रेडबुलका सहस्वामित्वकर्ता चलर्म युविद्या थाइल्यान्डकै धनाढ्य व्यक्ति बनेका छन्। ४४ अर्ब ५० करोड अमेरिकी डलर सम्पत्तिसहित थाइल्यान्डको धनी बनेको फोर्ब्सले जनाएको छ।
उनीपछि सीपी ग्रुपका चेरावनन्त ब्रदर्स ३५ अर्ब ७० करोड अमेरिकी डलरसहित दोस्रो स्थानमा छ। फोर्ब्सका अनुसार थाइल्यान्डको ५० धनाढ्य परिवारमध्ये शीर्ष ३ को सम्पत्ति ११ प्रतिशतभन्दा धेरैले बढेर १ खर्ब ७० अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ।
युविद्या परिवारले गत वर्षको तुलनामा यस वर्ष ८.५ अर्ब डलरले सम्पत्ति बढाएको फोर्ब्सले जनाएको छ। उक्त २४ प्रतिशत सम्पत्ति बढोत्तरीमा गत वर्ष विश्वबजारमा रेडबुलका १३ अर्ब क्यानको बिक्रीको प्रभाव देखिएको छ। गत वर्ष कम्पनीले १२ अर्ब ९० करोड अमेरिकी डलर राजस्व संकलन गरेको थियो।
त्यसैगरी दोस्रो धनी बनेका चेरावनन्त ब्रदर्सको पनि २३ प्रतिशतले बढेर ३५ अर्ब ७० करोड अमेरिकी डलर सम्पत्ति पुगेको छ। उनीहरुपछि ऊर्जा तथा दूरसञ्चार व्यवसायी सारथ रत्नावादी छन्। सारथले पाँचौँबाट तेस्रो वरीयतामा फड्को मारेका हुन्। उनको कुल सम्पत्ति १२ अर्ब डलर छ जुन अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत बढी हो।
यता बियर, मदिरा र घरजग्गा व्यवसायी चरोइन श्रीवदनभान्कदी भने एक स्थान खस्किएर चौथो स्थानमा पुगेका छन्। उनको सम्पत्ति १० अर्ब ५० करोड अमेरिकी डलर छ। पाँचौँ स्थानमा भने सेन्ट्रल डिपार्टमेन्ट स्टोर र मलका मालिक चिराथिवाट परिवार छ। यो परिवारको सम्पत्ति ८.६ अर्ब डलर छ जुन अघिल्लो वर्षको तुलनामा १३ प्रतिशत कम हो।
पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा २.१ अर्ब डलरसहित ११औँ स्थानमा रहेका छन्।
Shares

प्रतिक्रिया