कारोबार


डिजिटल नेपाल निर्माणमा नियमनकारी निकायको भूमिका

डिजिटल नेपाल निर्माणमा नियमनकारी निकायको भूमिका

पुरुषोत्तम खनाल
साउन १, २०७९ आइतबार १६:२७, काठमाडौँ

विश्वमा डिजिटलाइजेसनको प्रवाह तीव्र गतिले भइरहेको अवस्थामा नेपालमा यसको प्रवाह आशातित रूपको गतिमा हुनसकेको छैन। यद्यपि हामी सम्पूर्ण सरोकारवालाहरु यसको दौडमा सामेल भएका छौँ र पछिल्ला वर्षहरुमा हामीले हासिल गरेको उपलब्धिबाट त्यति हतास हुनुपर्ने अवस्था पनि छैन। 

दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय रहेको कारणले हाम्रो उद्देश्य भनेको सम्पूर्ण नेपालीलाई यसको सञ्जालमा आबद्ध गर्नु हो अथवा कुनै पनि नागरिक यसको उपयोगबाट वञ्चित हुन नपरोस् भन्ने नै हो। आजभन्दा १० वर्ष जति पहिले दूरसञ्चार सेवा भ्वाइस र एसएमएस सेवाको लागि मात्र प्रयोग हुन्थ्यो भने आज आएर ब्रोडब्याण्ड  सेवा हाम्रो जीवनको अभिन्न अंग हुन पुगेको छ।

विश्वका धेरै देशहरुले ब्रोडब्याण्ड सेवामा नागरिकको पहुँचलाई सुनिश्चित गर्न यसलाई फन्डामेन्टल राइट्सको रूपमा घोषणा गरेका छन् र नेपाल सरकारले पनि इन्टरनेट सेवालाई अत्यावश्यक सेवाको रूपमा राखिसकेकोले फन्डामेन्टल राइट्सको रूपमा घोषणा गर्ने दिन त्यति धेरै टाढा छैन जस्तो लाग्दछ।

नेपालमा डिजिटल वस्तु तथा सेवा हरुको माग दिनानुदिन बढी रहेको छ। सार्वजनिक सेवाको डेलिभरी अनलाइन गर्ने क्रम बढी रहेको छ र यसको माग पनि त्यतिकै रूपमा अगाडि बढिरहेको छ। यसको लागि नियामक निकाय, सेवा प्रदायक र नीति निर्माता एक भएर सहकार्य गर्दै सम्पूर्ण नागरिकमा  ब्रोडब्याण्ड  सेवाको पहुँचको सुनिश्चितता गरिनुपर्दछ।

हाल नेपालमा मोवाइल ब्रोडब्याण्ड  सेवाको घनत्व करिव ९९ प्रतिशत र फिक्स्ड  ब्रोडब्याण्ड  सेवाको घनत्व ३० प्रतिशतभन्दा बढी छ। हाम्रो देशको भौगोलिक अवस्थालाई हेर्दा दुर्गम ग्रामीण क्षेत्रमा ब्रोडब्याण्ड सेवाको विस्तारको लागि  मोबाइल वा वायरलेस प्रविधि नै अत्युत्तम प्रविधिको रूपमा देखा परेको छ। 

नेपालका सबै स्थानहरुमा  ई. सं. २०२२ को अन्त्यसम्ममा फोरजी सेवा पु-याउने लक्ष्यका साथ सेवाको विस्तार भइरहेको छ भने यसमा सहजीकरणका निमित्त नेपाल दूरसञ्चार प्राधिकरणले पूर्वाधार सहप्रयोग विनियमावली लागु गरेको छ। यसैगरी इन्टरनेट सेवाको महशुल कम गर्न सबमारिन केबलसम्म पहुँच पुर्‍याउने, भर्चुअल ल्यान्डिङ स्टेसनको निर्माण गर्ने, थप इन्टरनेट एक्सचेन्ज प्वाइन्ट (आईएक्सपी) हरुको स्थापना गर्ने लगायतका कार्यहरु प्रारम्भ भएका छन्।

यसबाट  पूर्वाधारको सहप्रयोग हुन गइ पूर्वाधार निर्माणमा सेवा प्रदायकको खर्च न्यून हुन गई सेवा विस्तारको कार्यमा सेवा प्रदायकलाई  थप प्रोत्साहन हुन गइ सेवा विस्तारको कार्य थप प्रभावकारी हुनेछ भने सेवाको लागत न्यून गर्न मद्दत पुग्नेछ। 

प्राधिकरणले ग्रामिण दूरसंचार विकाश कोष समेतको परिचालन गरी प्रत्येक स्थानीय तहसम्म इन्टरनेटको पूर्वाधार विस्तार गरेबाट काठमाडौं उपत्यका बाहेकका ७०६ स्थानीय तहको कार्यालय, ५,८९९ वडा कार्यालय, ५,२९९ सामुदायिक माध्यमिक विद्यालय, ४,२३७ सामूदायिक स्वास्थ्य चौकी/ केन्द्र/ अस्पतालहरु गरी जम्मा १६,१४१ स्थानहरुमा ब्रोडब्याण्ड  सेवा पुर्‍याइसकेको छ।

यसैगरी सबै स्थानीय तहसँग समझदारी गरी राज्यका सम्पूर्ण  आधारभूत सामुदायिक विद्यालयहरुमा आगामी आर्थिक वर्षभित्र नै ब्रोडब्याण्ड  सेवा पुर्‍याउने गरी धमाधम  कार्यहरु  अगाडि बढिरहेको छ। भूकम्प प्रभावित ८ जिल्लाहरुमा समेत ब्रोडब्याण्ड  सेवाको स्तरोन्नतिका कार्यहरु अगाडि बढाइएको छ। यसबाट प्रत्येक घर धूरीमा इन्टरनेटको पहुँच सम्भव भएको छ भने मोवाइल सेवाको विस्तारले प्रत्येक नागरिकको हातमा मोबाइल फोन सम्भव भएको छ। 

दूरसञ्चार सेवाका गुणस्तर सुधार नगरी सेवा विस्तार मात्र पर्याप्त हुँदैन। प्रधिकरणले नियमित रूपमा सेवाको गुणस्तर परिक्षण गर्न ड्राइभ टेस्ट गर्दा सन्तोषजनक नतिजा प्राप्त भएको छैन। तसर्थ म सेवा प्रदायकलाई आफ्नो सेवाको गुणस्तर अभिवृद्धि गर्न अनुरोध  गर्दछु। साथै देशका अन्य स्थानहरुमा समेत ड्राइभ टेस्ट गर्ने कार्यलाई थप विस्तार गरिने सेवा प्रदायकलाई सेवा सुधार गर्न लगाइनेछ भने नागरिकलाई आफूले प्राप्त गर्दै आएको सेवाको गुणस्तरबारे सुसूचित हुने अवसर प्राप्त हुनेछ।

उपभोक्ताहरुले सजिलैसँग निःशुल्क गुनासो गर्न सकून् भनेर सबै सेवा प्रदायकहरुलाई टोल फ्रि नम्बर राख्न अनिवार्य गरिएको छ भने मोबाइल एप, टेलिफोन, इमेल र सामाजिक सञ्जालबाट समेत उपभोक्ताहरुको गुनासोहरुको संकलन तथा व्यवस्थापन गर्दै आइएको छ।

डिजिटलाइजेसनको बेसिक फाउन्डेसन भनेको गुणस्तरीय ब्रोडब्याण्ड सेवामा सम्पूर्ण नागरिकको पहुँचको सुनिश्चितता नै हो भन्ने कुरामा सायद दुई मत नहोला। डिजिटल ट्रान्सफरमेसनको बारेमा छलफल हुँदै गर्दा म सम्पूर्ण सेवा प्रदायकहरु, आईसीटी स्टेकहोल्डरहरुलाई हाम्रो भौगोलिक कठिनाइका बाबजुद पनि राष्ट्रको डिजिटलाइजेसनको मूलधारमा सम्पूर्ण ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई समेत यसको मूलप्रवाहमा समावेश गर्न एक पटक गम्भीर भएर सोचिदिन आग्रह गर्दछु। 

(हुवावे डिजिटल नेपाल कन्क्लेभमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले राखेको मन्तव्यमा आधारित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad