ad ad

कारोबार


पहिलोपटक नेपाली मिडिया पब्लिक कम्पनीको बाटोमा

नागरिकमा ४३ करोड र कान्तिपुरमा ७ करोड सर्वसाधारणले लगानी गर्न पाउने
पहिलोपटक नेपाली मिडिया पब्लिक कम्पनीको बाटोमा

दीपक भट्ट
कात्तिक १६, २०७९ बुधबार १७:५०, काठमाडौँ

नेपालमा पहिलोपटक मिडिया कम्पनी पब्लिक कम्पनी बन्दै छन्। त्यसको तयारी सुरु भइसकेको छ। 

नेपाल रिपब्लिक मिडिया र कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले सर्वसाधारणको लगानीको बाटो अपनाउन लागेसँगै दुई निजी मिडियामा सर्वसाधारणले लगानी गर्न पाउने भएका हुन्। 

कान्तिपुर टेलिभिजन र नागरिक दैनिक तथा माई रिपब्लिका प्रकाशन गर्ने नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणबाट लगानी उठाउन चाहेका छन्। कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले गत असारमै साधारण सेयर (आईपीओ) निष्काशनबारे सर्वसाधारणलाई जानकारी दिएको थियो।कम्पनीले ७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने बताएको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार कित्ता साधारण सेयरमा अंकित मूल्यमा प्रिमियम रकम थप गरी आईपीओ जारी गर्ने कम्पनीको तयारी छ। 

कान्तिपुर टेलिभिजनले २०औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा गत असारमा सानिमा क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको थियो। 

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट अध्यक्ष कैलाश सिरोहिया र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका थिए।

तर त्योबाहेकको प्रक्रिया भने अहिलेसम्म अघि नबढेको सेयर बिक्री प्रबन्धक कम्पनी सानिमा क्यापिटलका सीईओ चालिसेले बताए। 

उनले भने, ‘सेयर जारी गर्ने प्रक्रिया अघि बढाउन कान्तिपुरको साधारणसभा हुनुपर्छ। त्यसपछि बल्ल अघि बढ्छ।’

त्यसभन्दा अघि टेलिभिजनले हालका सेयरधनीहरुबाट आफ्नो पुँजी क्षमता पनि विस्तार गरेको छ। कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले १८ प्रतिशत हकप्रद सेयर थपेको छ। 

असारमा भएको विशेष साधारणसभाबाट कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले पुँजी बढाउने निर्णय गरेको थियो। सोहीअनुसार टेलिभिजनले चुक्ता पुँजी बढाउन १०० रुपैयाँ अंकित दरको ५ लाख ५८ हजार कित्ता (५ करोड ५८ लाख रुपैयाँ) को हकप्रद सेयर निष्काशन गरेको थियो। 

अबको साधारणसभाले आईपीओ जारी गर्ने निर्णय गरेपछि सर्वसाधारणको लगानी लिने बाटोमा अघि बढ्ने सानिमा क्यापिटलले बताएको छ। 

रिपब्लिक मिडियाको साढे ४३ करोडको आईपीओ आउने 
त्यस्तै नेपाल रिपब्लिक मिडियाले पनि आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ। 

कम्पनीले ४३ करोड ५३ लाख रुपैयाँबराबरको आईपीओ निष्काशन गर्नलागेको हो। त्यसको लागि उसले धितोपत्र बोर्डमा कात्तिक २ गते निवेदन दिएर अनुमति समेत मागिसकेको छ। 

यस कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ।

यो कम्पनीले गत साढे दुई वर्ष अघिदेखि नै सरकारसँग सहुलियत समेत माग गर्दै आएको थियो। नेपालखबरलाई प्राप्त एक पत्रअनुसार नागरिक दैनिकले २०७६ चैतमा अर्थ मन्त्रालयसँग सहयोगको अपिल गरेको थियो। 

कागज खरिद गर्दा भन्सार छुट, सहुलियत कर्जा र पुनर्कर्जा उपलब्ध गराइदिन कम्पनीले अपिल गरेको थियो। सोअनुसार तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले त्यसमा समन्वय समेत गरिदिएका थिए। 

अहिले यस मिडियाले सर्वसाधारणबाट लगानी लिएर पब्लिक कम्पनीको रुपमा अघि बढ्न चाहेको हो। 

के हो आईपीओ, कसरी निष्काशन हुन्छ?
आईपीओको पूर्ण रुप ‘इनिसियल पब्लिक अफरिङ’ हो। यसको अर्थ प्रारम्भिक सार्वजनिक निष्काशन हो।  

यो सर्वसाधारणबाट प्रत्यक्ष लगानी संकलन गर्ने माध्यम हो। नेपाल धितोपत्र बोर्डको अनुमतिमा कम्पनीको कुल चुक्ता पुँजीको न्यूनतम १० प्रतिशतदेखि अधिकतम ४९ प्रतिशतसम्म आईपीओ जारी गर्न सकिने व्यवस्था धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा छ। 

आईपीओ जारी गर्न सम्पत्तिमा १ वर्ष कम्पनी सञ्चालनमा आएको हुनुपर्ने व्यवस्था छ। 

त्यसपछि लेखा परीक्षण गरी साधारणसभा सम्पन्न भएपछि उनीहरुले आईपीओ जारीका लागि आवेदन दिन सक्नेछन्। त्यसमा धितोपत्र बोर्डले कम्पनीको योग्यता क्षमता जाँच गर्छ। 

बोर्डले योग्य ठहरे कम्पनीले सेयर बिक्री प्रबन्धक कम्पनी नियुक्त गर्न पाउँछ। मर्चेन्ट बैंकको रुपमा काम गर्दै आएका कम्पनीमध्येलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गर्नुपर्ने व्यवस्था धितोपत्र दर्ता तथा निष्काशन नियमावलीले गरेको छ। 

तर आईपीओ जारी गर्नुअघि क्रेडिट रेटिङ संस्थाबाट आफ्नो कम्पनीको अनिवार्य रेटिङ गराउनुपर्ने व्यवस्था छ। क्रेडिट रेटिङ भनेको कम्पनीको क्षमता र सञ्चालन अवस्था कस्तो छ भन्ने हो। त्यसको जाँच गर्ने निश्चित कम्पनीहरु रहेका छन्। 

उक्त सबै मापदण्ड पूरा भएपछि बिक्री प्रबन्धक कम्पनीले निश्चित समय तोकी सर्वसाधारणलाई लगानीको लागि आह्वान गर्छ।

यसरी आईपीओ निष्काशनको प्रक्रिया पूरा हुन्छ र लगानीको बाटो खुल्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .