ad ad

कारोबार


उपाय कार्गो : जसले ट्रकबाट एपमार्फत घरमै पुर्‍याउँछ सामान

उपाय कार्गो : जसले ट्रकबाट एपमार्फत घरमै पुर्‍याउँछ सामान

उपाय: सिटी कार्गोका प्रबन्धनिर्देशक सुमन रायमाझी। तस्बिर : विशाल कार्की


वसन्त अर्याल
भदौ ४, २०७९ शनिबार ९:३३, काठमाडौँ

कार्गो व्यवसायी सुमन रायमाझीका तीन सपना छन्– 

पहिलो : प्रविधिको प्रयोग गरी कुनै पनि सहरमा कार्गो ढुवानी गर्ने, दोस्रो : ग्राहकले पठाएको सामान जहाँ पुगिरहेको छ, त्यसको जानकारी दिने र तेस्रो : विश्वस्तरीय ‘अटोमेटेड’ गोदाम निर्माण गर्ने। 

३ वर्षदेखि यही सपना पूरा गर्न लागेका सुमन ‘उपाय : सिटी कार्गो’का प्रबन्धनिर्देशक हुन्। उनको कम्पनीले सवारी चालक र सेवाग्राहीलाई एकै ठाउँमा जोडिरहेको छ। 

योबीचमा उनले कम्पनीको सेवा काठमाडौंसहित देशका मुख्य सातै सहरमा फैलाइसकेका छन्। 

कार्गोका विविध पक्षलाई ध्यान दिएको उनको कम्पनीबाट कुनै पनि सेवाग्राहीले २ पांग्रेदेखि २१ टनका ट्रक ढुवानीको सेवा पाउँछन्। यसले कर्पोरेट हाउसदेखि साना तथा मझौला उद्योगसम्मका धेरै झन्झट समाधान भएको सुमन बताउँछन्।

बजारमा यस्तो सेवा दिने १५ हजार गाडी छन्। जुन मागअनुसार सेवा दिन्छन्। उपायमा भने ४ हजार गाडी दर्ता रहेको सुमनको भनाइ छ।

‘तीमध्ये ५/६ सय गाडीले नियमित रुपमा उपायबाटै काम गर्छन्’, उनले भने।   

सुमन कार्गो सेवाको क्षेत्रमा मजाले भिज्दै छन्। २ महिनापछि उनको एग्रिगेट मार्केट प्लेस व्यवसाय सुरु हुँदै छ। यसका लागि नेपालको पूर्वी र मध्य भागमा अपरेसन युनिट खोल्ने र पश्चिममा ठूला ट्रकबाट सामान ढुवानी गर्ने उनको तयारी छ। 

‘१० टनदेखि २१ टन बोक्ने क्षमतासम्मका ट्रक हुनेछन्’, उनले भने, ‘यसमा कुनै पनि उत्पादक, आयोजना, ट्रेडर्सलाई आवश्यक परे एप म्याचिङमार्फत सेवा लिन सक्छन्।’ 

ढुवानी समस्या समाधान गर्ने ‘उपाय’
‘उपायः सिटी कार्गो’ ढुवानी समस्याको पूर्ण समाधान भएको बताउँछन् उनी। किनभने यसले ढुवानीसँग जोडिने हरेक आवश्यकता पूरा गर्छ। 

जस्तो कि तपाईं घरको साँचो आफैँ लिएर अफिस आउनुभयो। त्यही बेला परिवारको कोही घरमा पुगे भने के गर्ने? उपायले नै यसको समाधान गरिदिन्छ। त्यसका लागि उपाय एपमा आफू भएको ठाउँ र कहाँ कसलाई दिने उल्लेख गरेपछि उपायका राइडरले चाबी घरमै पुर्याइदिन्छन्। 

सुमनका अनुसार यसमा बाइक स्ट्यान्डबाई राख्नुपर्ने हुनाले शुल्क बढी लाग्ने हुनसक्छ। 

‘तर समस्या त समाधान भयो नि!’, उनी भन्छन्। 

घर वा कोठा सर्दा व्यक्तिगत प्रयोगमा सबैभन्दा बढी ‘उपायः सिटी कार्गो’को  प्रयोग हुने गरेको उनको भनाइ छ। त्यसका लागि उपायःसँग ‘हाउस विङ प्रोडक्ट’ छ। त्यसैबाट डेलिभरी हुन्छ। 

‘कतिवटा कोठा सार्ने हो। लोडर आवश्यक छ कि छैन। कति घण्टामा सामान सकिन्छ, सोहीअनुसार बजारभन्दा धेरै सस्तो मूल्यमा सामान सार्न सकिन्छ’, सुमन भन्छन्। 

कार्गोमा प्रविधिको मिश्रण 
कुरियर, कार्गो र ढुवानी सबैको काम वस्तु एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने हो। सुमनले यही सेवालाई आधुनिक प्रविधिसँग जोडेका छन्। 

‘उपाय’ले व्यक्तिगतदेखि कर्पोरेटसम्मका काम गर्दै आएको छ। यसको कर्पोरेट मोडल बीटुबी हो। यसको अर्थ एउटा व्यवसायीको सामान अर्को व्यवसायीसमक्ष पुर्‍याउनु हो। यसमा उनले एसएमई (साना तथा मझौला व्यवसाय), कर्पोरेट हाउसलाई लक्षित गरेका छन्।

उनीहरुको सामान आदानप्रदानलाई मुख्य प्राथमिकतामा राखेका छन्। 

यसबाहेक उपाय सिटीले ‘सिंगल टु सिंगल कस्टुमर’, ‘सिंगल टु मल्टी कस्टुमर’ सुविधा पनि दिइरहेको सुमनको भनाइ छ। 

‘चाडपर्वको समयमा कर्पोरेट हाउसले आफ्ना शुभचिन्तकलाई गिफ्ट पठाउन चाहन्छन्, सबै ठाउँमा कर्मचारी पठाउन खर्चिलो हुन्छ’, उनी भन्छन्, ‘त्यही गिफ्ट हामी कम खर्चमा सबैसमक्ष पुर्याइदिन्छौँ।’

त्यसका लागि ठेगाना र नम्बर भए पुग्ने उनले बताए। 

काठमाडौंलाई उपायले ९ क्षेत्रमा बाँडेको छ। राइडरले त्यही हिसाबले आफ्नो क्षेत्रमा पुर्‍याउँछन्। बाहिरको भए पनि त्यहीँको राइडरले पुर्‍याइदिने उनको भनाइ छ। 

उपाय कार्गो अहिले फेसबुक, इन्टरनेटका माध्यमबाट सामान बिक्री गर्ने सोसल कमर्स कम्पनीका लागि धेरै सहज भएको उनको अनुभव छ।

‘होम डेलिभरीको लागि यस्ता कम्पनीलाई निकै सहयोग पुगेको छ’, उनी भन्छन्, ‘सानो व्यवसाय भएकालाई छुट्टै राइडर राख्नुपर्ने तनाव हटेको छ।’ 

चारपांग्रे गाडीको माग बढी 
उपाय कार्गोको सबैभन्दा बढी माग चारपांग्रे गाडीको छ। कर्पोरेट हाउस, डेरी कम्पनीहरुले दैनिक रुपमै ढुवानीका लागि यस्ता गाडी माग गर्छन्। 

उपायको मागअनुसारको सेवाको समय १ घण्टा छ। ८० प्रतिशत दुईपांग्रेको डेलिभरी १ घण्टाभित्र हुन्छ। चारपांग्रेको डेलिभरी समय डेढ घण्टा छ। ‘अन डिमान्ड सर्भिस’को शुल्क दूरी र समयको हिसाबमा निस्किन्छ। 

कम्पनीले काठमाडौंबाहिर २४ घण्टाभित्र पुर्‍याउने लक्ष्य राखेको छ। 

‘काठमाडौं बाहिर सहरमै २४ घण्टामा पुग्छ। तर त्यहाँबाट ग्रामीण क्षेत्रमा पुर्‍याउन समय लाग्न सक्छ। ठाउँअनुसार भर पर्छ’, सुमन भन्छन्, ‘फुलफिलमेन्ट सर्भिसमा उसै दिन ढुवानी प्रयासमा छौँ।’

सिटी कार्गोले ‘फुलफिलमेन्ट सर्भिस’ हालै सुरु गरेको छ। यसमा फर्स्ट माइल, सेकेन्ड माइल र लास्ट माइल गरी सर्भिस दिएको उनले बताए। फर्स्ट माइल भनेको पिकअप गर्ने ठाउँ, मिड माइल भनेको एक सहरबाट अर्को सहरमा पुर्‍याउने र लाइट माइल भनेको त्यो सहरबाट व्यक्तिको घर वा पसलमा पुर्‍याउने काम भएको उनको भनाइ छ।

आफैँ मूल्य निर्धारण, सामानको अवस्था थाहा पाइने
भदौ १ देखि ठूला ट्रकले इन्ड्राइभरमा जस्तै आफूलाई चाहिएको रेट राख्न पाएका छन्। यसमा ग्राहकले सस्तो पर्ने ट्रक लिन पाउँछन्। पिकअप गाडीको लागि सिस्टम डेभलप भइरहेको सुमनले बताए।  

‘कुनै ठूलो कम्पनीले हिजो २७ हजारमा ट्रक पठाएका थियौँ आज किन २८ हजार लिएको भन्नेजस्ता गुनासो आउँछ’, उनी भन्छन्, ‘एपमै रेटको प्रतिस्पर्धा भए चाप हुँदा २८ हजारमा ल्याउला, खाली हुँदा २६ हजार लिनसक्छ।’

ठूला कर्पोरेट हाउसलाई बार्गेनिङ गरिरहनु नपर्ने र मूल्य निश्चित हुने हुँदा सहज हुने उनको भनाइ छ। यसमा आफ्नो सामानको ट्रयाक पनि गर्न सकिन्छ। 

उपायले ट्रयाकिङको लागि सिप्रदी ट्रेडिङसँग सहकार्य गरेको छ। फ्लिट म्यानेजमेन्ट सर्भिस लोकोन्याभको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ हो। उपाय कार्गो सिप्रदीको लोकोन्याभको सबडिलर छ। 

‘सिप्रदीसँग मिलेर ठूला र साना ट्रकमा जीपीएस सिस्टम जडान गरिरहेका छौँ’, सुमन भन्छन्, ‘जीपीएस स्याटेलाइटसँग कनेक्सन भएकाले कसको सामान कहाँ छ थाहा हुन्छ।’ 

अहिले काठमाडौंबाट कसैलाई विराटनगर सामान पुर्‍याउन आवश्यक भए ट्रान्सपोर्ट कम्पनीमा छोड्न जानुपर्छ। ट्रान्सपोर्ट कम्पनीले आफ्नो समय मिलाएर विराटनगर पुर्‍याउँछन्। कहाँबाट कसरी सामान जाँदै छ कति समय लाग्छ ग्राहकलाई थाहा हुँदैन।

‘हामीले सफ्टवेयर प्रयोग गर्दा सामान कहाँबाट कसले उठायो। कुन ठाउँमा जम्मा गरिएको छ’, सफ्टवेयरबारे उनी भन्छन्, ‘गोदामबाट कति नम्बरको ट्रकमा विराटनगर जाँदै छ ग्राहकलाई थाहा हुन्छ।’

विराटनगर पुगेको सामानसम्बन्धी व्यक्तिकोमा मोटरसाइकलमा आउँदै छ वा पिकअप गाडीमा डेलिभरी हुँदै छ म्यासेज पुग्छ। सुरुमा कहाँको सामान कहाँ गयो भन्ने देखिन्छ। बीचको मुभमेन्ट देखिँदैन। सुरक्षाको कारण कुन ट्रक कहाँ छ ट्रयाक गर्दा अहिले अप्ठ्यारो पर्नसक्ने बताउँछन्। 

‘अटोमेटेड गोदाम’मा १ अर्ब लगानी
नेपालको कार्गो व्यवसाय धेरै पुरानो छैन। ५०–६० वर्ष मात्रै भएको छ। त्यसअघि भारतीय ट्रकबाटै ढुवानी हुने गरेको थियो। अहिले एउटै नेपालीका   सय–डेढ सय ढुवानीका साधन छन्। 

नेपालमा करिब ४०० ट्रान्सपोर्ट कम्पनी छन्। ढुवानी व्यवसायको व्यवस्थापन संघ र महासंघबाट हुँदै आए। उनीहरुले आफ्नो हकहित संरक्षणको लागि कुरा उठाए। ढुवानीको साधन र चालकको लागि पूर्वाधारमा कसैले ध्यान दिएन।  

‘काठमाडौंमा दैनिक हजारौँ गुड्ने ट्रकको लागि पार्किङको सुविधा कहाँ छ’, उनी भन्छन्, ‘भैरहवा, वीरगन्ज जाँदा ट्रक कहाँ बस्ने? पूर्वाधार नै बनेको छैन।’

त्यसको लागि विभिन्न ठाउँमा उपाय स्टेसन बनाउने उनले जानकारी दिए। बुटवल, भैरहवामा एउटा र अरु वीरगन्ज र विराटनगरमा यस्तो स्टेसन बन्नेछ। स्टेसनमा पार्कसँगै बस्ने खाने ठाउँ लगायतका पूर्वाधार हुनेछ भने चालकलाई रिफ्रेसमेन्टको लागि स्थान पनि हुनेछ। 

उपाय कार्गो ढुवानीका चालकलाई सम्मानजनक र गर्वको व्यवसाय बनाउन सोहीअनुसारको पूर्वाधार आवश्यक रहेको उनले बताए।

पूर्वाधार विकास गर्नसके ‘लजिस्टक व्यवसाय नै अपलिफ्ट’ हुनेमा विश्वस्त छन् सुमन। 

हालसम्म प्रविधि र सिकाइमा २५ करोड लगानी गरिसकेको उपाय सिटी कार्गोले अब १ अर्ब लगानी पूर्वाधार निर्माणमा गर्दै छ। त्यसमा नेपालीसँगै वैदेशिक लगानी हुने उनले जानकारी दिए।  

सुमनको अबको योजना ‘स्मार्ट अटोमेटेड’ गोदाम निर्माण गर्ने योजना छ। त्यसबाट समान कहाँ–कहाँ पुर्‍याउनुपर्ने आफैँ छुटिन्छ। अटोमेटेड गोदामबाट एउटा सहरबाट अर्को सहर (मिड माइल)को लागि एउटा ट्रान्सपोर्ट कम्पनी प्राप्ति गरेका छन्। उनीहरुलाई व्यावसायिक साझेदार बनाएका छन्। 

‘कुनै ग्राहकलाई गोदाम नै आवश्यक पर्दैन। १ ट्रक सामान बाहिरबाट आयो वा आफ्नो उत्पादन छ भने उपायको गोदाममा सामान राखे हुन्छ’, उनी भन्छन्, ‘देशका जति ठाउँमा डेलिभरी गर्नु छ, उपाय कार्गोमार्फत आफैँ हुन्छ।’

अटोमेटेड गोदाममा एफएमसीजी (छिटो पुर्‍याउनुपर्ने सामान) इलेक्ट्रिोनिक्स फ्रिज, टिभी, लत्ताकपडा, जुत्ता र औषधिजन्य सामग्री राख्न सकिन्छ। सिमेन्ट डन्डीलगायतको वस्तु गोदाममा राख्दैनन्। 

उपाय सिटी कार्गोले प्रयोग गरेको सफ्टवेयर अरु ट्रान्सपोर्ट कम्पनीलाई प्रयोग गर्न सुमनको आग्रह छ।

‘एउटा सफ्टवेयरको कारण हामीले राम्रो सर्भिस दिइरहेका छौँ भने अरु ट्रान्सपोर्ट कम्पनीले पनि त्यो प्रयोग गरून् भन्ने हो’, उनी भन्छन्, ‘ट्रान्सपोर्ट कम्पनीको व्यक्तिगत सुरक्षा हुन्छ। सहज सेवा दिन सक्छन्।’

सुमन कार्गो व्यवसायमा कसैलाई विस्थापित गर्नभन्दा पनि ‘अपलिफ्ट’ गर्न आएको बताउँछन्। उनले ट्रान्सपोर्ट कम्पनीसँग जोडिन ‘उपाय एलाइन्स मुभमेन्ट’ सुरु गरेका छन्। यसमा सबैले उक्त सफ्टवेयर प्रयोग गरून् भन्ने उनको चाहना छ।  

‘व्यवसायलाई परिवर्तन गर्न उपायले मात्रै गरेर हुँदैन। सबैले गर्दा बल्ल परिवर्तन हुन्छ’, उनी भन्छन्, ‘जुनसुकै ट्रान्सपोर्टमा गए पनि सुविधा उस्तै हुन्छ। विश्वसनीयता जसले दिनसक्छ उसको बढी व्यवसाय हुन्छ।’ 

चालकलाई डिजिटल साक्षरता
काठमाडौंमा सुरु गरेका अन डिमान्ड सर्भिस बुटवल र पोखरामा विस्तार गरे। काठमाडौंबाहिर उपायलाई विस्तार गर्न युकेएड स्किलले सहयोग गर्‍यो। प्रविधिमा जोडिन राइडरलाई सहज नै भयो। ड्राइभरलाई जोड्न गाह्रो। 

‘पिकअप तथा ट्रकमा ३० देखि ५० वर्षसम्मका चालक छन्’, उनी भन्छन्, ‘उहाँहरुलाई प्रविधिको प्रयोग गर्न सिकाउनै गाह्रो भयो। युकेएड स्किलको सहयोगले तालिम दियौँ।’

चालकहरुलाई विश्वास नै थिएन। घरमै बसेर मोबाइलबाट धमाधम ट्रिप आउँछ भन्ने। सबै अझै कन्भिन्स भएका छैनन्। प्रायः ड्राइभरलाई एपमार्फत ट्रिप लिन मान्दैनन्। 

‘हामी ड्राइभरकहाँ एपमा बिड गरेर बस्छौँ भन्नुहुन्छ’, सुमन भन्छन्, ‘जसका ४–५ वटा ट्रक छन् उहाँहरुलाई सजिलो हुन्छ। स्वरोजगारलाई जोड्न चुनौती छ।’

उपायले चालकलाई प्रविधि एडप्ट गराएर कार्गो व्यवसायमा नयाँ  संस्कृतिको रुपमा विकास गर्दै छ। 

ट्रान्सपोर्ट कम्पनी र चालकलाई कन्भिन्स गर्न सबैभन्दा चुनौती देख्छन् उनी। 

‘हामीले कुनै बदनियत नराखी ट्रान्सपोर्ट इन्डस्ट्रीलाई अपलिफ्ट गर्नु छ’, सुमन अनुभव सुनाउँछन्, ‘ठूला ट्रक चालकले प्रविधि नै चलाउने बानी छैन। उनीहरुलाई सिकाउन युकेएड, युएसएड लगायतको सहयोग आवश्यक छ।’ 

नेपालमा रोजगारी सुरक्षाको विषयमा बहस नै हुँदैन। नयाँ प्रविधि एडप्ट गर्न नसक्दा पुराना चालक नै विस्थापित हुने अवस्था देख्छन् सुमन। सिकाउँदै गए चालकले सजिलै सिक्नेमा उनी विश्वस्त छन्। 

उनी भन्छन्, ‘प्रविधिको कारण बेरोजगार जन्माउनुहुँदैन भनेर हामी सजग छौँ। त्यसैले रिप्लेसमेन्टभन्दा संरक्षण सबैभन्दा उपयुक्त हुन्छ।’
नेपालको कार्गो व्यवसायमा इन्स्योरेन्स नहुँदा समस्या भइरहेको छ। कम्पनीहरुले लोकल फ्रेटको लागि इन्स्योरेन्स प्रोडक्ट नै बनाएका छैनन्। त्यसको लागि उपायले पहल गरिरहेको छ। 

सरकारले नयाँ प्रविधिमा नियमले बाँधिहाल्न नहुने पक्षमा छन् उनी। 

‘यो व्यवसाय कसरी चल्छ भन्ने नै स्पष्ट छैन। टीडीएस कर तिर्नुपरिरहेको छ। पहिला नगद कारोबार हुन्थ्यो। टीडीएस कसैले तिर्दैनथ्यो’, उनले भने, ‘हाम्रै कारण करको दायरा बढिरहेको छ। सरकारले करको दायरामा समेटिनेलाई सुरुमा कम टीडीएस लगाउनुपर्छ। ४–५ वर्षपछि बढाउँदा हुन्छ।’ 

१६५ जनालाई प्रत्यक्ष रोजगारी
उपायः सिटी कार्गो १८ साथीको व्यावसायिक सोचले पाएको मूर्त रुप हो। उनीहरुले सुरुमा यसका लागि केही बीउ पुँजी जम्मा गरेका थिए। नयाँ केही गर्ने सोचका साथ उनीहरुले उपाय बिजनेस सोलुसन सुरु गरेका थिए। 

ढुवानीका साधनले बिहान तरकारी, पानी, खाद्यान्न ढुवानीपछि विभिन्न ठाउँमा  गाडी ग्राहक कुरेर बसेको देखेपछि उनीहरुले त्यसको समाधान गर्न ‘उपाय’ निकालेका थिए। 

‘यसलाई प्रविधि प्रयोग गरी कसरी सहज बनाउन सकिन्छ भनेर लाग्यौँ’, सुमन सम्झिन्छन्, ‘इन्ट्रा सिटी (सहर भित्र) अन डिमान्ड सर्भिस सुरु गर्‍यौँ।’

उनीहरुले एउटा सफ्टवेयरको विकास गरेका छन्। जसको एप विकास गरी सहरभित्र ‘पिक एन्ड ड्रप’लाई सहज र व्यवस्थित बनाए। एपको माध्यमबाट ग्राहक र ढुवानीकर्ता जोडिए। मोटरसाइकलदेखि ट्रक एकै ठाउँ आए। यसले साना तथा मझौला व्यवसायी, थोक बिक्रेता, इकमर्स कम्पनी, सोसल कमर्स कम्पनी, कर्पोरेट हाउससम्मलाई एकै ठाउँ ल्यायो।  

ढुवानीका साधन चालकलाई डिजिटल साक्षरताको जरुरत थियो। त्यसको लागि एप कसरी चलाउने, ट्रिप आउँदा कस्तो हुन्छ, कसरी ट्रिप लिने तालिम दिए। डाटा प्याक कस्तो लिने, डिजिटल पेमेन्ट कसरी गर्ने लगायत सिकाए। योसँगै उनीहरुको व्यवसाय अघि बढेको थियो। उपायले अहिले फुडमान्डुसँग सहकार्य गरेको छ। 

‘बेलुकाको समयमा फुडमान्डुलाई राइडरको समस्या हुने। हाम्रा राइडर बेलुका फ्रि हुने’, सहकार्यबारे उनले भने, ‘फुडमान्डुमा अर्डर गरेको खाना उपाय कार्गोबाट घर–घरमा पुग्छ।’

उपाय कार्गो अहिले स्टार्टअपबाट परिपक्व कम्पनी भइसकेको छ। लजिस्टिक कम्पनीको रुपमा बजारमा परिचित छ।

१८ साथीमा अहिले चार्टर्ड एकाउन्टेन्ट सुमन उपाय सिटी कार्गोका प्रबन्धनिर्देशक हुन्। उनले स्मार्ट टेलिकममा प्रमुख वित्तीय अधिकृत (सीएफओ)को रुपमा पनि काम गरिसकेका छन्। 

कम्पनीमा प्रत्यक्षरुपमा उनीसँगै रञ्जीव श्रेष्ठ छन्। उपायले अहिले १६५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने अप्रत्यक्ष रुपमा ३ हजारलाई जोडेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .