कैलालीको घोडाघोडी नगरपालिका–३ बग्लैयास्थित मद्रेनिया सामुदायिक वन अतिक्रमण गरी लगाइएको धानबाली काटिएको छ। अतिक्रमण गरी लगाइएको धानबाली सामुदायिक वनले काटेको वनका अध्यक्ष हरिराम डगौराले जानकारी दिए।
सामुदायिक वनको तीन हेक्टर जमिन अतिक्रमण गरी स्थानीयले धान बाली लगाएका थिए। अतिक्रमण नगर्न पटक पटक आग्रह गर्दा पनि नमानेपछि लगाइएको धान बाली नै काट्नु परेको उनको भनाइ छ।
अध्यक्ष डगौँराका अनुसार उक्त धान बेचेको रकम सामुदायिक वनको कोषमा राखिने छ। धान बाली काट्न सामुदायिक वनका पदाधिकारी, उपभोक्ता र डिभिजन वन कार्यलय पहलमानपुरको सशस्त्र वन रक्षक टोलीले सहयोग गरेको थियो।
सो वन २०७८ सालदेखि अतिक्रमणको चपेटामा पर्दै आएको थियो। सामुदायिक वनले चालेको कदम उपयुक्त भएको डिभिजन वन कार्यालय पहलमानपुरका निमित्त प्रमुख सुरेन्द्र कठायतले बताए। रासस
Shares

प्रतिक्रिया