कारोबार


११ देशका पर्यटकले अब नेपालमा सजिलै क्यूआरमार्फत भुक्तानी गर्न सक्ने, फोनपेले गर्‍यो अलिपेसँग साझेदारी

११ देशका पर्यटकले अब नेपालमा सजिलै क्यूआरमार्फत भुक्तानी गर्न सक्ने, फोनपेले गर्‍यो अलिपेसँग साझेदारी

नेपालखबर
भदौ १५, २०८२ आइतबार ११:४६, काठमाडौँ

नेपालको पेमेन्ट सिस्टम अपरेटर (पीएसओ) फोनेपेले अलिपे+ सँग ऐतिहासिक साझेदारी गरेको छ। योसँगै आफ्नो इन्टरअप्रेबल क्यूआर नेटवर्कमार्फत अन्तर्देशीय भुक्तानी स्वीकृत गर्न सक्षम भएको फोनपेले जनाएको छ।

यसले नेपालको डिजिटल रूपान्तरण र अन्तर्देशीय व्यापार–व्यवसायतर्फको यात्रामा नयाँ अध्याय थपेको कम्पनीको दाबी छ। 

नेपाल राष्ट्र बैंक, अलिपे+ प्रतिनिधि, नेपाल पर्यटन बोर्ड, बैंक तथा वित्तीय संस्थानका प्रतिनिधिहरू, टुर अपरेटर तथा गाइडहरू, प्रमुख सञ्चारगृह तथा व्यावसायिक व्यक्तिहरूको उपस्थितिमा उक्त साझेदारी गरिएको हो। 

यस एकीकरणपछि चीन, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, फिलिपिन्स, थाइल्यान्ड, जर्मनी, इटाली लगायतका ११ भन्दा बढी देशका अन्तर्राष्ट्रिय पर्यटकहरूले आफ्नो परिचित होम ई–वालेट—जस्तै अलिपे, काकाओ पे, जीक्यास, टचएन्डगो, अलिपेएचके, ट्रुमनी, टिनाबा प्रयोग गरी नेपालमा सजिलै क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन्। 

अब यी भुक्तानी सुविधा नेपालभरका १७ लाखभन्दा बढी फोनेपे क्यूआर–सक्षम व्यवसायीमा उपलब्ध हुनेछ। यसले पर्यटकहरूलाई नगद बोकेर हिँड्नुपर्ने वा मनी एक्सचेन्ज खोज्नुपर्ने झन्झटबाट मुक्त गर्दै सहज, सुरक्षित र सुविधाजनक अनुभव दिने कम्पनीको भनाइ छ। 

कार्यक्रममा एन्ट इन्टरनेशनलका दक्षिण–पूर्वी एशिया, दक्षिण एशिया र एएनजेड क्षेत्रका जनरल म्यानेजर एडवर्ड युएले नेपालको डिजिटल भुक्तानी र पर्यटन पारिस्थितिकी तन्त्रको उन्नतिमा योगदान गर्न पाएको यो ऐतिहासिक क्षणलाई गर्वका साथ मनाउने उल्लेख गरे। 

उनले भने, ‘अलिपे+ ले नेपालको बढ्दो डिजिटल पूर्वाधारलाई थप सुदृढ बनाउँदै, भुक्तानी प्रणालीलाई आर्थिक अवसर, सांस्कृतिक सम्बन्ध र पर्यटन समृद्धिको माध्यम बनाउन सक्छ, जसले स्थानीय व्यवसायी र अन्तर्राष्ट्रिय उपभोक्ता दुवैलाई फाइदा पुर्याउनेछ।’ 

त्यसैगरी, फोनेपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले अलिपे+ र फोनेपे नेटवर्कको एकीकरणले विश्वव्यापी इन्टरअप्रेबिलिटी र वित्तीय समावेशनतर्फ ठूलो कदम चालेको बताए। 

‘यस साझेदारीले नेपाल भ्रमण गर्ने अन्तर्राष्ट्रिय यात्रुहरूलाई सजिलो बनाउने मात्र होइन, हाम्रो व्यवसायीलाई थप उपभोक्तासम्म पहुँच दिलाउनेछ - त्यो पनि कुनै अतिरिक्त जटिलताविना’, उनले भने। 

फोनेपे र अलिपे+ बीचको यो सहकार्य केवल वित्तीय कारोबारमै सीमित छैन, यसले नेपाल र एशिया–प्रशान्त क्षेत्रबीचको सांस्कृतिक र आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउँछ। बढ्दो पर्यटन र व्यापारसँगै, नेपालमा अलिपे+ भुक्तानीको स्वीकृतिले यात्रु अनुभवलाई सहज बनाउन, व्यवसायी आम्दानी बढाउन र अन्तरदेशीय सम्पर्कलाई सबल बनाउन सहयोग पुर्याउनेछ। 

यो पहलले नेपाललाई सुरक्षित अन्तरदेशीय भुक्तानीमा सक्षम बनाउँदै पर्यटन पुनर्जीवनमा मद्दत गर्नेछ, साना तथा मझौला व्यवसायहरूलाई सहयोग गर्नेछ, विदेशी आम्दानी वृद्धि गर्नेछ र समग्र अर्थतन्त्रलाई सबल बनाउनेछ। यात्रा, व्यापार र सांस्कृतिक आदानप्रदानको केन्द्रका रूपमा नेपाललाई स्थापित गर्ने यो कदम डिजिटल भुक्तानीमार्फत लचिलोपन र आधुनिकीकरणतर्फ अग्रसर हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad