कारोबार


पोखरा–मुग्लिन सडक: पश्चिम खण्डको म्याद तेस्रो पटक थप

पोखरा–मुग्लिन सडक: पश्चिम खण्डको म्याद तेस्रो पटक थप

फाइल तस्बिर


नेपालखबर
पुस १९, २०८२ शनिबार १०:६, कास्की

पृथ्वीराजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना (पश्चिम खण्ड) को तेस्रो पटक म्याद थप गरिएको छ ।

पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी काठमाडौँसम्म जोड्ने यस राजमार्ग एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा चार वर्षदेखि स्तरोन्नतिको काम भइरहेको छ।

योजनाको यसअघि दुई पटक म्याद थप गर्दासमेत काम तोकिएको समयमा सम्पन्न हुन नसकेपछि निर्माण कम्पनीको मागअनुसार सडक विभागले विसं २०८३ असार १५ गतेसम्म समय थप गरिएको मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए।

उनले भने, “दोस्रो पटकसमेत तोकिएको समयमा काम नसकिएको र ७५ प्रतिशत मात्र भौतिक प्रगति भएपछि हालै पुनः निर्माण अवधि बढाइएको छ । अब थपिएको समय चालू आर्थिक वर्षमा चार तथा छ लेन सम्पूर्ण सडक खण्ड निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौँ।”

योजनाका अनुसार पछिल्लो पटक थप गरिएको म्याद गत डिसेम्बर अन्त्यमा सकिएपछि ६ महिना बढाइएको हो । सडक मापदण्डभित्रको विद्युत् पोल र खानेपानी पाइप स्थानान्तरण तथा रुख कटानमा ढिलाइलगायतका कारणले योजना सम्पन्न हुन ढिलाइ भएको बताइन्छ।

यस योजनाको पश्चिम खण्ड अन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेती नदीपुलसम्मको ३८ दशमलव ८८ किमी पर्छ । योजना प्रमुख कुँवरले हालसम्म यस खण्डको तीन चौथाइ काम सम्पन्न भएको जानकारी दिए ।

प्रथम तहको कालोपत्रे ३७ किमी सकिएको छ । त्यसैगरी दोस्रो तहको कालोपत्रे गर्ने काम करिब ३४ किमी पूरा भएको छ । एकतर्फी कालोपत्र गर्न अब एक किमी बाटो मात्र बाँकी रहेको कुँवरले जानकारी दिए। त्यसैगरी जामुनेबाट ‘सडक मार्किङ’, ‘थर्मोप्लास्टिक पेन्ट’ र ‘रोड सेफ्टी ब्यारिएर’ राख्ने लगायतका काम समेत सुरु भएको छ।

यस योजनाको चालू आवमा थप ११ किमी चार लेनमा प्रथम तहको र ३० किमी चार लेनमा दोस्रो तहको अस्फाल्ट कालोपत्रे गरिएको छ । यस खण्डमा एक वटा पुल र दुई वटा कल्भर्ट निर्माणसमेत यसै अवधिमा सम्पन्न भएको छ।

मुग्लिन–पोखरा पश्चिम खण्डको विसं २०७८ जेठ २ गते निर्माण सम्झौता भएर विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माण गर्न चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनसँग रु सात अर्ब ४० करोडमा ठेक्का सम्झौता गरिएको थियो।

विसं २०८१ भदौ १२ गतेसम्म म्याद रहेकामा त्यस अवधिमा उल्लेख्य प्रगति नभएपछि पहिलोपटक १०१ दिनका लागि म्याद थप भएको थियो । यसपछि दोस्रो पटक विसं २०८१ पुसमा एक वर्ष म्याद बढाइएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad