वर्ष खरिद गरेर लैजाने गरेको बताउँछन्।

‘अरु ठाउँको भन्दा यहाँका तरबुजा मीठा र सस्ता छन्। त्यसैले हामी तरबुजा खरिद गर्न हरेक वर्ष यहाँ आउँछौँ’, उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad