बागलुङ नगरपालिका–८ सिगानामा गत आइतबार सञ्चालित माटो परीक्षण शिविरमा ७५ जना किसानले माटो परीक्षण गराए।
सुन्तलाखेती हुने यहाँको माटोमा अधिकांश अम्लियपना भेटियो । जसका कारण क्रमशः उब्जनीमा ह्रास आइरहेको छ । कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा जिल्लाको पाँच स्थानमा गरेको माटो परीक्षण शिविरमा सबैभन्दा बढी सिगानाको माटोमा अम्लियपना भेटिएको जनाएको छ।
जम्मा ७५ किसानले माटो परीक्षण गराएकामा ६९ किसानले ल्याएको माटोमा अम्लियपना फेला परेको थियो । असन्तुलित मलखादको प्रयोगले माटोको प्राङ्गारिक पदार्थमा कमी आएको कृषि ज्ञान केन्द्र प्रमुख राजेश्वर सिल्वालले बताए । उनले माटोको सही उपचार गर्न किसानलाई सुझाव दिए।
जिल्लाका १० स्थानीय तहमध्ये यस वर्ष सात स्थानीय तहमा माटो परीक्षण घुम्ती शिविर गर्ने लक्ष्य लिइएको छ । पाँच स्थानमा माटो परीक्षण शिविर सम्पन्न भइसकेका छन् । स्थानीय तहको सिफारिसमा माटो परीक्षण गर्न थालिएको हो।
प्रमुख सिल्वालले बागलुङ नगरपालिका, गलकोट नगरपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ताराखोला गाउँपालिकामा ३०९ किसानले ल्याएको माटोको नमूना परीक्षण गरिएको जानकारी दिए । परीक्षण गरिएका मध्ये १७० नमूनामा अम्लियपना तथा १३ नमूनामा क्षारीय तत्व फेला परेको छ । त्यसैगरी १२६ नमूना माटो परीक्षणको रिपोर्ट सामान्य रहेको पाइएको छ।
कृषि ज्ञान केन्द्रले तमानखोला गाउँपालिका–२ मा ४३ किसानले ल्याएको माटोको नमूना परीक्षण गरेकामा २८ नमूनामा अम्लियपना र १५ मा तटस्थ देखिएको छ। बडिगाड गाउँपालिका–६ मा आयोजना भएको माटो परीक्षण शिविरमा ५८ जनाको नमूना परीक्षण गरेकोमा १३ क्षारीय, १ अम्लियपना र ४४ तटस्थ देखिएको छ।
ताराखोला गाउँपालिका–२ मा ७५ वटा माटोको नमूना परीक्षण गरिएकामा ५१ माटोको नमूनामा अम्लियपना र २४ मा तटस्थ देखिएको छभने जिल्लाको गलकोट नगरपालिका–४ मा ५८ माटोको नमूना परीक्षण गरेकोमा २१ वटामा अम्लियपना र ३७ वटामा तटस्थ फेला परेको छ।
“असन्तुलित मलखादले माटो बिग्रँदै गएको छ, माटोलाई समयमा उपचार गर्न आवश्यक छ, पछिल्लो समय प्राङ्गारिक मलको प्रयोग घट्नाले माटोमा अम्लियपना बढी भएको पाइएको छ”, केन्द्र प्रमुख सिलवालले भने, “क्षारीय र अम्लियपनलाई तटस्थमा ल्याउन प्राङ्गारिक मल, हरियो मल प्रयोग तथा र कोसेबाली लगाउन आवश्यक छ।”
अम्लीय माटोमा कृषि चुना प्रयोग गर्न किसानलाई सुझाव दिएको कृषि ज्ञान केन्दका अधिकृत जमुना भण्डारीले बताए । उनले युरियाको बढ्दो प्रयोगले माटोको अवस्था बिग्रँदाे भएकाले नाइट्रोजन, फस्फोरस र पोटासको सन्तुलित प्रयोग गर्न सुझाव दिए । रासस
Shares

प्रतिक्रिया