कारोबार


भरतपुरबाट जहाजले इन्धन भर्ने व्यवस्था गरिँदै

भरतपुरबाट जहाजले इन्धन भर्ने व्यवस्था गरिँदै

भरतपुर विमानस्थल


रासस
फागुन १, २०८२ शुक्रबार १३:१२, काठमाडौँ

भरतपुर विमानस्थलबाट काठमाडौंँ र पोखरा उडान गर्ने जहाजले आगामी साताबाट यहाँ इन्धन भर्न पाउने भएका छन्। नेपाल आयल निगमले यही फागुन ६ गतेबाट यहाँ इन्धन भर्न मिल्ने गरी तयारी अघि बढाएको हो। 

निगमका प्रवक्ता उपनिर्देशक मनोजकुमार ठाकुरले नागरिक उड्डयन प्राधिकरणसँग सम्झौता गरी काम अघि बढाइएको बताए। 

उनले भने, “यही फागुन ६ गतेबाट रिफिलिङ् गर्ने गरी काम भइरहेको छ। डिपो स्टेशन स्थापनाका लागि दुई थान रिफ्युलर र एक थान मोबाइल डिस्पेन्सरको व्यवस्था गरिएको छ। दिगो रूपमा काम गर्न भने छ महिनादेखि एक वर्ष लाग्ने छ।”

जमिनमुनि वा माथि ट्याङ्की राखेर काम गर्नका लागि समय लाग्ने भए पनि तत्काल इन्धन जहाजमा भर्ने व्यवस्था मिलाउन  समय नलाग्ने उहाँले बताउनुभयो। निगमले यहाँ ३० किलोलिटर इन्धन भण्डारण र व्यवस्थापनका लागि रु चारदेखि पाँच करोड खर्च हुने जनाएको छ। 

नेपाल नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले प्राधिकरणसँग जग्गा सम्झौता भएको र बाँकी सबै काम निगमले गर्ने बताउनुभयो। यस कार्यबाट त्यस क्षेत्रमा उडान भर्ने जहाज लाभान्वित हुने बताए। 

बुद्ध एयरले भरतपुरबाट काठमाडौँ र पोखरा गरी दैनिक सात वटा जहाज उडान भर्दै आएको छ। दुईवटा ४७ सिटका र पाँचवटा ७२ सिटका जहाजले यहाँबाट उडान भरिरहेका बुद्ध एयर भरतपुरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले जानकारी दिए। यहाँ तेल भर्ने व्यवस्था भए काठमाडौँबाट यहाँ आउने जहाजमा थप दुई जना यात्रु ल्याउन सकिने उनको भनाइ छ। 

बुद्ध एयरको ७२ सिटको जहाजले काठमाडौँबाट आउँदा हाल ७० जना बोक्ने गरेको छ भने गर्मीयाममा ६० जना बोक्नुपर्ने बाध्यता छ। बस्नेतका अनुसार यहाँबाट उड्दा भने हाल ५५ जना र गर्मीयाममा ४० जना बोक्ने गरिएको छ। 

यस्तै, ४७ सिटको जहाजले हाल काठमाडौँबाट आउँदा ४५ जना र फर्कदाँ ४३ जना लिएर जाने गरेको छ। गर्मीयाममा काठमाडौँबाट आउँदा ३५ जना र यहाँबाट जाँदा ३३ जना हाराहारी  यात्रु बोकेर जाने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad