कारोबार


६ अर्ब लागतमा पूर्वपश्चिम राजमार्गमा बन्दै छ नेपालकै पहिलो ‘भायडक्ट’

६ अर्ब लागतमा पूर्वपश्चिम राजमार्गमा बन्दै छ नेपालकै पहिलो ‘भायडक्ट’

चितवनको टिकौलीमा प्रस्तावित भायडक्टको डिजाइन (सडक विभाग)


निर्दोष घोरसाइने
मंसिर १९, २०८२ शुक्रबार १०:२९, काठमाडौँ

पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–पथलैया सडकखण्डमा वन्यजन्तुलाई सडक पार गर्न सहजता प्रदान गर्न भायडक्ट बनाइने भएको छ।

सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (एडीबी)ले चितवनको गोन्द्राङ–मकवानपुरको राप्ती पुलसम्म सडक विस्तार गर्दा टिकौली जंगलमा भायडक्ट बनाउन लागेको हो।

यो राजमार्गमा निर्माण हुनलागेको पहिलो भायडक्ट हुनेछ। यसअघि उपत्यकामा अन्डरपास र ओभरपास निर्माण भए पनि भायडक्ट भने बनाइएको छैन। 

यस सडक खण्ड विस्तारका क्रममा टिकौली जंगलमा २ किलोमिटर लामो भायडक्ट बनाउन खोजिएको निर्देशनालयका उपनिर्देशक ध्रुवकुमार श्रेष्ठले जानकारी दिए। 

भायडक्ट भनेको ठूलो खोल्सो, उपत्यका, खोँच वा सडक/रेलमार्ग काट्न प्रयोग हुने लामो पुल–जस्तै संरचना हो। तर टिकौलीमा वन्यजन्तु ओहोरदोहोर गर्न भायडक्ट बनाइने भएको हो। टिकौली जंगलमा विश्वमै दुलर्भ मानिएको एक सिंहे गौडा, हात्ती, बाघ लगायत जंगली जनावरको बासस्थान छ।

कोरियाली परामर्शदाता सुसङ ईआरएमसी टेक स्टुडिओ अफ इन्जिनरिङले तयार पारेको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) मा विस्तारित सडकको डिजाइन स्पिड अधिकतम १०० किलोमिटर प्रतिघण्टा छ। 

‘तीव्र गतिमा सवारी गुड्दा वन्यजन्तुले सडक काट्दा दुर्घटनाको जोखिम हुन्छ। तीव्र गतिमा सवारी गुड्दा वन्यजन्तु र सवारीको टकराव अझै बढ्ने खतरा रहन्छ। सवारीसाधन भायडक्टबाट गुड्छन्’, श्रेष्ठले भने, ‘वन्यजन्तु भने भायडक्टमुनिबाट सडक पार गर्छन्।’

डीपीआर भने अहिलेसम्म स्वीकृत भएको छैन। डीपीआर स्वीकृतिका लागि निर्देशनालयले सडक विभागमा पेस गरेको छ। डीपीआरमा टिकौली जंगलबाहेक पथलैया–अमलेखगन्ज खण्डमा पनि २ किलोमिटरको भायडक्ट निर्माण गर्ने उल्लेख छ। यसका लागि ठूलो र अति ठूला जनवार सडक पार गर्नका लागि थप ३/३ वटा क्रसिङ पनि उल्लेख गरिएको छ। 

अति ठूला वन्यजन्तु क्रसिङको लम्बाइ १५ मिटर र उचाइ ६.५ मिटर तथा ठूला वन्यजन्तु क्रसिङको लम्बाइ १५ मिटर र उचाइ ४.५ मिटर छ। एसियाली विकास बैंक (एडीबी) र वन्यजन्तु विशेषज्ञहरूले भायडक्टबाहेक क्रसिङ बनाउन पनि सुझाव दिएका छन्। वन्यजन्तु क्रसिङ बनाउँदा खर्च बढ्ने भएकाले यसको विपक्षमा निर्देशनालय छ। ती ६ वटा क्रसिङ राख्ने कि नराख्ने भन्ने विषय टुंगोमा पुग्न नसक्दा डिजाइन स्वीकृतिमा ढिलाइ भइरहेको सडक विभागका अधिकारीहरू बताउँछन्। 

‘वन्यजन्तुको सुरक्षाका दृष्टिकोणले क्रसिङ महत्वपूर्ण हुन्छ। तर ठूलो लागतमा भायडक्ट तयार हुने भएकाले अतिरिक्त क्रसिङ राखेर खर्च बढाउनु पनि उत्तम विकल्प हैन। तर एडीबीको ऋण भएकाले डिजाइन स्वीकृत गर्नुअघि एडीबीले पनि अनुमोदन गर्नुपर्ने हुन्छ। यसले गर्दा समय लागेको हो’, ती अधिकारीले भने। 

हालको डिजाइनअनुसार नारायणगढ–पथलैया १०० किलोमिटर खण्डको लागत ५५ अर्ब रुपैयाँ अनुमान छ। एउटा भायडक्ट निर्माण गर्न मात्र करिब ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। 

भायडक्टमा ३० मिटरको दूरीमा एक पिल्लर रहन्छन्। दुई किलोमिटर खण्डमा कुल ६७ वटा पिल्लर निर्माण हुनेछ। ती पिल्लरको बीचबाट वन्यजन्तु सडक पार गर्छन्। 

जसमा निर्देशनालयले नारायणगढ–पथलैया खण्ड विस्तार एकै पटक अघि बढाउने योजना बनाएको थियो। तर बजेट अभावले गर्दा पूर्वनिर्धारित योजना परिवर्तन गर्नुपरेको श्रेष्ठ बताउँछन्। 

एडीबीबाट प्राप्त हुने सहुलियतपूर्ण कर्जा र एडीबीकै आर्थिक सहयोगमा सञ्चालित आयोजनाबाट बचत भएको रकम सडक विस्तारमा प्रयोगमा ल्याइनेछ। यसका लागि निर्देशनालयसँग करिब २ करोड ९५ लाख अमेरिकी डलर स्रोत उपलब्ध हुने अनुमान छ।

दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) करिडोरको सिलिङ २० करोड अमेरिकी डलर हो। तर बचत रकम र एडीबीबाट उपलब्ध हुने निर्देशनालयले गोन्द्राङ–राप्ती पुलसम्मको सडक खण्ड मात्र नभई पोखरा–मुलिङ सडक खण्डअन्तर्गतको मुग्लिङ–आँबुखैरेनी खण्ड विस्तारमा पनि प्रयोग गर्नेछ।

मुग्लिङ–आँबुखैरेनी खण्डबाहेक आँबुखैरेनी–पोखरा खण्ड ठेक्का लागी निर्माणसम्पन्न हुने चरणमा छ। मुग्लिङ–आँबुखैरेनी ८.२५० किलोमिटर खण्डमा मस्र्याङ्दी जलविद्युत् परियोजनाअन्तर्गतको पावर स्टेसन छ। कडा चट्टान र पावर स्टेसनले गर्दा यस खण्डमा मस्र्याङ्दी नदीको दुवै किनारबाट सडक विस्तार गर्ने योजना छ। 

तर नदीको दायाँ किनारतर्फ पृथ्वी राजमार्ग छ। बायाँतर्फ सडक रेखांकन कायम छैन। यसका लागि नयाँ रेखांकन मन्त्रिपरिषद्बाट स्वीकृत गर्नुपर्ने हुन्छ। रेखांकन मन्त्रिपरिषद्बाट स्वीकृत हुने प्रक्रियामा छ। 

रेखांकन स्वीकृत भएपछि निर्देशनालय मुग्लिङ–आँबुखैरेनी र गोन्द्राङ–राप्ती पुल खण्ड विस्तारको लागि ठेक्का निकाल्ने योजनामा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad