कारोबार


महिलाले चलाएको सामुदायिक होमस्टे: मिलेर उत्पादन गर्छन्, बाँडेर खान्छन्

महिलाले चलाएको सामुदायिक होमस्टे: मिलेर उत्पादन गर्छन्, बाँडेर खान्छन्

सुमन सुस्केरा
चैत २८, २०८१ बिहिबार १०:११, इलाम

इलामकाे सूर्योदय नगरपालिका वडा नम्बर - ११ पञ्चकन्या करफोककी कोपिला पोखरेल चिया किसान हुन्। सोही ठाउँका उमेश पौडेल तरकारी खेती गर्छन्। गीता खत्री पशुपालनसँगै दूध व्यापार गर्छिन्।

कमला नेवार भने फूल खेती र खोर्सानीको उत्पादन गरेर साथीभाइसम्म पुर्‍याउँछिन्। यस्तै छ करफोक खलङ्गा सामुदायिक होमस्टे सञ्चालकहरूको दिनचर्या।

उनीहरुका उत्पादन आफ्नै सामुदायिक होमस्टेभित्रै खपत हुँदै आएको छ। मिलेर उत्पादन गर्दा एउटाको आवश्यकता अर्कोले पुरा गर्ने हुँदा सहज भएको होमस्टेका सञ्चालकहरुकाे भनाई छ।

१२ जना हाेमस्टे सञ्चालकमध्ये कसकोमा के आवश्यकता छ उनीहरू त्यो आवश्यकताका आधारमा उत्पादन भएका सामग्री छिमेकीबाट लिनेदिने गर्छन्।

स्थानीय उत्पादनको प्रवर्द्धन गर्न र आएका पाहुनाका आवश्यकता पूरा गर्न उनीहरूले घर ताेकेरै उत्पादन थालेका  हुन्।

उनीहरुले याे व्यवसाय २०८० चैतदेखि सुरु गरेका हुन्। होमस्टे सञ्चालक अधिकांश महिला छन्। महिलाले आन्तरिक पर्यटक प्रवर्द्धन गर्न तथा आयआर्जन वृद्धिका लागि होमस्टे सञ्चालनमा ल्याएको करफोक खलंगा सामुदायिक होमस्टेकी अध्यक्ष कोपिला पोखरेलले बताइन्।

झन्डै एक वर्षको बीचमा यी सामुदायिक होमस्टे सञ्चालनमा आएपछि होमस्टे सम्मेलन तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने भन्दै होमस्टे सञ्चालकलाई एकै ठाउँमा भेला गरिएकाे हाे।  होमस्टेकी अध्यक्ष पोखरेल भन्छिन्, `होमस्टेले हामीलाई मेहनती र आत्मनिर्भर बनाएको छ।´

एकै पटकमा ५० जना अट्ने क्षमता रहेको यहाँका सामुदायिक होमस्टे सञ्चालनका लागि  पर्यटन कार्यालय काँकडभिट्टालेसमेत तालिम दिने र प्रवर्द्धनका लागि प्रचारप्रसार गरिदिने गरेको होमस्टेका सचिव उमेश पौडेलले जानकारी दिए।  

`सूर्योदय नगरपालिकाले हस्पिटालिटी सम्बन्धी तालिम दिएको थियो,’ उनले भने, `दुई महिना अगाडि मात्रै पनि पर्यटन कार्यालयबाट सरसफाइ लगायतका होमस्टे सञ्चालनसँग सम्बन्धित विषयमा तालिम प्राप्त गरेका छौँ।´

स्थानीयले सूर्योदय अवलोकनका लागि भन्दै उनीहरुले पूर्णे डाँडालाई प्रचारप्रसारमा ल्याउने गरी काम अगाडि बढाएका छन्। यो ठाउँ विगतकाे प्रशासनिक किल्लासमेत हाे।

यहाँ निशान पदमार्गको लागि नेपाली सेनाले समेत काम गरिरहेकाे छ। इतिहास बोकेको करफाेक स्कुल पनि यहीँ रहेकोले यसको प्रचारप्रसार गरी यहाँ पर्यटक आउनेमा आफूहरू विश्वस्त रहेको होमस्टेकी कोषाध्यक्ष गीता खत्रीले जानकारी दिइन्।

स्थानीय उत्पादनको प्रवर्द्धन गर्न चम्सुरको खिर, फापर तथा कोदोको रोटीले पाहुनाको स्वागत गर्ने गरिएको खत्री बताउँछिन्।

विवाह, व्रतबन्ध तथा गाउँमा पर्ने सामाजिक तथा सांस्कृतिक कार्यका लागि स्थानीयवासीले पनि होमस्टे नै खोज्छन्। तर होमस्टे सञ्चालनका लागि आवश्यक पर्ने सामुदायिक हल नहुँदा असहज भएको सामुदायिक होमस्टेका सञ्चालक पोखरेलले गुनासो गरिन्।

`हामीले सामुदायिक हल निर्माणका लागि कुरा राखेका छौँ,’ उनले भनिन्, `अहिलेको आवश्यकता भनेको सामुदायिक कम्युनिटी भवनकै हो।´

व्यक्तिगत प्रयोजनका लागि बनेका घरहरूलाई यहाँका महिलाहरूले आयआर्जनको स्रोत बनाउनका लागि होमस्टे सञ्चालनमा ल्याएका हुन्। उनीहरू एउटा कोठामा आफू बसेर अर्को कोठामा आएका पाहुनालाई राख्ने गरेका छन्।

महिलाले मिलेर सुरु गरेको होमस्टे सञ्चालनका लागि आन्तरिक कार्यविधि बनाउने र त्यसलाई व्यवस्थित रूपमा सञ्चालनका लागि कामहरू भइरहेको पोखरेलले जानकारी दिइन्।

नजिकै भारततर्फ भारतीय सरकारले होमस्टे सञ्चालन गर्दै आएकाे छ। भारतीय पक्षले हाेमस्टेलाई प्रवर्द्धन गर्ने मात्रै होइन ट्राभल एजेन्सीहरूले होमस्टे नै वर्ष दिनभरिका लागि ठेक्कामा लिने गरेका छन्।

तर नेपालतर्फ भने यस्ता होमस्टेको प्रचारप्रसार र प्रवर्द्धनमा स्थानीय तथा प्रदेश सरकारले सहयोग गरेको देखिँदैन। रोजगारीको अवसर सिर्जना, स्थानीय वस्तु उत्पादन तथा प्रयोग र आन्तरिक पर्यटन प्रवर्द्धनका लागि यस्ता होमस्टेहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad