सर्लाहीको हरिवनमा रहेकाे इन्दु शंकर चिनी उद्योगले चालु सिजनको अहिलेसम्म किसानलाई एक अर्ब ३७ करोड तीन लाख रुपैयाँ भुक्तानी गरेको छ।
गएको मंसिर २७ गतेदेखि सञ्चालनमा आएको इन्दु शंकरले बुधबार (फागुन १४ गते) सम्म किसानलाई १ अर्ब ३७ करोड भन्दा धेरै रकम भुक्तानी गरेकाे उद्योगका प्रमुख प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिए।
‘फागुन १४ गतेसम्म उद्योगले २६ लाख ५१ हजार चारसय क्विन्टल उखु क्रसिङ गरेको छ,’ नेपालले नेपालखबरसँग भने, ‘यो फागुन मसान्तसम्म उद्योग चल्ने अनुमान हामीले गरेका छौँ।’
इन्दु शंकरले सरकारले दिने अनुदान रकमबाहेक उद्योगको तर्फबाट किसानलाई दिनुपर्ने प्रतिक्विन्टल पाँचसय ८५ रुपैयाँका दरले एक सातामै भुक्तानी गर्दै आएको छ।
‘हामीले किसानको भुक्तानी रोकेका छैनौँ,’ उनले भने, ‘क्रसिङ भएको उखुको एक सातामै भुक्तानी दिने गरेका छौँ। तुरुन्तै भुक्तानी पाउँदा किसान पनि खुसी भएका छन्।’
इन्दु शंकरले यस वर्ष ३० लाख क्विन्टलभन्दा धेरै उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ। यो लक्ष्यमा थोरै तलमाथि भए पनि यसवर्ष ३० लाख क्विन्टलभन्दा बढी नै उखु क्रसिङ हुने नेपालले बताए।
गत वर्ष इन्दु शंकरले २९ लाख क्विन्टलभन्दा धेरै उखु क्रसिङ गरेको थियो। विगत केही वर्षदेखि इन्दु शंकरले उखु क्रसिङ बढाउँदै लगेको छ।
सरकारले गतवर्ष किसानले पाएको मूल्यमा प्रतिक्विन्टल २० रुपैयाँ थप गरेर चालु सिजनको लागि उखुको समर्थन मूल्य निर्धारण गरेको छ।
यस वर्ष उखुको मूल्य (सरकारले दिने अनुदान बाहेक) प्रतिक्विन्टल पाँचसय ८५ रुपैयाँ निर्धारण गरिएको छ। गत वर्ष उद्योगीले किसानलाई उखुको मूल्य प्रतिक्विन्टल पाँचसय ६५ रुपैयाँ दिएका थिए।
यस वर्ष प्रतिक्विन्टल पाँचसय ८५ रुपैयाँ उद्योगले किसानलाई दिने मूल्य हो। यसमा सरकारले दिने अनुदानको रकम जोडिएको छैन।
गत गर्ष सरकारले किसानलाई उखुमा प्रतिक्विन्ल ७० रुपैयाँ अनुदान दिएको थियो। गएको सिजनमा सरकारी अनुदानसहित किसानले उखुको मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ पाएका थिए। तर, यस वर्ष सरकारले किसानलाई कति रुपैयाँ अनुदान दिन्छ, टुंग्याएको छैन।
सरकारले गत वर्ष जतिनै अनुदान दिए यस वर्ष किसानले उखुको मूल्य प्रतिक्विन्टल ६ सय ५५ पाउने छन्।
Shares

प्रतिक्रिया