भोलि साउन २६ गते पर्ने अन्तिम सोमबारको पावन अवसरमा चन्द्रागिरि भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भक्तिमय उत्सव तथा महाआरती कार्यक्रम आयोजना हुने भएको छ।
साउन महिनाको पवित्रतासँगै महादेवको महिमा झल्काउने उद्देश्यले चन्द्रागिरि हिल्स लिमिटेडले उक्त भक्तिमय उत्सव तथा महाआरती आयोजना गर्न लागेको हो।
कार्यक्रमअन्तर्गत पूरै दिन मन्दिर परिसरमा भक्तिमय वातावरणमा विशेष भजन–कीर्तन सञ्चालन हुनेछ। साँझ ६:३० बजेपछि विशेष महाआरती सम्पन्न हुनेछ, जसमा भक्तजनहरूलाई सहभागी हुन हार्दिक आमन्त्रण गरिएको चन्द्रागिरि हिल्सले जनाएको छ।
चन्द्रागिरि हिल्सले महाआरतीमा सहभागी हुन आउने भक्तजनहरूको सुविधालाई मध्यनजर गर्दै विशेष टिकट अफर सार्वजनिक गरेको छ।
सो अवसरमा केबलकार टिकटमा सोमबार दिइने २५ प्रतिशत छुटका साथै साँझ ४ बजेपछि टिकट मात्र ४ सय रुपैयाँमा उपलब्ध हुनेछ।
यसअघि साउन महिनाका तीनवटै सोमबार चन्द्रागिरी भालेश्वर मन्दिर परिसरमा विशेष कार्यक्रम तथा महाआरती सम्पन्न भइसकेको छ ।
भक्तजनहरूको उत्साहजनक सहभागिता भएकाले भक्ति तथा श्रद्धा अझै गरिमामय बनाउने उद्देश्यले अन्तिम सोमबारको दिनलाई विशेष भक्तिमय उत्सवका रूपमा मनाउन लागिएको हो।
Shares

प्रतिक्रिया