कारोबार


२२ वर्षका इन्जिनियरले ५० लाख लगानीमा गाउँमै सुरु गरे इँटा उद्योग

२२ वर्षका इन्जिनियरले ५० लाख लगानीमा गाउँमै सुरु गरे इँटा उद्योग

नेपालखबर
माघ ७, २०८१ सोमबार ९:८, काठमाडौँ

इलामको सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग सुरु गरेको ६ वर्ष भयो। उनी २२ वर्षको उमेरमा ‘डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनिर’ उत्तीर्ण गरेर गाउँ फर्किएका थिए।

‘पन्ध्र लाख लगानीमा सुरु गरेको उद्योगमा हाल ४५ लाख लगानी पुगेको छ,’ उनले भने, ‘अहिलेसम्म साना–ठुला गरी चार सय ५० भवन निर्माणमा तीन लाख पचास हजार भन्दा बढी इँटा प्रयोग भइसकेको छ।’

उद्योगमा सात जनाले रोजगारी समेत पाएका छन् । महिनामा सात हजार इँटा उत्पादन हुन्छ । एक हजार मौज्दात राखेर सबै बिक्री गर्ने गरिएको उद्यमी सापकोटाले बताए। ‘नगरपालिकाले नै इँटाको प्रतिगोटा मूल्य ५२ रुपैयाँ निर्धारण गरिदिएको छ,’ उनले भने, ‘कच्चापदार्थ महँगो छ। सबै खर्च कटाएर १७ प्रतिशत नाफा हुन्छ । महिनामा त्यस्तै एक लाख जति बचत छ।’

ढुङ्गाको धुलो, धोएको खस्रो बालुवा, ५३ ग्रेटको ओपिसी सिमेन्ट, सुपर प्लास्टिक साइजरलगायतका कच्चापदार्थ प्रशोधन गरेर ईको इँटा तयार गरिने प्रमोदले बताए । उनले भने, ‘यी सामग्री दाउन्ने, झापाको बिर्तामोड र सुपर प्लास्टिक साईजर चैँ उडिसाबाट ल्याउने गरिएको छ।’

उद्योगको उत्पादनले इँटाको माघ धान्न सकेको छैन। सूर्योदय नगरपालिका क्षेत्रमा नै धेरै माघ हुने गरेकाले जिल्लाका अन्य पालिकातिर माघ पूरा गर्न नसकिएको स्वस्तिका सापकोटा (भट्टराई)ले बताए। 

इँको इँटा भूकम्प प्रतिरोधी र वातावरणमैत्री हुने भएकाले यसको माघ बढिरहेको उनको भनाइ छ। उनले भने, ‘पालिकाले निर्माण गर्ने भवनमा हरित निर्माण सामग्री प्रयोग गर्ने भनिएको छ। त्यस्मा हाम्रो उत्पादन प्रयोग गर्नेगरि छलफल चलेको छ । त्यो सम्झौता भएमा उद्योगले उत्पादन अनिवार्य वृद्धि गर्नुपर्छ।’

सापकोटा दम्पतीलाई घर–गाउँ छोडेर बिदेसिन मन छैन। ‘जे गर्छु नेपालमै गर्छु, जति गर्छु नेपालकै लागि गर्छु भन्ने लाग्छ,’ प्रमोदले भने, ‘आजभन्दा ६ वर्षअघि रु १५ लाख लगाएर उद्योग खोल्ने मेरो एउटा साहस नै थियो। त्यो बेला अमेरिका अस्ट्रेलिया वा कोरियातिरै गएको भए पनि अहिलेसम्म एक-दुई करोड कमाई त हुन्थ्यो होला। तर, गाउँको स्वच्छ हावा, परिवार, समाज र नेपाली माटोको सुगन्ध त्यो भन्दा महँगो लाग्यो। हामी यहीँ खुसी छौँ।’

कोरोना कहरका बेला निजी तथा सरकारी निर्माण प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका थिए। प्रमोदसँग पनि कोभिड–१९ का बेला उद्योग बन्द गर्नुपरेको तीतो स्मरण छ। उनले भने ,‘महामारीमा उद्योग ठप्प भयो। भर्खर सुरु भएको उद्योग बन्द गर्नुपर्दा निराशा आएको थियो। पुनः स्थिति सुधार भयो। अब त डर छैन।’

स्थानीय तहमै स्वरोजगार भइरहेका युवा उद्यमीलाई नगरपालिकाले प्रोत्साहन गर्ने गरेको नगरप्रमुख रणबहादुर राईले बताए। 

अनुदानमा सहुलियत दिएर युवालाई स्वरोजगार बन्न प्रोत्साहित गरिरहेको उनको भनाइ छ। उद्योगमा ईको इँटा मात्र होइन, कङ्क्रिट इँटा, कबर ब्लक, फुलको गमला, तुलसीको मोठ, तारजाली पिल्लरसमेत उत्पादन हुने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad