नेपाल राष्ट्र बैंकले आउँदै गरेको दशैँका लागि सुकिला नोट सटही सुविधाको व्यवस्था गरेको छ।
हरेक वर्षझैँ यस वर्ष पनि बैंकले भदौ २९ गतेबाट सर्वसाधारणमा सुकिला नोट साट्न सक्ने सुविधा दिएको हो।
केन्द्रीय बैंकका अनुसार काठमाडौंसहितका देशका ७ वटा स्थानबाट सर्वसाधारणले सुकिला नोट साट्न पाउने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार विभागको थापाथलीस्थित कार्यालय तथा सोका सातवटै प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सटही सुविधा प्रदान गरिनेछ।
यस्तै, इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट सर्वसाधारणका साथै संघ/संस्थालाई कारोबारको समयमा नोट सटही हुने जनाएको छ।
असोज १६ गते दशैँको टीकालाई लक्षित गर्दै राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म नयाँ तथा सुकिला नोट साट्ने भएको हो।
Shares

प्रतिक्रिया