कारोबार


लेदुवा खोलाको पुल सात वर्षदेखि अलपत्र

लेदुवा खोलाको पुल सात वर्षदेखि अलपत्र

नेपालखबर
असोज ८, २०८२ बुधबार ६:१९, सुनसरी

धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँमा रहेको लेदुवा खोलामा पुल निर्माण सुरु भएको सात वर्ष भयो। सम्झौताअनुसार चार वर्षअघि नै निर्माण सकिनुपर्नेमा हालसम्म पुल निर्माण पूरा भएको छैन । पुल नबन्दा स्थानीयवासीले सास्ती भोग्नु परिरहेको छ।

पुल निर्माणका लागि विसं २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबिच रु एक करोड २१ लाख ८६ हजार आठ सय १३ को लागतमा सम्झौता भएको थियो । सम्झौताअनुसार विसं २०७८ साउन ७ गतेभित्र पुलको निर्माण पूरा हुनुपर्ने थियो।

यद्यपि पुल निर्माण अहिले ५० प्रतिशत मात्रै पूरा भएको धरान उपमहानगरपालिका–५ का अध्यक्ष मनप्रसाद लिम्बूले बताए । उनका अनुसार दुवैतर्फका पिलरहरू उठाइए अहिले सबै झाडीले ढाकिसकेको छ । अरू संरचनात्मक काम अलपत्र अवस्थामा छन्। 

पुल नबन्दा धरान उपमहानगरपालिका–५ र ४ का साथै धरान बजारसँगको आवतजावतमा समस्या भएको छ । बर्खामा खोलामा आउने बाढीले गाउँलेहरू ज्यानको जोखिम मोलेर खोला पार गर्न बाध्य छन्। “बिरामी परे अस्पताल पुर्‍याउन कठिन हुन्छ, बाँसको अस्थायी पुल बनाउने प्रयास गरे पनि बाढीले भत्काइदिन्छ”, अध्यक्ष लिम्बूले भने।

स्थानीय नरबहादुर मगरका अनुसार खोला तरेर विद्यालय जानुपर्ने बालबालिका बर्खामा झन् समस्यामा पर्छन् । बाढीको बेला बालबालिका खोलाको किनारमा घण्टौसम्म बस्नुपर्छ। “गाउँमा उत्पादन भएको कृषि उपज धरान लैजानका लागि पनि समस्या छ, पुल निर्माण भए सहज हुन्थ्यो भन्ने अपेक्षा छ”, उनले भने। 

धरान–५ मा कक्षा ५ सम्म मात्रै पढाइ हुने विद्यालय छ । कक्षा ६ देखि माथिल्लो कक्षा पढ्न खोलापारिको धरान बजार पुग्नुपर्छ । मनटार, सुमनटार, मुक्तिलाल, निशान डाँडा र तल्लो निशान डाँडाका विद्यार्थीहरू दैनिक जोखिम मोलेर विद्यालय जान बाध्य छन् ।

पटक–पटक म्याद थप्दा पनि ठेकेदार कम्पनीले काम नगरेको गुनासो स्थानीयको छ। गत चैत १२ गते ठेकेदारलाई बोलाएर “जेठ मसान्तसम्म काम सक्ने गरी सहमति गरायौँ, तर अहिले त सम्पर्कमै छैन”, अध्यक्ष लिम्बूले भने।

पुल निर्माणका विषयमा गत चैतमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले स्थलगत अनुगमन गरेका थिए । मन्त्री राईका अनुसार काम नगर्ने ठेकेदार कम्पनीको ठेक्का रद्द गरेर धरौटी जफत गर्ने प्रक्रिया सुरु गरिएको थियो । तर ठेकेदार कम्पनीले अदालतबाट स्टे–अर्डर लिएपछि काम अघि बढ्न नसकेको उनको भनाइ छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad