ad ad

कारोबार


सरकारले खोल्यो विदेशी लगानीका ट्राभल एजेन्सी नवीकरण गर्ने बाटो

सरकारले खोल्यो विदेशी लगानीका ट्राभल एजेन्सी नवीकरण गर्ने बाटो

दीपक भट्ट
साउन २, २०७९ सोमबार १५:४३, काठमाडौँ

दुई वर्षदेखि रोकिएको विदेशी लगानीका ट्राभल एजेन्सीहरु नवीकरण गर्ने बाटो खुल्ला भएको छ। 

योसँगै विदेशी लगानीका ट्राभल एजेन्सीले पुँजीवृद्धि गरेर लाइसेन्स नवीकरण गर्न पाउने भएका हुन्। 

पर्यटन विभागमा नवीकरण नभएर समस्यामा परेका विदेशी लगानीका एजेन्सीहरुको लागि नवीकरण गर्ने बाटो फुकुवा गर्ने निर्णय सरकारले गरेको हो। 

पर्यटन विभागले ट्राभल एजेन्सीको लाइसेन्स नवीकरणको लागि ५० लाख पुँजी हुनुपर्ने व्यवस्था गरेको छ। तर यता विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले भने  ट्राभल एजेन्सी व्यवसायमा विदेशी लगानी नै बन्देज गरेको छ।  

पर्यटन विभागले पुँजी वृद्धि गर्नुपर्ने र ऐनले विदेशी लगानी नै बन्देज गरेको दोहोरो मारमा परेका विदेशी लगानीका एजेन्सीहरुलाई सरकारले पुँजीवृद्धिको मध्यमार्गी बाटोबाट नवीकरण गर्नसक्ने व्यवस्था गरिदिएको हो। 

त्यसको लागि विदेशी लगानीका एजेन्सीले नेपाली साझेदार राखेर पुँजीवृद्धि गर्न सक्नेछन्।  

औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको बैठकले नेपाली साझेदार राखेर नेपालबाटै पुँजी थप गराउन सक्ने निर्णय गरेको छ। १ महिनाअघि बोर्डको २३५औँ बैठकले उक्त निर्णय गरेको हो। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले विदेशी लगानीको नेपालमा रहेका ट्राभल एजेन्सीको लाइसेन्स नवीकरण गराएर विदेशी लगानीलाई यथावत् गराउने निर्णय गरेको हो। 

बोर्डका एक सदस्यका अनुसार अब विदेशी लगानीका एजेन्सीले नेपाली साझेदार खोज्नुपर्नेछ। जसबाट लगानी गराएर कम्पनीको पुँजी न्यूनतम ५० लाख पुर्याउनुपर्नेछ। 

उनले भने, ‘विदेशी लगानी फिर्ता लैजानुस् भन्नुपर्ने अवस्था आयो। त्यसकारण नेपालीबाट थप लगानी गराउने निर्णय भएको छ।’

२ वर्षदेखि विदेशी लगानीका एजेन्सीहरु नवीकरणको समस्या भोग्दै आएका थिए। २ वर्षअघि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ आएको थियो। 

ऐनले ट्राभल एजेन्सी समेत गरेर ९ क्षेत्रमा विदेशी लगानी बन्देज गरेको छ। सो लगत्तै पर्यटन विभागले समेत पुँजी वृद्धि हुनुपर्ने व्यवस्था गरेको थियो। त्यसपछि नवीकरण रोकिएको थियो।

विदेशी लगानी खुला नगरिएका उद्योग वा व्यवसाय के–के हुन् ?
सरकारले पशुपन्छी पालन, माछापालन, मौरीपालन, फलफूल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसाय र कृषिका प्राथमिक उत्पादनका अन्य क्षेत्रहरुमा विदेशी लगानी खुल्ला गरेको छैन।

त्यसैगरी लघु तथा घरेलु उद्यम, व्यक्तिगत सेवा व्यवसाय (जस्तोः कपाल काट्ने, सिलाइ (टेलरिङ्ग), ड्राइभिङ्ग आदि) मा पनि विदेशी लगानी ल्याउन पाइँदैन। 

यसबाहेक हातहतियार, खरखजाना, गोलीगठ्ठा, बारुद वा विष्फोटक पदार्थ तथा न्युक्लियर, बायोलोजिकल तथा केमिकल (एनबीसी) हतियार उत्पादन गर्ने उद्योग, आणविक शक्ति (एटोमिक इनर्जी), विकीरणजन्य सामग्री (रेडियो एक्टिभ म्याटेरियल्स) उत्पादन गर्ने उद्योगमा पनि विदेशी लगानी खुलाइएको छैन।  

त्यस्तै, घरजग्गा खरिदबिक्री व्यवसाय (निर्माण उद्योगबाहेक), खुद्रा व्यापार, आन्तरिक कुरियर सेवा, स्थानीय क्याटरिङ्ग सेवा, मनिचेन्जर, रेमिटेन्स सेवा, पर्यटनमा संलग्न ट्राभल एजेन्सी, पथ प्रदर्शक, ट्रेकिङ्ग तथा पर्वतारोहण पथ प्रदर्शक, होमस्टे लगायतका ग्रामीण पर्यटनलगायतका क्षेत्रमा विदेशी लगानी प्रतिबन्धित गरिएको छ।  

तीबाहेक आमसञ्चारका माध्यमहरु (पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन समाचार)को व्यवसाय, राष्ट्र भाषाको चलचित्र व्यवसाय, व्यवस्थापन, लेखा, इन्जिनियरिङ, कानुनी परामर्श सेवा र भाषा तालिम, संगीत तालिम, कम्प्युटर तालिम तथा ५१ प्रतिशतभन्दा बढी विदेशी लगानी हुने परामर्श सेवाहरुमा विदेशी लगानी खुल्ला गरिएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .