नेपाली व्यवसायीलाई नेपालबाटै भारतीय नम्बर प्रयोग गरी कल गर्न मिल्ने सेवा सञ्चालनको तयारी अन्योलमा परेको छ।
नेपाली आइटी कम्पनी आकाशटेलले भारतीय टेलिकम अपरेटर एयरटेलसँगको साझेदारीमार्फत सेवा सञ्चालन गर्न खोजे पनि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले कानुनी आधार नभएको बताएको हो।
योसँगै आकाशटेलको प्रस्ताव प्राधिकरणमा अड्किएको छ। नेपाल–भारत व्यापार ७० प्रतिशतभन्दा बढी रहेको सन्दर्भमा कम्पनीले प्रस्तावित सेवा व्यापार सहजीकरणका लागि उपयोगी हुने दाबी गरेको थियो।
तर प्राधिकरणले कानुनी परिकल्पना नै नभएको विषयमा स्वीकृति दिन नसकिने अडान लिँदै कम्पनीलाई जवाफ पठाएको छ।
बदलिँदो प्रविधिअनुसार नियम/कानुन समयसापेक्ष बनाउन नखोज्ने सरकारी प्रवृत्तिका कारण समस्या निम्तिएको आरोप प्राधिकरणमाथि लाग्दै आएको छ।
नेपालमा कम्युनिकेसन म्यानेजमेन्ट प्लेटफर्मका विभिन्न प्रडक्ट सञ्चालन गरिरहेको आकाशटेल नामक कम्पनीले नेपाली व्यवसायीहरूलाई स्वदेशमै बसेर भारतीय टेलिकम अपरेटर एयरटेलमार्फत व्यापारिक सम्बन्ध स्थापित गर्न यस्तो प्रणालीको तयारी गरेको हो। तर यसबारे कानुनी व्यवस्था नै नभएको भन्दै प्राधिकरणले सञ्चालनको अनुमति दिएको छैन।
आकाशटेलले बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि प्राधिकरणलाई आफूले दिन खोजेको सुविधाबारे जानकारी गराउँदै नियामकीय स्वीकृति माग गरेको थियो। तर, कम्पनीले स्वीकृति पाएको छैन। स्वीकृति माग्दै प्रस्ताव पठाएको एक हप्तापछि आकाशटेलले जवाफ पाएको थियो। प्राधिकरणले विद्यमान दूरसञ्चार कानुनमा मोबाइल सेवाको लाइसेन्स प्राप्त गरेकाबाहेकलाई आकाशटेलको प्रस्तावित सेवा सञ्चालन गर्न स्वीकृति प्रदान नगरेको उल्लेख गरेको छ।
‘कानुनमा नभएको व्यवस्थालाई कसरी स्वीकृति दिने? विद्यमान दूरसञ्चार कानुनले परिकल्पना नगरेको विषय भएकाले हाललाई सेवा सञ्चालनको स्वीकृति दिन सक्ने अवस्था छैन। इन्टरनेट-टु-फोन कल भएकाले थप कानुनी स्पष्टता र प्रावधान आवश्यक पर्छ’, प्राधिकरणका एक उच्च अधिकारीले भने।
आकाशटेलले भारतीय टेलिकम अपरेटर एयरटेलसँग रणनीतिक सम्झौता गरेको घोषणा गरिसकेको छ। आकाशटेलका उपाध्यक्ष राजन कोइरालाले नियामक प्राधिकरणलाई सेवा सञ्चालनको स्वीकृति माग्दै पत्राचार गरे पनि सकारात्मक जवाफ नआएको जानकारी दिए।
उनले आकाशटेलले दिन खोजेको सेवाले नेपालका टेलिकम अपरेटरहरुको आम्दानीमा कुनै असर नपर्ने बरु भारतमा व्यापार व्यवसाय गर्ने नेपालीलाई सञ्चार सुविधामा थप सहजता हुने बताए।
‘हामी फोनकलको प्रणालीलाई सफ्टवेयरमार्फत सहज बनाउने काम गर्दै आएका छौँ। हामीले नेपाल टेलिकम र एनसेलसँग सम्झौता गरेर अहिले पनि सफ्टवेयरमार्फत विभिन्न सेवा दिँदै आएका छौँ’, कोइरालाले नेपालखबरसँग भने, ‘हामीले अहिले दिन खोजेको सेवाले कल टर्मिनेसन, डिस्टर्बेन्स वा बाइपास गर्ने होइन। हाम्रो काम सिमकार्ड बेच्ने होइन। नेपालका टेलिकम अपरेटरहरुको आम्दानीमा असर पार्ने काम हामीले गर्न लागेका पनि हैनौँ।’
छिमेकी भारतसँग नेपालको व्यापारिक हिस्सा ७० प्रतिशतभन्दा बढी छ। जसका कारण नेपाली व्यवसायीहरुको भारतीय व्यापारीसँग बढी नै व्यापारिक सम्बन्ध छ। आकाशटेलले नेपाली व्यापारीहरुलाई लक्षित गर्दै नेपालबाटै भारतीय टेलिकम अपरेटर एयरटेल नम्बर प्रयोग गरी भारतमा रहेकासँग कलमार्फत सम्पर्क गर्न सक्ने प्रविधि ल्याउन खोजेको हो।
यो इन्टरनेट-टु-फोन कलमा आधारित प्रविधि हो। दूरसञ्चारसँग सम्बन्धित सेवा भएकाले नियामकको स्वीकृतबेगर चलाउन मिल्ने अवस्था छैन। साथै, यसका लागि नेपालमा सञ्चालित टेलिकम अपरेटरहरुसँग पनि कुनै हिसाबको सहकार्य जरुरी हुन सक्छ।
सरकारले १० वर्षमा ३० खर्बको आइटी सेवा निर्यात र १५ लाख रोजगारी सिर्जना गर्ने महत्त्वाकांक्षी घोषणा गरेपछि त्यसका लागि नेपाली आइटी उद्यमीलाई सीमापार व्यापारमा सहजता थप्ने उद्देश्यले सेवा दिन खोजेको कम्पनीको दाबी छ।
तर, दूरसञ्चार प्राधिकरण त्यसमा कानुनी आधार नभएकाले स्वीकृति दिने पक्षमा देखिँदैन। एयरटेलसँग रणनीतिक साझेदारीपछि नेपाली कम्पनीहरुले यतैबाट भारतीय नम्बर प्रयोग गरी भारतभर भ्वाइस कल सेवा प्रयोग गर्न सक्नेछन्।
कम्पनीका अनुसार भारतीय नम्बरबाटै फोन जाँदा उताको व्यापारीले कल उठाउने दर र विश्वसनीयता बढ्ने जिकिर गरेको छ। भारतीय नम्बर बोकिरहेका नेपाली व्यवसायीहरुले आकाशटेलको प्लेटफर्ममार्फत नेपालभित्रै बसेर भारतीय नम्बरमा फोन गर्न सक्नेछन्।
उक्त सेवा नेपालभित्र कल गर्न भने प्रयोग गर्न नमिल्ने दाबी कम्पनीको छ।
Shares

प्रतिक्रिया