ad ad

कारोबार


बेलायतको लगानीपछि वर्ल्डलिंकको फड्को : इन्टरनेटमा पहिलो, टेलिकममा तेस्रो ठूलो कम्पनी

बेलायतको लगानीपछि वर्ल्डलिंकको फड्को : इन्टरनेटमा पहिलो, टेलिकममा तेस्रो ठूलो कम्पनी

नेपालखबर
पुस २८, २०७९ बिहिबार ९:३८, काठमाडौँ

वैदेशिक लगानी भित्र्याएसँगै नेपालको एउटा प्रमुख इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिंकले फड्को मारेको छ। प्रतिस्पर्धी कम्पनीहरूको गति सुस्त हुँदा वर्ल्डलिंक भने आक्रामक रुपमा विस्तार भइरहेको छ। 

हालसम्म वर्ल्डलिंकका ग्राहक ७ लाख २३ हजार पुगेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार असोजसम्म ६ लाख ९० हजार ग्राहक रहेका थिए। 

वर्ल्डलिंकका ग्राहक प्रतिस्पर्धीको रुपमा सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड रहेको छ। जसका ग्राहक २ लाख ९० हजार छन्। 

१ वर्ष अघिसम्म वर्ल्डलिंकका ग्राहक ५ लाख ६३ हजार रहेका थिए भने नेपाल दूरसञ्चारका ३ लाख ९ हजार थिए। निजी क्षेत्रको स्वामित्वको वर्ल्डलिंकले १ वर्षमा १ लाख ६० हजार ग्राहक बढाउँदा प्रतिस्पर्धी दूरसञ्चार कम्पनीका २० हजार ग्राहक घटेका छन्। 

वर्ल्डलिंकसँग निजी क्षेत्रबाट भने प्रतिस्पर्धीको रुपमा ३ वटा कम्पनी छन्।  

असोजसम्म सुबिसुका ग्राहक २ लाख ४२ हजार रहेका छन् भने भायानेटका २ लाख ४४ हजार र क्लासिकटेकका बराबर अर्थात् २ लाख ४८ हजार छन्।

३ वर्षअघि वैदेशिक लगानी भित्रिनुअघि वर्ल्डलिंकका ग्राहक ३ लाख ४ हजार रहेका थिए। सो अवधिमा नेपाल दूरसञ्चार लिमिटेडका २ लाख ३६ हजार ग्राहक रहेका थिए। 

नेपाल दूरसञ्चार कम्पनीले ३ वर्षमा ५६ हजार ग्राहक बढाउँदा वर्ल्डलिंकले सोही अवधिमा ३ लाख ५६ हजार बढाएको छ। ३ वर्षअघि सुबिसुका ७९ हजार, भायानेटका ७३ हजार, क्लासिकटेकका ४४ हजार ग्राहक रहेका थिए।  

पछिल्लो समय उदाएको डिशहोमका ग्राहक २ लाख पुगेका छन्। १ वर्षअघि डिशहोम फाइबर नेटका जम्मा १७ हजार मात्रै ग्राहक थिए।  

यता ठूलो घरानाको लगानी भई डेढ वर्षअघि सुरु भएको सीजी नेटका ४० हजार बढी ग्राहक पुगेको कम्पनीले जनाएको छ। 

वर्ल्डलिंकमा २०१९ मा बेलायतको बैंक तथा वित्तीय संस्था ब्रिटिस इन्टरनेश्नल इन्भेष्टमेन्टअन्तर्गतको सीडीसीले १ अर्ब ३५ करोड लगानी गरेको थियो। जसमा १ अर्ब वर्ल्डलिंकमा प्रत्यक्ष लगानी गरेको थियो। सीडीसीमा बेलायती सरकारको पूर्ण लगानी छ। 

वर्ल्डलिंकमा यसको १० प्रतिशत सेयर हिस्सा रहेको छ। सीडीसीले विश्वभर १२०० बढी व्यवसायमा लगानी गरिरहेको छ। यसको कुल कम्पत्ति ६.८ अर्ब पाउन्ड छ। 

‘वैदेशिक लगानी भित्र्याउँदा कम्पनीको डीडीए (सम्पत्ति तथा दायित्व मूल्यांकन) गर्नुपर्छ, जसले कम्पनीको विश्वास बढाउँछ’, वर्ल्डलिंक कम्युनिकेशनका निर्देशक लक्ष्मण यादवले भने, ‘लगानी विस्तार गर्न पनि सहयोग पुर्याउँदा ग्राहकको संख्या वृद्धिदर बढेको हो।’

वर्ल्डलिंकले ‘फाइबर टु द होम’ प्रविधि २०१२ मा नेपाल भित्र्याएको थियो। २०१८ मा कम्पनीले फिनल्यान्डको बहुउद्देश्यीय आईटी इन्फ्रास्ट्रक्चर फर्म नोकियासँग सहकार्य गरी एफटीटीएच नेटवर्क विस्तार गरिरहेको छ। कम्पनीले १० लाख ग्राहकसमक्ष फाइबर नेटवर्क विस्तार गर्ने लक्ष्य राखेको छ। हालसम्म वर्ल्डलिंकको १३ हजार ६४६ किलोमिटर बढी फाइबर नेटवर्क विस्तार भइसकेको छ।

बोर्डको अध्यक्ष तथा प्रबन्धनिर्देशक दिलिप अग्रवाल (तस्बिर) ले अमेरिकाबाट उच्च अध्ययन गरेर १९९६ मा नेपाल फर्केपछि वर्ल्डलिंक स्थापना गरेका हुन्

इन्टरनेटमा पहिलो, टेलिकममा तेस्रो ठूलो कम्पनी 
टेलिकम कम्पनीमा नेपाल दूरसञ्चार लिमिटेड र एनसेलपछि वर्ल्डलिंक तेस्रो ठूलो कम्पनी रहेको छ। 

नेपालकै सबैभन्दा ठूलो नेपाल टेलिकमले अघिल्लो आर्थिक वर्ष साउनदेखि असारसम्म ४४ अर्ब ३४ करोड रुपैयाँ आम्दानी गरेको छ। दोस्रो ठूलो कम्पनी एनसेलले आर्थिक वर्ष २०७७/०७८ मा ४१ अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेको थियो।  

तेस्रो ठूलो कम्पनीको रुपमा रहेको वर्ल्डलिंकले वार्षिक ८ अर्ब रुपैयाँको व्यापार गर्न थालेको छ। वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड सन् १९९६ मा स्थापना भएको थियो। २०१९ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको छ।  

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले ४ वर्षमा आफ्नो व्यापारमा दोब्बर वृद्धि गरेको छ। आर्थिक वर्ष २०७४/०७५ मा ४ अर्ब १२ करोड रुपैयाँको व्यापार गरेको वर्ल्डलिंकले २०७७/०७८ करिब ८ अर्बको व्यापार गरेको हो। 

४ वर्षमा वर्ल्डलिंकले २३ अर्ब ६५ करोड रुपैयाँको व्यापार गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा ५ अर्ब ४ करोड कारोबार गरेको थियो। आर्थिक वर्ष २०७६/०७७ मा ६ अर्ब ५४ करोड रुपैयाँ कारोबार गरेको थियो।

वर्ल्डलिंकले आफ्नो नाफा पनि बढाउँदै लगेको छ। कर, ब्याज र अवमूल्यनसहितको नाफा ३७.१४ प्रतिशत छ। २०७४/०७५ मा ३३.३५ प्रतिशत यस्तो नाफा ३४.९६ प्रतिशत रहेको थियो। नेपालको सबैभन्दा ठूलो इन्टरनेट सर्भिस प्रोभाइडरले २०७७/०७८ मा ७ अर्ब ९५ करोड रुपैयाँको व्यापार गरेको छ। 

०७६/०७७ मा वर्ल्डलिंको व्यापार २१.५३ प्रतिशतले बढेको छ। इन्टरनेट प्रयोगकर्ताको हिसाबले करिब ३० प्रतिशत बढेको छ। सार्वजनिक तथ्यांकअनुसार वर्ल्डलिंकले २०७८ साउनदेखि चैतसम्म ६ अर्ब ७२ करोड रुपैयाँको व्यापार गरेको छ। 

३० प्रतिशत बढी बजार हिस्सा, ४ अर्ब लगानी गर्दै
इन्टरनेट सर्भिस प्रोभाइडर कुल ग्राहकमा वर्ल्डलिंकको बजार हिस्सा ३० प्रतिशत बढी रहेको छ। 

आर्थिक वर्ष २०७७/०७८ मा फाइबरनेट सेगमेन्टमा भने वर्ल्डलिंकको बजार हिस्सा ३६ प्रतिशत रहेको थियो। वर्ल्डलिंकले ४० प्रतिशत ब्यान्डविथ बोक्छ। देशका ७० बढी जिल्लामा आफ्नो सेवा पुर्याएको छ। नेपालभर कम्पनीका १४० शाखा छन्। 

कम्पनीले ४१ प्रतिशत खुद्रा ग्राहकबाट र ७ प्रतिशत कर्पोरेट ग्राहकलाई इन्टरनेट उपलब्ध गराएबापत आम्दानी गरेको छ। त्यसबाहेक कम्पनीको आम्दानी मोनिटरिङ एन्ड टेक्निकल सपोर्ट, डाटा कनेक्टिभिटी, सेमी कर्पोरेट प्लान, वेब होस्टिङ सर्भिसलगायतको व्यापारबाट गर्छ। 

आगामी वर्ष १२० ठाउँमा आफ्नो पूर्वाधार विस्तार गर्ने वर्ल्डलिंकको योजना छ। त्यसको लागि अपरेटिङ सञ्चालन आम्दानी, लगानीकर्ताबाट स्वपुँजी र ऋणबाट ४ अर्ब लगानी गर्ने तयारीमा छ।   

कम्पनीका निर्देशक यादवले अरु कम्पनी काठमाडौंमै केन्द्रित हुँदा वर्ल्डलिंक दुर्गम ठाउँमा विस्तार भएकाले पनि ग्राहकको संख्या बढेको बताए। 

‘आफ्नै लगानीमा सहरीसँगै ग्रामीण क्षेत्रमा नेटवर्क विस्तार गरिरहेका छौँ’, उनले भने, ‘गाउँ–गाउँमा बैंक, अनलाइन सेवा पुग्दा वर्ल्डलिंकका ग्राहक बढेका छन्।’

वर्ल्डलिंकले आफ्नो ‘सपोर्ट सिस्टम’ अरु कम्पनीभन्दा राम्रो रहेकाले ग्राहक वृद्धिको संख्या बढेको बताएको छ। यादवले ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तार गर्न अझै सकिने भए पनि सरकारले ४० प्रतिशत बढी कर लगाउँदा इन्टरनेट महँगो भएको बताए। 

वर्ल्डलिंकमा ५ जना निर्देशक रहेका छन्। बोर्डको अध्यक्ष तथा प्रबन्धनिर्देशक दिलिप अग्रवाल छन्। अमेरिकाको बेट्स कलेजबाट उच्च अध्ययन सकेर १९९६ मा नेपाल फर्केपछि अग्रवालले वर्ल्डलिंक स्थापना गरेका हुन्।

उनी कम्पनीको कर्पोरेट म्यानेजमेन्ट र डेभलपमेन्टको जिम्मेवारीमा छन्। वर्ल्डलिंकको कार्यकारी निर्देशकमा मनोज कुमार अग्रवाल छन्। उनी स्थापनाकालदेखि नै वर्ल्डलिंकमा रहेका छन्। 

सीडीसी ग्रुपबाट सञ्चालक समितिमा वैष्णवी सूर्यनारायण प्रतिनिधि निर्देशक छन्। 

वर्ल्डलिंकको ग्रुप चिफ फाइनान्सियल अफिसर सञ्जय कुमार शाह छन् भने केशव नेपाल प्रमुख कार्यकारी अधिकृत छन्। वर्ल्डलिंकको चिफ टेक्निकल अफिसर समित जंग थिङ छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .