कारोबार


भेडाका बथान बेँसीबाट लेकतिर

भेडाका बथान बेँसीबाट लेकतिर

नेपालखबर
बैशाख १०, २०८२ बुधबार १२:४५, लमजुङ

बेँसी आइपुगेर घुम्ती भेडीगोठमा रहेका भेडाका बथान यतिबेला चरणका लागि लेक तथा हिमाली भेगतर्फ जान थालेका छन्। चिसो मौसम सुरु भएसँगै चरणमा समस्या आउन थालेपछि बेँसी झेरका भेडाका बथान गर्मी सुरु भएसँगै लेक तथा हिमाली भेगतर्फ जान थालेका हुन्।

जिल्लाका घुम्ती गोठका गोठालाहरूले आ–आफ्ना भेडाका बथान यतिबेला लेक तथा उच्च खर्कतिर लैजान थालेका यहाँस्थित पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा सुनिल न्यौपानेले बताए। जिल्लामा सानाठूला गरेर तीन सय भन्दा बढी घुम्ती भेडीगोठ रहेका जनाउँदै ती बेँसीबाट लेक जान थालेका उनले बताए।

कार्यालयका अनुसार भुजुङ, सिउरुङ, घलेगाउँ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायत ग्रामीण क्षेत्रमा भेडीगोठ छन् । हिमाली भेगहरूबाट चिसो छल्न बेँसी झेरेका भेडीगोठ पुनः लेकतिर पुग्न थालेका छन्। विशेष गरी गुरुङ समुदायको पुर्खौली चलन तथा पेसाका रूपमा भेडीगोठलाई हेरिन्छ।

भेडी गोठाला कमल अधिकारीले भने, “चिसो मौसममा बेँसी झारिएका भेडी गोठ पुनः लेकतर्फ लैजान थालेका छौँ । केही समयमा हिमालको काखमा रहेको ठूले लेकमा पुग्ने छौँ ।” उनले गर्मी यामको छ महिना लेक र चिसो यामको छ महिना बेँसीमा भेडीगोठ राख्ने गरिएको जानकारी दिए।

लमजुङ दोर्दी गाउँपालिका–५ सिम्रुङका ५२ वर्षीय भेडी गोठाला दुरजङ गुरुङले चिसो छल्न बेँसी झारेका भेडीगोठ फागुन लागेसँगै लेकतर्फ लगेको भन्दै यतिबेला लमजुङ र गोरखाको सिमना चेपेखोलाको शिरमा पुगेका जानकारी दिए। बेँसीबाट भेडाबाख्रा चराउँदै श्रीमञ्जाङबाट ओखरी, साल्मे, सिम्रुङ हुँदै लेपेखर्कतर्फ लागेका छन्। उनका अनुसार भेडी गोठमा सानाठूला भेडा तथा बाख्रा गरेर आठ सयभन्दा बढी छन्।

चिसो छल्न गाउँ आइपुगेका पसगाउँको भेडीगोठका बथान यतिबेला क्युबे–ल्हेदेतर्फ पुग्न थालेका स्थानीयको भनाइ छ। जिल्लाको उत्तरी ताघ्रिङका भेडीगोठ यतिबेला थुर्जुलेक खर्कतिर पुग्न थालेको छन्। लमजुङका भेडीगोठहरू लमजुङ, मनाङ र कास्कीको सिमाना दूधपोखरी नजिकै थुर्जु तथा लमजुङ हिमालको काखलगायत ठाउँसम्म पुग्ने गरेका भेडीगोठाला बताउँछन्।

बेँसीमा रहेको बेलामा भेडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग हुने बताउँदै पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख डा न्यौपानेले भेडाको ऊन निकालेर राडीपाखी, बख्खुलगायत सामग्री बनाइने जानकारी दिए। उनका अनुसार जिल्लाभर २३ हजार भेडाबाख्रा छन्।

वार्षिक १० हजार किलो ऊन निस्कने र ऊन प्रतिकिलो तीन सयमा बिक्री हुने न्यौपानेले जानकारी दिए । वार्षिक एक सय ६० मेट्रिक टन भेडाको मासु उत्पादन हुन्छ । मासु बिक्रीबाट आठ करोड आम्दानी हुने गरेको केन्द्रले जनाएको छ।

वार्षिक घुम्ती भेडीगोठमा रहेका बाख्राको मासु एक सय २० मेट्रिक टन तथा घुम्ती र घरमा पालिएका बाख्रा गरी वार्षिक एक हजार २०० मेट्रिक टन मासु उत्पादन हुँदा ६० करोड आम्दानी हुँदै आएको केन्द्रका निमित्त प्रमुख डा. न्यौपानेले जानकारी दिए।

जिल्लामा वार्षिक ६० करोड आम्दानी हुँदै आए पनि पछिल्लो पुस्ताले बेवास्ता गर्दा परम्परागत रूपमा रहेको भेडीगोठ लोप हुने अवस्थामा पुग्न थालेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् । जिल्लामा अधिकांश गुरुङ समुदायका बस्तीमा अझै पनि भेडाको ऊनबाट विभिन्न सामग्री बनाएर बिक्री गर्ने तथा प्रयोग गर्ने प्रचलन कायम छ।

यो पेसा विशेष गरी अग्रज पुस्तामा मात्र सीमित हुँदा परम्परागत परम्परा लोप हुने अवस्थामा पुगे उनीहरूको गुनासो छ । यहाँ उत्पादित भेडाको ऊन र ऊनबाट बनाइएका विभिन्न सामग्रीको बजारमा उच्च माग रहेको छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad