कारोबार


छोरा निकको सपना पूरा गर्न नेपाल आइरहन्छन् अर्बपति जिम

छोरा निकको सपना पूरा गर्न नेपाल आइरहन्छन् अर्बपति जिम

अर्बपति जिम र उनका स्वर्गीय छोरा निक।


नेपालखबर
असोज ३०, २०७९ आइतबार ६:३९, काठमाडौँ

सन् २००२ को वर्ष। 

एक अमेरिकी युवा ९ महिना नेपाल बसेर स्वदेश फर्किन्छ र आफ्नो आमालाई भन्छ– मेरो पूर्ण जीवन नेपालजस्तो कुनै देशमै बित्यो भने आश्चर्य नमान्नुहोला। 

ती युवा थिए न्युयोर्क निवासी निक साइमन्स। त्यो साल उनी भाषिक र सांस्कृतिक पर्खाल नाघ्दै ९ महिना नेपाल बसे। त्यो बसाइले उनलाई नेपालप्रतिको प्रेमलाई अझ प्रगाढ बनायो। नेपालमा मेडिकल स्कुल खोल्नु उनको जीवनको लक्ष्य थियो। 

सन् २००३ को समर सिजनमा दुर्भाग्यवश इन्डोनेसियाको बालीमा निकको डुबेर मृत्यु भयो। त्यसको दुई/तीन महिनापछि उनका बुबाआमा, दिदी र केही साथीहरु उनको सम्झनामा केही असल काम गर्ने उद्देश्यले नेपाल आए। उनीहरुका लागि नेपाल अपरिचित थियो। केही थाहा थिएन। 

तर असल कामका लागि त्यसले उनीहरुलाई रोकेन। पाटन अस्पतालमा एक प्रसूति वार्ड स्थापना गर्न आर्थिक सहयोग गरे। त्यसको एक वर्षपछि उनीहरुले एउटा संगठन खोल्न स्वास्थ्य क्षेत्रका व्यक्तिहरुको समूह बनाए। एउटा त्यस्तो संस्था बनाउनु थियो जसले नेपालको ग्रामीण क्षेत्रमा गएर स्वास्थ्य सेवा देओस्! 

यो आइडियासँगै संस्थाको बोर्ड अफ डाइरेक्टर्स र कर्मचारी भर्ती सुरु भयो। 

निकका बुबाआमा जिम र मरिलिन यसकै लागि हरेक वर्ष दुईचोटि नेपाल आउने गर्नथाले। उनीहरुले नेपालको विकट क्षेत्रको अवलोकन गरे। आठवटा अस्पताल चहारे। ती अस्पताललाई उनीहरुले खोल्न लागेको निक साइम इन्स्टिच्युटको सहयोगी बनाउनु थियो। 

उनीहरु भन्थे– नेपाल निकले हामीलाई दिएको उपहार हो, र यहाँ हामीले धेरै राम्रा मानिसहरु भेट्यौँ नत्र उनीहरुबारे हामीले कहिल्यै थाहा पाउने थिएनौँ। 

नेपालमा के गर्छ निक साइमन्स फाउन्डेसन?
अहिले निकका बुबाआमाको सपना पूरा भएको छ। सन् २००५ मा निक साइमन्स फाउन्डेसन खुलेको छ। यसले तयार गरेको सन् २०२०–२०२१ को वार्षिक प्रतिवेदनअनुसार यसका सहयोगी अस्पतालको संख्या ४८ छ। ती अस्पतालसँग मिलेर यसले १३ लाख ८९ हजार ७ सय २७ मानिसलाई स्वास्थ्य सेवामा योगदान दिएको छ। यसका २५९ कर्मचारी छन्। 

निक साइम इन्स्टिच्युट (एनएसआई)को अस्पताल सहयोग कार्यक्रम (एचएसपी) सञ्चालनमा छ। यसले सरकारी अस्पतालको मानकअनुसार न्यूनतम रुपमा आकस्मिक र अत्यावश्यक सेवामा सहयोग गर्दै आएको छ। इन्स्टिच्युटले सन् २०२०÷२१ मा १० फरक कार्यक्रममा ७ सय ८४ स्वास्थ्य स्वयंसेवकभन्दा बढीलाई तालिम दिन सहयोग गरेको थियो। 

यसले समग्र, सामान्य, ल्याब, अपरेसन कक्ष, एक्सरे जस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ। ग्रेडियन हेल्थ सिस्टमअन्तर्गत सन् २०१८ मा यसले आईसीयूमा भेन्टिलेटर, आकस्मिक रुमहरुमा काम गरेको थियो। टीबी रोगका बिरामीको लागि यसले अस्पतालसँग मिलेर परियोजना सञ्चालन गरेको छ। त्यस्तै कोभिड महामारीका बेला पनि यसले देशैभर स्थानीयका लागि परिचालित भएर सहयोग गरेको थियो। 

प्रतिवेदनअनुसार यसका धेरै ग्रान्टी पार्टनरहरु रहेका छन्। फाउन्डेसनले नेपालमा स्वास्थ्य र मेडिकल केयर सुधारका लागि १४ करोड १३ लाख अमेरिकी डलर अनुदान सहयोग गरेको छ। यो सबै जिम र मरिलिनले छोराको नेपालप्रतिको प्रेमका खातिर गरेका हुन्। 

दानी अर्बपति जिम,  हरेक वर्ष आउँछन् नेपाल 
जिम साइमन्स आफैँ सामान्य व्यक्ति होइनन्। उनी अमेरिकी अर्बपति हुन्। फोर्ब्सका अनुसार उनको कुल सम्पत्ति शुक्रबारसम्म २८ अर्ब १० करोड अमेरिकी डलर छ। उनी रेनासा टेक्नोलजिज कर्पका संस्थापक हुन्। यसले ५० अर्बबराबरको सम्पत्ति व्यवस्थापन गर्छ। यो एउटा ट्रेडिङ हेज फन्ड फर्म हो। 

सन् १९८२ मा रेनासा स्थापना गरेका उनले सन् २०१० मा व्यावसायिक अवकाश लिए। तर अहिले पनि उनी यसबाट लाभग्राही छन्।

साइमन्स दानी अर्बपतिका रुपमा चिनिन्छन्। उनले चार अर्ब डलर दानमा खर्चिएका छन्। उनको म्याथ फर अमेरिका नामक फाउन्डेसन पनि छ। यसबाहेक अटिज्मको अनुसन्धानमा पनि उनले सहयोग गर्दै आएका छन्। 

उनी हाल ८४ वर्ष पुगेका छन्। 

छोरा निकबाट नेपाल चिन्ने अवसर पाएका जिम र मरिलिन छोराको सम्झना र सपनाका लागि हरेक वर्ष नेपाल आइरहेका छन्। यसपटक पनि गत सोमबार उनीहरु नेपाल आएका छन्। 

निजी विमानमा आएका उनीहरु गोरखा अस्पताल पुगेर काठमाडौं फर्किएको एनएसआईले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .