कारोबार


‘हाइब्रिड’ले खायो रैथाने बाली

‘हाइब्रिड’ले खायो रैथाने बाली

नेपालखबर
असार २१, २०८२ शनिबार ९:५६, पाल्पा

पाल्पाका किसान पछिल्लो समय खेती लगाउने सयममा उन्नत जातका बिउप्रति आकर्षित भएपछि रैथाने बाली सङ्कटमा पर्दै गएका छन्। उत्पादन बढी हुने र छिटो फल्ने हुँदा यहाँका किसान परम्परागत रैथाने बिउ छोडेर उन्नत जातका बिउ (हाइब्रिड) प्रति आकर्षित भएका हुन्।

तानसेनको दमकडाकी सीतादेवी गौतमले पहिले–पहिले धान, मकै, प्याज, मूलाजस्ता कृषि उपजको रैथाने बिउ घरमै उत्पादन गर्ने गर्थिन्। उनकोमा बिउ लिन जिल्लाका विभिन्न ठाउँबाट किसान त्यहाँ पुग्ने गर्ने तर हिजो आज भने बजारमा नै पाइने बिउ ल्याएर किसानले लगाउन थालेपछि भने गौतम कहाँ बिउ लिन कोही पनि आउँदैनन्। किसानले उन्नत जातका बिउ ल्याएर लगाउन थालेपछि आफूले अहिले बिउ घरमा राख्न छोडेको उनी बताउँछिन्। 

बर्खामा धान खेतीले भरिभराउ देखिने माथागढीका देउगीर, झडेवा, चिदीपानी, पूर्वखोलाका जल्पा, रिङ्नेरहजस्ता ठाउँमा मङ्सिर लाग्दा नलाग्दै खनजोत गरेर ठिकठाक हुन्थ्यो। कतै मुला, व्याजका बिरुवा त कतै सेतो केराउ लगाउन किसानलाई भ्याइनभ्याइ हुन्थ्यो। अहिले भने यहाँका खेत किसानका लागि बिरानो जस्तै बनेका छन्। रैथाने बिउ बेचेरै किसानको गुजारा चलेको थियो। 

पछिल्लो समय हाइब्रिडले बजार ओगटेपछि यहाँको स्थानीय जातको बिउ उत्पादन हुन छाडेको छ। बिउ किन्न किसानको घरदैलोमै पुग्ने व्यापारी हाइब्रिडमा आकर्षित हुन थालेपछि उत्पादन गर्न छाडेको किसान बताउँछन्। स्थानीय जातभन्दा हाइब्रिड सस्तो भएपछि खेती छाडेको  देउगीरका किसान जीवन रायमाझी बताउँछन्।

पाँच वर्ष अघिसम्म लाखौँको मुला, प्याजको बिउ उत्पादन हुने यहाँका खेत आजभोलि किसानका लागि बिरानो बनेको उनी सुनाउँछन्। 

निस्दी गाउँपालिका मित्यालका धनबहादुर ठाडा भन्छन् ‘पहिले–पहिले बारीमा पाइने सानो तितोकरेलाको बिउ नै पाइन छाड्यो। बिउ हराएसँगै सानो डल्ले प्रकृतिको करेलो नै हरायो। जब बजारमा लामा लामा बिउ आउन लागेपछि करेला मात्र होइन टमाटरको बिउ पाइन छाड्यो।’ 

वैशाखमा बारीमा मकैसँग छरिने काँक्रो पनि हरायो। बिउ राख्ने चलन नै हरायो। बजारमा धेरै फल्ने हाइब्रिड जातको बिउ आउन लागेपछि स्थानीय रैथाने जातको बिउ नै हरायो। यो अत्यन्त दुःखद कुरा भएको स्थानीय लालबहादुर सोती बताउँछन्। ‘टमाटर, खुर्सानी, भिण्डी, भाण्टा, मुलाजस्ता स्थानीय जातका बिउ गाउँमा राख्न छाडेपछि बाली नै हरायो’, उनले भने। 

पहिलापहिला घरायसी प्रयोजनका लागि लगाइने अकबरे खुर्सानीको बिउसमेत हराउँदै गयो। पुरानो बिउ हराएपछि पनि बजारका बिउका कारणले पनि मूल्यमा ह्रास आएको रैनादेवी छहरा गाउँपालिका मुझुङका रमेश कार्कीले बताए।

कालानमक, झिनुवा, कृष्णभोग, अनदी, समुद्रफिनी, मन्सरा, लल्का बासमती, पोखरेली मसिनोजस्ता रैथाने बास्नादार र स्वादिलो चामल अचेल सितिमिति भेटिंदैन। बोडी–सिमीका स्थानीय जात, मसिना चुच्चे करेला, रैथाने काँक्रो, रायो, ठूल्ठूला झाल हुने स–साना गोलभेँडा, कुभिण्डो, पाटे घिरौंलो, घैया धान, रातो चामल हुने सिम्ठारो धान, सेतो मकै, रैथाने मास–मस्याङ–गुराँस–भटमास पनि भेट्न मुश्किल पर्छ। 

यस्तो किन भइरहेको छ, बुझन गाह्रो छैन। खाने मुख र बजारको माग बढेपछि धेरै अनाज र तरकारी फलाउनुपर्ने बाध्यताले किसानलाई ‘विकासे’ बिउ लगाउन हौस्याएको हो। कृषि प्राविधिक आरसी चौधरीभने किसानले कम उत्पादन हुने रैथाने छाडेर धेरै फल्ने वर्णसंकर बिउ लगाउनुलाई स्वाभाविक नै ठान्छन्। ‘रैथाने जातको संरक्षण गरिदिने काम किसानको होइन, सरकारको हो’, उनी भन्छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad