गभर्नरमाथिको पूर्वाग्रही कारबाही गैरकानुनी हुने कुरा नेपाली कांग्रेसले कहिल्यै नचेतेको पूर्वमन्त्रीले आरोप लगाएका छन्।
पूर्वअर्थमन्त्री युवराज खतिवडाले कांग्रेस सरकारकै पालामा पहिलेका २ गभर्नरहरुमाथि यसैगरी कारबाही गरिएको बताउँदै पछि इज्जतका साथ अदालतको निर्णयबाट राष्ट्र बैंकमा फर्काएको बताएका हुन्।
२०५८ सालको राष्ट्र बैंक ऐनपछि केन्द्रीय बैंकलाई स्वायत्त मात्रै नभई जिम्मेवार पनि बनाइएको उनको भनाइ छ। गभर्नरले अक्षम्य अपराध नगरुन्जेल कारबाही गर्न नपाइने उनको तर्क छ।
‘कांग्रेसले गभर्नर हटाएपछि बैंकमा नोट छाप्न नपाएर अर्थतन्त्र कसरी संकटमय भएको थियो’, खतिवडाले भने, ‘नोट छाप्न नपाउँदा तत्कालीन राजा ज्ञानेन्द्रको श्रीपेच र भारु मुद्रा थिए।’
उनले सरकारले श्रीपेच भएका नोट हटाउनु भनिसकेको थियो तर राष्ट्र बैंकसँग नयाँ नोट नै थिएन।
‘मन्त्रिपरिषदले फेरि श्रीपेच भएका नोट चलाउने निर्णय गरेको थियो’, उनले भने।
सरकारले बिग्रिँदै गएको अर्थतन्त्र जोगाउन सबै निकायसँग छलफल गरी अघि बढ्नुपर्नेमा गभर्नरलाई हटाउनेतर्फ लागि आपत्तिजनक मात्रै नभई निन्दनीय निर्णय गरेको उनले बताए।
‘अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीले गलत नीति लिए। वित्तीय अपचलनको काम गर्न प्रोत्साहन गरेको छ’, खतिवडाले भने।
Shares

प्रतिक्रिया