कारोबार


मोरङमा धान उत्पादन घट्यो, मूल्य पनि बढेन

मोरङमा धान उत्पादन घट्यो, मूल्य पनि बढेन

नेपालखबर
मंसिर २८, २०८२ आइतबार ९:३, काठमाडौँ

मोरङमा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घटेको छ। धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो।

मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले धानखेतीमा क्षति पुग्दा उत्पादन घटेको आकलन रहेको बताए । गतवर्ष जिल्लामा तीन लाख ३९ हजार तीन दशमलव ४५ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष तीन लाख ३६ हजार ९१९ दशमलव ४१ मेट्रिक टन उत्पादन भएको उहाँले जानकारी दिए।

गतवर्ष प्रतिहेक्टर चार दशमलव ८८ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष प्रतिहेक्टर चार दशमलव ८५ मेट्रिक टनमात्र उत्पादन भएको हो । यस वर्ष जिल्लामा ६९ हजार ४६७ दशमलव ९२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको तथ्याङ्क छ।

‘खेतीयोग्य जमिन आसपासका खोलानाला मास्ने क्रम बढ्दो भएकाले पानीको निकास हुन सकेन र पाकेको धानमा बढी क्षति पुगेर उत्पादन घटेको हुनसक्ने हाम्रो अनुमान छ’, कृषिविज्ञ राजेन्द्र उप्रेतीले बताए। उनले यसवर्ष धान राम्रो उत्पादन भए पनि थन्क्याउने समयमा बेमौसमी वर्षाले असर पुगेको बताए।

बेलबारी–११ भाङबारीका वीरेन्द्र खत्रीले करिब छ बिघा जमिनमा लगाएको धानखेतीमा करिब ९० मन धानमा बेमौसमी वर्षाले क्षति पुगेको बताए। धानमा क्षतिसँगै मूल्यमा पनि गिरावट आएकाले किसान चिन्तित हुनुपरेको खत्री बताउँछन्।

यस वर्ष धानको बजार मूल्य प्रतिमन रु एक हजार २०० देखि रु एक हजार ३०० सम्म रहेको उनले सुनाए। गतवर्ष मङ्सिरमा धानको बजार मूल्य प्रतिमन रु एक हजार ७०० देखि रु एक हजार ८०० सम्ममा कारोबार भएको खत्रीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad