कारोबार


प्राधिकरणले गरेको नाफा पूर्वाधारमा लगानी गर्छ : कुलमान घिसिङ

प्राधिकरणले गरेको नाफा पूर्वाधारमा लगानी गर्छ : कुलमान घिसिङ

नेपालखबर
भदौ १, २०७९ बुधबार १७:६, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणले गरेको पूर्वाधारमा लगानी गर्ने भएको छ। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३७औँ वार्षिक उत्सवको अवसरमा आयोजित प्राधिकरणको लगानी खपत बढाउने गरी संरचना विस्तार गर्नको लागि हुने बताएका हुन्। 

त्यस्तै प्राधिकरणले उत्पादन, खपत र निर्यात बढाउने रणनीतिमा काम गरिरहेको जानकारी दिए। नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले वृद्धि भएको छ। 

आर्थिक वर्ष २०७७/०७८ मा ६ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले आव २०७८/७९मा नाफालाई बढाएर १६ अर्ब ९ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ। 

प्राधिकरणको आव २०७८/७९को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। योसँगै सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ। 

‘ऊर्जा खपत २७ प्रतिशत वृद्धि हुँदा बिक्री आम्दानी बढ्यो, विद्युत निर्यात वृद्धि भयो, प्राधिकरणका स्वामित्वका विद्युतगृहरुबाट विद्युत उत्पादन करिब १६ प्रतिशतले बृद्धि गर्न सफल भयौँ, विद्युत चुहावट घट्यो, प्रभावकारी रुपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा  प्राधिकरणको खुद नाफा बढेको हो’, कार्यकारी निर्देशक घिसिङले भने।

आव २०७२/०७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ। आव ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै प्राधिकरणले नाफालाई आव ०७६/०७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको थियो। तर, आव २०७७/७८ मा घटेर ६ अर्ब १० करोड रुपैयाँमा झरेको थियो। 

विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुँदै गएपछि यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको वित्तीय अवस्थामा परेको घिसिङले बताउनुभयो । प्राधिकरणले विद्युत बिक्रीबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ। 

विद्युत महसुल संकलन विनियमावली वमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई करिब ९८ करोड रुपैयाँ छुट दिइएको छ। यसबाट विद्युत बिक्रीबाट ८७ अर्ब खुद आम्दानी भएको छ, जुन अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो। 

त्यस्तै नेपालको विद्युत  निर्यात गत आर्थिक वर्षमा करिब ३ अर्ब रुपैयाँ भएको छ। भारतमा बिजुली निर्यात भर्खर सुरु भएको र भविष्यमा बढ्ने उत्पादन तथा अतिरिक्त ऊर्जाको निर्यात बढ्ने आज आयोजित कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले बताएका छन्।  

उनले भने, ‘निर्यातमा हुने वृद्धिबाट विदेशी मुद्राको आम्दानी विस्तार हुने तथा शोधानान्तर सन्तुलनमा योगदान हुने छ।’ 

आव २०७८/७९मा भारतर्फको विद्युत निर्यात बढेको छ भने आयात घटेको छ । अहिले नेपालमा खपत गरी अतिरिक्त भएको  विद्युत दैनिक रुपमा करिब ३६४ मेगावाटदेखि करिब ४०० मेगावाटसम्म भारततर्फ निर्यात भइरहेको छ । आव २०७७/७८मा ४ करोड ४० लाख युनिट  विद्युत निर्यात भएकोमा आव २०७८/७९मा ४९ करोड ३० लाख युनिट निर्यात भएको छ। 

विद्युत निर्यातबाट प्राधिकरणले ३ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्षको तुलनामा आव २०७८/७९ मा आन्तरिक विद्युत खपत २१.२८ प्रतिशतले बृद्धि हुँदा समेत प्राधिकरण विद्युत आयातलाई घटाउन सफल भएको छ । 
आन्तरिक माग धान्न आव २०७७/७८मा २ अर्ब ८० करोड ६० लाख युनिट विद्युत आयात गरिएकोमा आव २०७८/७९मा ४५.०५ प्रतिशत घटेर १ अर्ब ५४ करोड ३० लाख युनिट मा झरेको छ। 

आव २०७७/७८मा २१ अर्ब ८२ करोड रुपैयाँको विद्युत आयात भएको थियो । आव २०७८/७९मा आयात घटेर १५ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ । प्राधिकरणले आयात गरेको विद्युतबाट निर्यात गरेको विद्युत घटाउँदा खुद आयात एक अर्ब ५ करोड युनिट हुन्छ ।  रकमका आधारमा ११ अर्ब ५८ करोड रुपैयाको मात्र खुद आयात भएको छ । प्रणालीमा उपलब्ध ऊर्जामध्ये खुद आयातको हिस्सा ९।४९ प्रतिशतमा झरेको छ । 

कार्यकारी निर्देशक घिसिङले चालु आवबाट खुद आयातको अन्त्य भई खुद निर्यात सुरु हुने बताए। आव २०७८/७९मा विद्युत पिक डिमाण्ड एक हजार सात सय ४७ मेगावाट पुगेको छ । विद्युत प्रयोग गर्ने ग्राहकको संंख्या सामुदायिकसहित ५३ लाख पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .