कारोबार


घोराहीका जुठेलाई तिहारका लागि मादल बनाउन भ्याइनभ्याइ

घोराहीका जुठेलाई तिहारका लागि मादल बनाउन भ्याइनभ्याइ

नेपालखबर
कात्तिक १७, २०८१ शनिबार ११:२८, दाङ

दाङको घोराही उपमहानगरपालिका(१४ झिंगौराका जुठे बादीलाई हिजोआज मादल बनाएर बिक्री गर्न भ्याइनभ्याइ छ। दशैँ र तिहारका लागि नयाँ मादल बिक्री र पुरानाको मर्मत गरी  डेढ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको उनी बताउँछन्।   

पछिल्लो समय नयाँ मादल खरिद गर्ने भन्दा पुराना मादल खरिदका लागि आउने गरेको उनले सुनाए। ‘पुराना मादल मर्मत गर्दा कम समयमा पनि राम्रो आम्दानी हुने गर्दछ। अरू वेला सुनसान हुने हाम्रो व्यवसाय दशैँतिहारको अवसरमा बढोत्तरी हुन्छ। दशैँमा नाच्ने र तिहारमा देउसी–भैलो खेल्नका लागि मादलको माग बढी हुने गरेको छ। जसले गर्दा राम्रो आम्दानी हुन्छ’, बादीले भने। 

आम्दानी मात्रै होइन आफ्नो पुस्ताले यो पेशा नै संरक्षण गरिरहेको उनको भनाइ छ। ‘पछिल्लो समय मादल बनाउन जानेको मानिस पाउन समस्या छ। मैले सानैमा बुबाबाजेबाट मादल, बाँसुरी र ढोलक बनाउन सिके, त्यही सीपले अहिले दैनिकी चलाइरहेको छु’, बादी भन्छन्,‘तर अहिलेको पुस्तामा मादल बनाउने सिप छैन। न आकर्षण छ।’

घोराहीमा ५० वर्षदेखि निरन्तर मादल बनाउने र बिक्री गरेर आयआर्जन भइरहेको बताउने उहाँ यही कर्मले घरपरिवारको सम्पूर्ण गर्जो टार्ने काम भइरहेको बताउँछन्। ‘हाम्रो अरू पेसा सङ्कटमा पर्‍यो। समय बदलिँदै जाँदा यो पेसा पनि बिस्तारै हराउला तर पनि त्यो सिप भएकाले हाल हातमुख जोर्न सहज भएको छ। योभन्दा अरू सिप पनि छैन। उमेरले साथ दिएसम्म आफ्नो पेसा छोड्ने मन छैन’, उनको कथन छ।

मादल बनाउने मानिसको अभावसँगै काठ, छाला र खरी लगायत सामग्री पाउनै समस्या भएको जुठे बादीले समस्या सुनाए।

‘चाडपर्वको समय छ। नयाँ मादल किन्न र पुराना मादल मर्मतका लागि आजभोलि दैनिक १५र२० जना आउने गरेका छन्। तर एक्लै भएकाले काम गर्न समस्या छ। त्यसैमा आवश्यक सामाग्री पनि सजिलै पाइँदैनन्। त्यसैले यो वेला मागअनुसार काम गर्न कठिन छ’, उनी भन्छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad