कर्णाली


जाडोले बन्द भयो यारी नाका, हुम्लामा खाद्यान्न तथा निर्माण सामग्री ढुवानीमा समस्या

जाडोले बन्द भयो यारी नाका, हुम्लामा खाद्यान्न तथा निर्माण सामग्री ढुवानीमा समस्या

फाइल तस्बिर : यारी नाका


दिनेश बुढा
माघ ७, २०८१ सोमबार ९:२६, सुर्खेत

चिसो बढेसँगै नेपाल र चीनबीचको सिमाना हुम्लामा पर्ने यारी नाका बन्द भएको छ।

गत मंसिर २५ गतेयता भन्सार कार्यालय बन्द गरेर कर्मचारी सदरमुकाम सिमिकोट झरेका छन्। भन्सार कार्यालय प्रमुख रामराज जैशीले हिमपात र चिसो मौसमका कारण यारी भन्सार यसपटक छिटो बन्द भएको जानकारी दिए।

उनका अनुसार वर्षमा ६ महिना मात्रै यो नाका खुल्ने गर्छ। चिसोले बन्द भन्सार अब आगामी वैशाखअघि खुल्ने सम्भावना नभएको प्रमुख जैशीले बताए। 

कार्यालयमा मौसम अनुसार बन्दोबस्तको व्यवस्था नहुँदा हिमपातसँगै अत्यधिक चिसो बढेपछि भन्सार बन्द गरेर सदरमुकाम झर्नुपर्ने बाध्यता भएको उनको भनाइ छ। 

उनका अनुसार भन्सार सञ्चालन भएको समयमा बिहान ९ देखि ११ र दिउँसो २ देखि ४ बजेसम्म नाका खुल्छ।

बाक्लो हिउँका कारण हुम्लाको नारा लेक बन्द हुदाँ भन्सार ठप्प भएको हो। अन्य समयमा नारालेकसम्म सवारीसाधन र त्यहाँबाट उता हिल्सासम्म हिँडेरै भए पनि व्यापारी नाका पुग्ने गर्छन्।

उनीहरू चीनको ताक्लाकोटबाट सामान ल्याउँछन्।

कार्यालय प्रमुख एक जना मात्रै स्थायी कर्मचारीको भरमा सञ्चालित भन्सारका सबै शाखा हाल ठप्प छन् भने अन्य सबै दरबन्दी रिक्त छन्।

‘कर्मचारी म मात्रै हुँ, त्यसैमा काम विशेष जिल्ला छाड्नुपर्ने हुन्छ’, उनले भने, ‘अन्य कर्मचारीको दरबन्दी कायम गर्न सरकारकै चासो छैन।’

अनलाइन सिस्टममा काम गर्नुपर्ने भन्सार कार्यालयमा इन्टरनेटसमेत जडान नभएका कारण थप समस्य भएको उनले सुनाए।

प्रमुख जैशीले भने, ‘यसबारे पटकपटक विभागमा भन्दा सुनुवाइ भएन। फेरि विभाग धाउन काठमाडौँ पनि पुगेँ। गत वर्ष १४ लाखभन्दा बढी राजस्व संकलन गरेको भन्सारले यस वर्ष मंसिरसम्म ७ लाखभन्दा बढी राजस्व संकलन गरिसकेको छ।’

गत वर्ष विभागले ५ लाख मात्रै राजस्व संकलन गर्ने लक्ष्य दिएकामा तेब्बर संकलन भएको थियो। यस वर्ष पनि राजस्व राम्रो संकलन हुने देखिन्छ।

‘भन्सारमा कर तिर्नुपर्छ भन्ने चेतना नागरिकमा छैन। त्यसैमा सरकारले पनि कर लिने आधार बनाएको छैन’, उनले भने, ‘तर निर्माण सामग्री ल्याउने व्यवसायीहरूबाट राजस्व संकलन गर्ने गरेका छौँ। यदि भन्सार नियमित सञ्चालन हुने हो भने वर्सेनि करोडौँ राजस्व संकलन हुने देखिन्छ।’

हुम्लावासीका लागि एक मात्र विकल्प यारी नाका
नेपाल र चीनको सिमाना हुम्लाको हिल्सामा स्थापना भएको यारी नाका भन्सार सरकारको उपेक्षामा छ। यो नाकाप्रति प्रदेश र केन्द्र दुवै तहका सरकारले ध्यान नदिएका हुन्। 

हिल्सामा २०७५ मा अध्यागमन कार्यालय स्थापना गरी भन्सार सञ्चालन गरिएको थियो। दुवै तहका सरकारको ध्यान नजाँदा हाल यारी नाका भन्सार ओझेलमा छ। दुवै तहका सरकारले आवश्यक बजेट व्यवस्थापन गरी भन्सार सञ्चालनमा जोड दिन नसक्दा स्थापना भएको भन्सार कार्यालयसमेत बन्द हुने अवस्थामा पुगेको प्रमुख जैशीको गुनासो छ।

हुम्लामा सामान आयातका लागि यारी नाका एक मात्रै विकल्प भएकाले भन्सार नियमित सञ्चालन हुनसके हुम्लावासीलाई समान ढुवानीमा निकै सहज हुने देखिन्छ। तर, हुम्ला सदरमुकाम सिमिकोटबाट भन्सार कार्यालयसम्म पुग्न सडक यातायातको अवस्था भने नाजुक छ।

साँघुरो कच्ची सडकमा गुड्ने बोलेरो जिपमार्फत यो भन्सारबाट हुम्लामा लत्ता कपडासहितका व्यावसायिक सामग्री, खाद्यान्न तथा निर्माण सामग्री आयात हुने गर्छन्। 

यारी भन्सार नेपालमा सामान आयात-निर्यातका लागि ठूलो सम्भावना बोकेको नाका पनि हो। तर, भन्सारसम्म पुग्न तथा भन्सार सञ्चालनका लागि आवश्यक पूर्वाधार विकासमा सरकारले जोड दिन सकेको छैन।

हालसम्म प्रदेश तथा केन्द्र सरकारको लगानीमा यारी भन्सार कार्यालयको आफ्नै भवन समेत निर्माण हुन सकेको छैन।

यारी भन्सार सञ्चालनमा सडक, यातायात सेवा, पुल निर्माण, अन्य कार्यालय स्थापनालगायत धेरै समस्या छन्। त्यहाँ मौसमअनुकूल पूर्वाधार निर्माण गर्न सरकारले सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad