जब एयरटेबल, फिग्मा र ओपनएआईजस्ता ठूला र चर्चित प्रविधि कम्पनीहरु नयाँ ग्राहकसँग व्यावसायिक सहमतिको नजिक पुग्छन्, सम्झौताअघि नै उनीहरुले कर्पोरेसन वा संस्थाका प्रश्नहरुको जवाफ दिनैपर्ने हुन्छ। किनभने उनीहरु नियमन र तथ्यांक गोपनीयतासम्बन्धी कानुनअनुसार रहेको सुनिश्चितता हुनुपर्छ।
विशेषतः यसमा कस्ता डेटा तपाईं संकलन गर्नुहुन्छ र यसलाई कहाँ राख्नुहुन्छ? एआई मोडलहरुमा यसको प्रयोग होला नि? तपाईंको डेटासेन्टरमा तारबार लगाइएको छ? कर्मचारीहरुको पृष्ठभूमि कसरी थाहा पाउनुहुन्छ? जस्ता प्रश्नहरु गरिन्छन्।
यो एकदमै कम प्रविधियुक्त तर प्रायः सयौँमा पुग्ने सुरक्षा चासोको प्रश्नावली हो। ग्राहकहरु ती प्रश्नको जवाफसँगै नियमित र कानुनसम्मत रहेको सुनिश्चितता खोज्छन्।
मोर्गान स्ट्यान्ले र नासाजस्ता ग्राहकहरुसँग हस्ताक्षर गरेको ओपनएआईमा दुई वा तीन जनाले प्रायः यी ढाँचामा तोकिएकै समयमा कटिबद्ध भएर काम गर्छन्।
एआई लेखन सहयोगी ग्रामरलीमा एक सेल्स इन्जिनियरले एक महिनामा यस्ता १० देखि १२ प्याकेटहरु बनाउँछन्।
‘यी काम गर्न कसैले रुचाउँदैनन्’, प्रमुख ग्राहक अधिकृत डेभिड ह्वाङ भन्छन्।
यो कागजी कामको टाउको दुःखाइ समाधान गर्न ती ब्लुचिप कम्पनीहरु मन्डे डटकम, मंगोडीबी र स्न्यापजस्ता पब्लिक कम्पनीहरुले नेपालजस्तो नसोचेको देशमा पेनकिलर (औषधि) पाएका छन्।
मध्यकाठमाडौंको एउटा सानो गल्लीमा गेटसहितको कार्यालय छ। जहाँ १८० कर्मचारी रहेको स्टार्टअप सेक्युरिटीपालले यस्ता प्रश्नावलीहरु वरपर रहेर द्रुत र अझै सस्तोमा सफ्टवेयर र लाभकारी टाइमजोनको संयोजनलाई प्रयोग गर्छ। यसलाई संस्थापक प्रमुख कार्यकारी पुकार हमाल कृत्रिम बौद्धिकता (एआई) र मानव दक्षताको उपयुक्त मिश्रण भन्छन्।
‘यदि कम्पनीहरुका लागि आज तपाईं जोखिम निम्त्याउनुहुन्छ भने तपाईं त्यो सम्झौता हार्नुहुन्छ’, हमालले भने, ‘र जति लामो समय मानिसले व्यवसाय गरिरहन्छ, त्यहाँ हाम्रै मान्छे हुनेछन्।’
सेक्युरिटीपालका लागि एउटा कम्पनीले सम्झौता गरेपछि यसका विश्लेषकहरुले ४ देखि ६ हप्ता लगाएर ज्ञानको भण्डार (नलेज लाइब्रेरी) बनाउँछन्। जहाँ सुरक्षासम्बन्धी प्रश्नावलीहरु वा अडिटका लागि चाहिने हरेक प्रश्नको विस्तृत जवाफ हुन्छ। त्यसपछि जब प्रश्नहरु आउँछन्, उत्तिनखेरै अर्थात् २४ घण्टाभित्र हुने गरी सेक्युरिटीपालका विश्लेषकहरुले आफ्नो सफ्टवेयरसँगै काम गर्छन्। ग्राहकका कर्मचारीका लागि एआई कोपाइलटले निश्चित जवाफ बुझ्न सहज बनाउँछन्।
र, प्रयोगकर्ताको आधारक्षेत्रबाट बेनामे सिकाइहरु प्रयोग गरी सेक्युरिटीपालका विश्लेषकले उच्चतम अभ्यासहरु देखाइदिन सक्छन् भने ग्राहकले यसलाई भविष्यका लागि ग्रहण गर्न चाहेको हुन्छ (जस्तो कि कुनै कम्पनीले साइबर आक्रमणबारे प्रतिक्रियाका लागि आफ्ना प्रक्रियाहरु कयौँपटक परीक्षण गरिरहेको हुन्छ)।

२ वर्षमै ३ गुणाले बढ्यो आम्दानी
यो ४ वर्ष बढीको समयमा सेक्युरिटीपालले २० लाख यस्ता प्रश्नहरुको जवाफ दिइसकेको छ।
कम्पनीहरुले दसौँ लाख डलरको सम्झौता गरेर सयौँ हजारहरुमा भुक्तानी गर्छन्। यसको अर्थ सेक्युरिटीपालको आम्दानी पछिल्ला दुई वर्षमा ३ गुणाले बढेर अनुमानित १ करोड बढी डलर पुगेको छ।
यो स्टार्टअप क्राफ्ट भेन्चर्सले नेतृत्व गरेको ‘सिरिज ए’मा २ करोड १० लाख डलर उठाएपछि १० करोड ५० लाख अमेरिकी डलर मूल्यको बनिसकेको छ। क्राफ्ट भेन्चर्सलाई ट्रम्प प्रशासनको क्रिप्टो र एआई पारखी डेभिड स्याकले सन् २०२२ मा १६जेट र कर्नी ज्याक्सनको सहभागितामा स्थापना गरेका थिए।
यसका ग्राहकहरुको तुलनामा सेक्युरिटीपालको आफ्नै कृत्रिम बौद्धिकता प्रयोग भने वाह भन्नेखालको छैन, यसका सेवाहरु स्वीकार्य रुपमा कलिलै छन्। तर बजार छिर्दै गरेका क्लेजस्ता स्टार्टअपजस्तै यो आफैँमा बलियो बन्दै छ। ग्राहकहरुमा आफ्नै सफ्टवेयर बिक्रीलाई सहज बनाउँदै द्रुतगतिमा बजार हिस्सा पाइरहेको छ।
नेपालबाटै सेक्युरिटीपालले अधिकांश यी काम गर्न सक्नुको अर्थ हमाललाई उदाउँदा प्रविधि उद्यमीका रुपमा हेर्नुपर्ने हुन्छ। सूचना प्रविधिमा अझ भन्दा एआई क्षेत्रमा सस्ता अफसोर कर्मचारीको प्रयोग गर्नु नयाँ आइडियाभन्दा धेरै परको कुरा हो। स्केल एआईजस्ता कम्पनीहरु त ‘क्लिक–वर्कर’को साथमा द्रुतरुपमा उदाइरहेका छन्।
तर सेक्युरिटीपालको काठमाडौं र सनफ्रान्सिस्को कार्यालयहरुबीच समय भाग लगाउने नेपाली अमेरिकी हमाल यसलाई फरक तरिकाले निर्माण गर्न चाहन्छन्। उनी काठमाडौंमा नयाँ स्टार्टअप हबको केन्द्रको रुपमा हुर्काउन चाहन्छन्। र, उनी पूर्णकालीन कर्मचारीहरु लिइरहेका छन्। उनीहरुलाई बजारले दिने तलबभन्दा धेरै दिन्छन्। तालिम कार्यक्रमहरु आयोजना गर्छन्।
‘जबसम्म किन तपाईं यसो गरिरहनुभएको हुन्छ भन्ने कुराको पछाडि ठूलो कारण हुँदैन, जतिखेर पनि प्रश्नावलीहरुको जवाफ दिएर मानिसहरुलाई उत्साह भर्न कठिन हुन्छ’, हमाल भन्छन्, ‘यदि मैले अवकाश लिएँ भने पनि यो भइरहोस् भन्ने चाहन्छु, यो सिलिकन भ्यालीलाई काठमाडौं ल्याउनेजस्तै कुरा हो।’

को हुन् हमाल?
सेक्युरिटीपाल एक परियोजनाको रुपमा सन् २०२० मा सुरु भयो। जतिखेर कोभिड महामारीका लकडाउनहरु विश्वभर थिए। काठमाडौंमा जन्मिएका हमालले नेता बुबा र शिक्षिका आमासँगै अमेरिका आउनुअघि पश्चिम ग्रामीण भेगमा बाल्यकाल बिताए।
बुबा र आमाले सन् १९९९ मा नेपालमा सशस्त्र द्वन्द्व चलिरहँदा अमेरिकामा राजनीतिक शरण लिएका थिए। उनको परिवार न्युयोर्क सिटीमा बसाइँ सरेको थियो। जहाँ हमालले कानुनमा स्नातक नगरेसम्म र स्थायी काम नपाएसम्म उनको आमाले ‘न्यानी’ (बच्चाको हेरविचारको काम गर्ने मान्छे)को रुपमा र बुबाले रेस्टुराँमा काम गरे।
हमाल कोलम्बिया युनिभर्सिटीमा उच्च शिक्षा अध्ययन गर्थे। निकै प्रतिभाशाली थिए। त्यसपछि उनले स्ट्याफोर्ड युनिभर्सिटीमा अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययन गरे। जहाँ उनले प्रविधिका चर्चित हस्तीसँग कुम मिलाउने मौका पाए। अर्बपतिहरु मार्क एन्ड्रिसन र लाउरा एरिलेगा एन्ड्रिसनको गैरनाफामूलक फाउन्डेसनमा उनले काम गरे। एउटा स्टार्टअपको बिक्री व्यवसाय दुई वर्ष हेरेपछि सन् २०१६ मा उनी अर्का एक ‘टिमेबल’को सहसंस्थापक भए। प्राप्तिसम्बन्धी यो स्टार्टअपले ५० लाख डलरभन्दा बढी संकलन पनि गर्यो तर अतिछिटो ठूलो बन्ने प्रयास गर्यो र सन् २०२० मा सस्तोमा प्राप्तिमा सामेल भयो।
अब के गर्ने भन्ने अवस्थामा रहेका हमालले त्यसबाट दुःखदायी पाठ सिके। एक अबेर रातको कुरा थियो। उनी मुख्य नयाँ ग्राहक बनाउने नजिक पुगेका थिए। ११औँ घण्टामा ती नयाँ ग्राहकले एउटा २०० पृष्ठको सुरक्षा समीक्षासम्बन्धी प्रश्नावली पठाए। बाँकी रात राम्रोसँग गएन।
‘हामीले पूरै बिगार्यौँ’, उनले सम्झिए, ‘र यो सम्झौता हुन पाएन।’

सन् २०२० मार्चमा हमालले त्यस्तैखाले चुनौती सामना गर्दै अन्य स्टार्टअपहरुलाई मद्दत गर्ने निर्णय गरे। सुरुमा त सेक्युरिटीपाल प्रविधिभन्दा ज्यादा जबर्जस्तीको थियो। पहिलो मुख्य ग्राहकको रुपमा एयरटेबलसँग सम्झौतापछि हमालले अमेरिकाका रातभर काम गर्ने धेरै ठेकेदारहरुसँगै काम गरे। तीन/चार हप्तालाई एक हप्तामा झार्ने यो उनको प्रयास थियो। लगत्तै फिग्मासँग सम्झौता भयो। १ वर्षमै हमालले बाहिरी लगानीविनै यसको आम्दानी १० लाख डलर प्रतिवर्ष पुर्याए। काममा प्रतिबद्ध भए।
‘जब तपाईं प्रश्नावली पाउनुहुन्छ, यसलाई खोल्दै नखोली हामीलाई पठाउनुहोस् र सुत्न जानुस्, अर्को दिन बिहानै तपाईंको इनबक्समा यो पूरा भएको हुनेछजस्तो हुन्थ्यो। यो जादुजस्तै थियो’, हमाल भन्छन्।
२०२० को अन्तिमतिर हमालले कन्ट्राक्टर (ठेकेदार)माथि आश्रित नहुने गरी व्यवसायमा परिवर्तन आवश्यक रहेको ठाने। किन कि उनीहरुको विज्ञता व्यवस्थापन गर्नै कठिन हुन्थ्यो। आफू नेपाली हुनु नै हमालका लागि फरक फाइदा थियो। जहाँ उनी भर्खरै एक दिग्गज स्टार्टअप उद्यमी र जनशक्ति व्यवस्थापक लक्ष्मण बस्नेतसँग जोडिएका थिए। जर्मनीमा प्रविधिकै क्षेत्रमा अध्ययनपछि काम गरिरहेका बस्नेत सन् २०१५ मा नेपाल फर्किएका थिए। रकेट इन्टरनेटले उनलाई इकमर्स स्टार्टअप (जुन पछि अलिबाबालाई बिक्री गरियो) मा काम गर्न बोलाएको थियो।
बस्नेतलाई डेलिभरीको उपाध्यक्ष र नेपालमा रहेको कार्यालयको महाप्रबन्धक बनाएर जाँदा सेक्युरिटीपालले अंग्रेजी बोल्नसक्ने, प्राविधिक दक्षता भएका युवा कर्मचारी ल्याउनसक्ने भयो। जो उपयुक्त अवसर खोज्दै नेपाल छाडेर भारत, युरोप वा अमेरिकामा थिए। र, ती ठाउँहरुमा उनीहरुको वैकल्पिकहरुभन्दा सस्ता थिए। हमाल ‘यो कम्युनिटीले जितोस्’ भन्ने चाहन्थे।
उनी भन्छन्, ‘जब कुनै अमेरिकी कम्पनीले युरोप वा अस्ट्रेलियामा कार्यालय खोल्छ, हामी त्यसलाई आउटसोर्सिङ भन्दैनौँ।’
सन् २०२३ फेब्रुअरीमा सेक्युरिटीपालले काठमाडौंमा एउटा कार्यक्रम गरी सुरक्षा व्यवसाय सुरु गर्यो। जुन कार्यक्रममा अमेरिकी राजदूत समेत सहभागी थिए। आज यो ३० हजार वर्गफिटको कार्यालय बनेको छ भने १८० जनालाई पूर्ण रोजगारी दिएको छ। अमेरिकाको सनफ्रान्सिस्को कार्यालयमा २५ जना मात्र छन्। अमेरिकाका कर्मचारीजस्तै नेपाली कर्मचारीले स्वास्थ्य र दुर्घटना बीमाको सुविधा पाएका छन् र विदा भत्ता समेत पाउने गरेको बस्नेत बताउँछन्।

१८ हजार डलरदेखि ४० हजार डलरसम्म दिन्छन् कर्मचारीलाई तलब
धेरैजसो करिअर सुरु गरेका विश्लेषकहरु छन्। कम्पनीले तथ्यांकशास्त्री र सफ्टवेयर इन्जिनियर पनि राखेको छ। औसत स्थानीय बजारको दरअनुसार १५० प्रतिशत तलब वरिष्ठताको आधारमा विश्लषकहरुले १८ हजार डलरदेखि ४० हजार डलरसम्म हुने कम्पनी बताउँछ।
अझ वरिष्ठ भूमिकाका लागि ६० हजार डलरदेखि ७० हजार डलरसम्म छ। जुन आनन्दको जीवनयापनका लागि पर्याप्त आम्दानी हुने बस्नेत बताउँछन्।
‘हामी अझ महत्त्वाकांक्षी हुने हो भने असाध्यै प्रतिभावानहरु चाहिन्छ र सोहीअनुसार उनीहरुलाई तलब सुविधा दिनुपर्ने हुन्छ। हामी दान दिइरहेका छैनौँ’, उनले भने।
गुगल र क्यापिटल ग्रुपमा लामो समय काम गरेर अवकाश लिई १८ महिनाअघि नेपाल आएका जोन बी पार्क सेक्युरिटीपालले पाएको एक असल रोजगारदाताको छवि सत्य भएको बताउँछन्। नेपालमा प्रडक्ट मेनेजरका लागि चारहप्ते तालिम कार्यक्रम प्रोडक्ट विद्यालयका सहसंस्थापक पार्कले यसका तीनवटै समूहलाई सेक्युरिटीपालको कार्यालय भ्रमण गराएका छन्। बस्नेत र हमालबाट कुराहरु सुनेका छन्।
‘आईटी उद्योग यहाँ अन्य आईटी उद्योगजसरी नै बढ्दै छन्, केही त्यस्ता कम्पनी पनि छन्, राम्रो पैसा दिँदैनन्। केही भने कर्मचारीमार्फत मन्थन हुँदै छन्। उनीहरुलाई थाहा छ, कर्मचारी यहाँ बस्दैनन्’, पार्क भन्छन्, ‘सेक्युरिटीपाल त्यस्ता कम्पनीमा पर्दैन। उनीहरुले दीर्घकालीन हिसाबले सोचेका छन्।’
सेक्युरिटीपालले ७६ कर्मचारीसँगै नेट प्रमोटर स्कोरलाई कायम राख्न सकेको छ। जुन रोजगार विज्ञहरुले भन्ने उत्कृष्टताभन्दा अझ माथि हो।
सन् २०२२ नोभेम्बरमा जब ओपनएआईको च्याटबट च्याटजीपीटी सार्वजनिक गरियो, हमाललाई केही अधैर्य पनि बनायो।
‘के यसले अब हाम्रो व्यवसाय मार्छ?’, तर छिट्टै उनले यही सफ्टवेयरभित्र सामान्य एआई टुल्स इम्बेड गर्न सेक्युरिटीपालको बाटो पहिल्याए।
सेक्युरिटीपालको भर्सनले तथ्य नगुमाई यसका प्रक्रियालाई द्रुत बनाउन सपरभाइजरजसरी काम गर्ने हिसाबमा स्वचालित र यसकै मानव विश्लेषकहरुसँग एआईको संयोजन मिलाउन सक्थ्यो।
विगतमा पनि अन्य स्टार्टअपहरुले यस्तै मिश्रित उद्देश्य लिएका थिए। सन् २०२० मा ट्विचका सहसंस्थापक जस्टिन कानले खोलेको एक उच्च किसिमको कानुनी सफ्टवेयर र स्टार्टअप एट्रियमले पनि साढे ७ करोड डलर बढी पैसा उठाएको थियो। जुन कर्मचारीलाई विदा गरेपछि बन्द भयो। अन्य सफ्टवेयर व्यवसायहरु लेखन सहयोगीदेखि लेखा र वित्तीय सेवाहरुसम्मले ओपनएआई र अन्य मोडलहरुबाट दबाब खेपेका थिए। किनकि तिनले एक बटन थिच्दा अधिकांश काम गरिदिन्थे।

सेक्युरिटीपालको डोमेनमा धेरै अन्य अन्य स्टार्टअपहरु उनीहरुको आफ्नै प्रश्नावलीको अटोमेसन टुल्स छन्। भान्टाजस्ता एन्ड टु एन्डयुक्त सफ्टवेयर प्रदायकदेखि सन् २०२३ मा १ करोड २५ लाख डलर उठाएको समाधानहरु निकाल्ने कन्भेयरसम्म छन्। ग्रामरलीमा ह्वाङ र उनको समूहले सेक्युरिटीपालसँग प्रतिबद्ध हुनुअघि एआईले मात्र गर्ने समाधानहरुको अनुसन्धान गरेको थियो। तर ती सबै अहिलेसम्म भरपर्दो भेटिएन।
‘त्यहाँ अझै पनि यस्ता जवाफहरुलाई वैध बनाउने र तिनलाई सच्याउन धेरै काम गर्नुपर्छ’, ह्वाङले भने।
सेक्युरअथ, जस्केलर र सक्सेसफ्याक्टर्सका पूर्वसुरक्षा कार्यकारी क्राफ्ट भेन्चर्सका बिल हार्मर ठूला व्यवसायहरुले एआईको भ्रमबाट अतिरिक्त जोखिम उठाउन नचाहने बरु सेक्युरिटपालको एआई टुलिङ र मानव विज्ञताको संयोजनलाई रुचाउने तर्क गर्छन्।
‘मैले यसलाई सुरुमा देख्दा सोचेँ, मेरो जीवनमा तिमी कहाँ थियौ?’, उनले भने।
सीईओ हमाल कर्सर र लंगचेनजस्तै उन्नत प्रविधियुक्त ओपनएआईजस्ता स्टार्टअपहरु सबैले यी प्रक्रियालाई एआईबाट स्वतः बनाउनुको साटो सेक्युरिटीपालसँगै काम गर्न खोज्ने बताउँछन्।
‘एलएलएमहरुले केही प्रगति त गरेका छन् तर यथार्थमा तपाईंलाई अझै पुनर्विचारका लागि असल, मान्छेको निर्णय क्षमता चाहिन्छ’, उनले भने, ‘एआईले कहिल्यै समाधान दिँदैन त भन्दिनँ किन कि ब्रेक थ्रु हुनसक्छन्। तर सुनिश्चितता दिने र लिने यात्रामा यो उच्च जोखिमयुक्त हुन्छ।’
अहिले सेक्युरिटीपालले ग्राहकका लागि तात्विक र उपयुक्त सिफारिसका लागि एआईबाट फाइदा लिइरहेको छ। तर अझै पनि मानिसहरुकै महत्त्वपूर्ण भूमिका हुन्छ। सोही कारण कम्पनी यही वर्ष २५/३० जना कर्मचारी थप्दै छ। बस्नेतका अनुसार क्याम्बोडिया, फिलिपिन्स र भियतनाममा स्याटेलाइट सेक्युरिटी सेन्टर खोल्ने समेत तयारी गरिएको छ।
नेपालमा सेक्युरिटीपालले माध्यमिक विद्यालय र विश्वविद्यालयहरुसँग मिलेर एआई टुल्ससँग राम्रो गर्न कम्प्युटर साइन्स, साइबरसुरक्षा र सूचना प्रणालीदेखि मनोविज्ञान र अंग्रेजीजस्ता विषयहरुमा सुरक्षा विश्लेषकहरुले गर्नुपर्ने सीपयुक्त पाठ्यक्रम विकासका लागि काम गरिरहेको छ। फोर्ब्सबाट भावानुदित
Shares

प्रतिक्रिया