कारोबार


कोसी प्रदेशमा ‘जेनजी उद्यमी’को वर्चस्व, आईटी र होटल व्यवसायले तान्यो

कोसी प्रदेशमा ‘जेनजी उद्यमी’को वर्चस्व, आईटी र होटल व्यवसायले तान्यो

नेपालखबर
पुस २२, २०८२ मंगलबार १५:२९, काठमाडौँ

कोशी प्रदेशका स्टार्टअपमा ‘जेनजी उद्यमी’हरूको वर्चस्व बढेको छ।

विशेषगरी सूचना प्रविधि तथा होटल व्यवसायमा युवाहरूको आकर्षण बढेको देखिएको हो।

नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणमा स्टार्टअप क्षेत्रमा युवाहरूको सहभागिता गत वर्षहरूभन्दा बढेको देखिएको छ। 

राष्ट्र बैंकले कोशी प्रदेशमा मात्रै गरेको सर्वेक्षणमा २१ वर्षदेखि ३५ वर्ष उमेर समूहका ३४.३ प्रतिशत युवाहरूले सूचना प्रविधि, उत्पादनमूलक, सेवा, पर्यटन, कृषि तथा वनजन्यसम्बन्धी स्टार्टअप सञ्चालन गर्दै आएको उल्लेख छ। 

यस्तै ३६ वर्षदेखि ५० वर्ष उमेर समूहको व्यावसायिक सहभागिता भने कृषिबाहेकका अन्य क्षेत्रमा घट्दै गएको छ। सर्वेक्षणअनुसार यी समूहका ५६.१ प्रतिशतले कृषि तथा वनजन्य स्टार्टअप सञ्चालन गर्दा सूचना प्रविधिमा भने २५.७ प्रतिशत मात्रै सहभागिता देखिएको छ।

यस्तै २१ वर्षदेखि ३५ वर्ष उमेर समूहको पनि कृषि क्षेत्रमा २१.२ प्रतिशत मात्र सहभागिता पाइएको छ।

अध्ययनअनुसार यो समूहले सूचना प्रविधिसँगै उत्पादनमूलक, सेवा, पर्यटन क्षेत्रमा पनि नेतृत्व गरिरहेको देखिएको छ। यो समूहका ८४.३ प्रतिशतले उत्पादनमूलक क्षेत्रमा स्टार्टअप सञ्चालन गरिरहेकोमा ३६ वर्षदेखि ५० वर्ष उमेरका ४१.४ प्रतिशतले यो क्षेत्रमा स्टार्टअप सञ्चालन गरिरहेका छन्।

यसैगरी पर्यटन क्षेत्रमा पनि यी उमेर समूहहरूको सभागिता क्रमशः ३१.८ प्रतिशत, ४० प्रतिशत रहेको छ। समग्रमा भने ३६ वर्षदेखि ५० वर्ष समूहका व्यक्तिहरू स्टार्टअप क्षेत्रमा थोरैले अगाडि देखिएका छन्। यी समूहका ४४.४ प्रतिशतले स्टार्टअप सञ्चालन गर्दा ३९.४ प्रतिशत २१ देखि ३५ वर्ष उमेर समूहकाले सञ्चालन गरिरहेका हुन्।

 

योबाहेक ५० वर्षदेखि ७० वर्ष उमेर समूहको भने कृषि तथा वनजन्यबाहेकका स्टार्टअपमा खासै सहभागिता देखिएको छैन। कृषि तथा वनजन्य क्षेत्रमा यो समूहको सहभागिता २२.७ प्रतिशत हुँदा पर्यटन क्षेत्रमा २७.३ प्रतिशत, उत्पादनमूलकमा १०.३ प्रतिशत र सेवामा ७.२ प्रतिशत देखिएको छ।

यो उमेर समूहले भने सूचना प्रविधि क्षेत्रमा स्टार्टअप सञ्चालन नगरेको तथ्यांकले देखाएको छ। समग्रमा स्टार्टअपमा यो उमेर समूहको सहभागिता १६.२ प्रतिशत देखिएको हो।

डिजिटल र प्रविधिकेन्द्रित युवापुस्ता
प्रतिवेदनले युवापुस्ताले डिजिटल र प्रविधिकेन्द्रित उद्यममा रुचि राखेको देखाएको हो। जसमा प्लसटु सकेर स्टार्टअप सञ्चालन गर्नेहरू बढेको देखिएको छ। प्लसटु सकेका ३३ प्रतिशतले स्टार्टअप सञ्चालन गरिरहँदा स्नातक सकेकाको सहभागिता २५ प्रतिशत छ। 

स्नातकोत्तर सकेका १३.१ प्रतिशत हुँदा साधारण लेखपढ मात्रै गर्नेहरू २५ प्रतिशत छन्। प्रोफेसनलमध्ये ३ प्रतिशतले भने स्टार्टअप उद्यम गरिरहेको भेटिएको छ। 

प्रतिवेदनले अधिकांश २१ देखि ३५ वर्ष उमेर समूहका युवाहरूमध्ये ५३ प्रतिशतले स्नातक गरेर सूचना प्रविधि क्षेत्रमा स्टार्टअप सञ्चालन गरेको भेट्टाएको हो। 

सूचना तथा वनजन्य, सूचना प्रविधि, उत्पादनमूलक र सेवामूलकमध्ये पढेर स्टार्टअप गर्नेहरू भने सेवामूलकमा धेरै छन्। यो क्षेत्रमा साधारण लेखपढ गर्नेहरूको संख्या १०.७ प्रतिशत रहँदा प्लसटु गरेकाहरू २८.६ प्रतिशत, प्रोफेसनलतर्फ १०.७ प्रतिशत, स्नातक गरेका ३१.१ प्रतिशत र स्नातकोत्तर गरेका १७.९ प्रतिशत छन्। 

स्टार्टअपहरू उदयसँगै विलय पनि तीव्ररुपले हुँदै आएको छ। जुन कोशी प्रदेशका स्टार्टअपको अवस्थाले पनि देखाएको छ। यो क्षेत्रमा पछिल्लो बर्ष सञ्चालनमा आएको ३ वर्षभित्र बन्द हुने स्टार्टअपको संख्या क्रमशः बढ्दो छ। 

राष्ट्र बैंकका अनुसार ३ वर्षमै स्टार्टअप बन्द गर्ने ४०.६ प्रतिशत हुँदा ३८.८ प्रतिशतलले ४ देखि ६ वर्षसम्म सञ्चालन गरेको भेटिँदा २०.६ प्रतिशतले मात्रै ७ देखि १० वर्षसम्म सञ्चालन गर्ने गरेको तथ्यांकमा उल्लेख छ। 

सूचना प्रविधि क्षेत्रमा भने ३ वर्षसम्म सञ्चालन गर्ने २६.७ प्रतिशत हुँदा ४ देखि ६ वर्षसम्म सञ्चालन गर्नेहरू ५३.३ प्रतिशत छन्। बाँकी २० प्रतिशतले भने ७ देखि १० वर्षसम्म सञ्चालन गर्ने गरेको पाइएको छ। 

समग्रमा कृषि तथा वनजन्य, सूचना प्रविधि क्षेत्रमा अधिकतम ६ वर्षसम्म स्टार्टपअ सञ्चालनमा रहने गरेको देखिएको हो। अन्य क्षेत्रमा भने स्टार्टअपहरू खुलेको छोटो समयमा नै बन्द हुनपुगेको तथ्यांकमा उल्लेख छ।

८० प्रतिशतले गरे नाफा
कोशी प्रदेशको १६० वटा स्टार्टअपमा गरेको सर्वेक्षणमा ८० प्रतिशतले नाफा गरिरहेको उल्लेख छ। प्रतिवेदनका अनुसार ८० प्रतिशत स्टार्टअपले नाफा गर्दा २० प्रतिशतको भने नोक्सानी भएको देखिएको हो। 

जसमा सबैभन्दा धेरै नाफा कृषि तथा वनजन्य सम्बन्धित स्टार्टअपहरुले नाफा गरेको देखिन्छ। यो क्षेत्रका स्टार्टअपको ८६.४ प्रतिशतसम्म नाफा देखिँदा १३.६ प्रतिशतले नोक्सान व्यहोरेको प्रतिवेदनमा उल्लेख छ। 

सूचना प्रविधिमा भने ६० प्रतिशतले नाफा कमाउँदा ४० प्रतिशतले नोक्सानी व्यहोरेका छन्। 

यस्तै सेवामूलक स्टार्टअपमा पनि ८२.१ प्रतिशतले नाफा कमाउँदा १७.९ प्रतिशतले नोक्सानी व्यहोरेका छन् भने पर्यटन क्षेत्रका स्टार्टअपमा ७२.७ प्रतिशतले नाफा कमाउँदा २७.३ प्रतिशतले नोक्सानी व्यहोरेको देखिएको हो। 

पाँच क्षेत्रका १६० वटा स्टार्टअपले २ अर्ब २४ करोडबराबरको लगानीबाट १२ करोड ९२ लाखबराबरको नाफा गरेको उल्लेख गरेको छ। 
यस्तै क्षेत्रगत हिसाबमा भने सूचना प्रविधि क्षेत्रले सबैभन्दा धेरै नाफा गर्ने गरेको भेटिएको छ।

अध्ययन प्रतिवेदनले युवाहरुलाई स्टार्टअपप्रति आकर्षण बढाउँदै व्यवसायीकरणमा लैजान पनि संघीय सरकार, स्थानीय सरकार र निजी क्षेत्रले संयुक्त रुपमा पहल गर्न सुझाएको छ। 

प्रतिवेदनले स्टार्टपमा लगानी गर्ने भेन्चर क्यापिटल, एञ्जल लगानीकर्ता आदिजस्ता वैकल्पिक वित्तीय स्रोत प्रदायकहरूलाई प्रोत्साहन गर्न, यसका लागि कर छुट, लगानी सुरक्षाका उपाय र सहज कानुनी प्रक्रिया लागू गरी यस्ता संस्थाहरूको विकास र सक्रियतालाई बढाउन संघीय सरकारले सहयोग गर्नुपर्ने सुझाव दिएको छ। 

प्रदेश र स्थानीय सरकारलाई भने निजी क्षेत्र तथा विश्वविद्यालयसँगको सहकार्यमा स्टार्टअप इन्क्युबेसन सेन्टर तथा व्यवसाय विकास परामर्श सेवा केन्द्र सञ्चालन गर्न सुझाइएको छ। स्टार्टअपमा लगानी गर्न प्रोत्साहन गर्नका लागि कर्जा प्रवाहमा सरलीकरण गर्न बैंक तथा वित्तीय सस्थालाई आग्रह गरिएको छ। प्रतिवेदनले अधिकांश स्टार्टअप व्यवसायीहरुलाई कर्जाको बारेमा जानकारी नहुने हुँदा बैंक तथा वित्तीय संस्थाहरुले आन्ट्रप्रेनर्सिप सपोर्ट डेस्क राख्न पनि सुझाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad