विदेशी स्वामित्वका नेपाली वाणिज्य बैंक हाँक्ने प्रमुख कार्यकारी पदमा नेपालीले विदेशीलाई उछिन्न थालेका छन्।
दशकौँसम्म विदेशी व्यक्तिले नै हाँकिरहेका तीन नेपाली वाणिज्य बैंकमध्ये दुई बैंकमा नेपाली सीईओ बनेका हुन्।
बहुमत सेयर स्वामित्व भएको अन्तर्राष्ट्रिय वित्तीय संस्था स्ट्यान्डर्ड चार्टर्ड बैंकले दुई दशकदेखि निरन्तर विदेशी सीईओ राख्दै आएको थियो। तर अब गोरख राणा सीईओ बनेसँगै त्यो ‘परम्परा’ तोडिएको छ।
डेपुटी सीईओ रहँदै आएका गोरखले सन् २०२५ को सुरुवातसँगै बैंकको नेतृत्व गर्दै छन्।
नेपालमा सन् १९९७ (वि.सं. २०५८) मा भएको दरबार हत्याकाण्डमा गोली लागेर पनि बाँच्न सफल राणा २८ वर्षपछि स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रमुख ओहोदामा पुगेका हुन्।
कुनै बेला राजकुमारीसँग विवाह भएकै कारण ‘शाही उपाधि’ पाएका राणाले कर्मचारी जीवनलाई रोजेका हुन्। स्वर्गीय राजा वीरेन्द्र शाहकी छोरी श्रुति शाहसँग विवाह गरे पनि उनले जागिरे जीवन रोजे। आफू कार्यरत स्ट्यान्डर्ड चार्टर्ड बैंक (तत्कालीन नेपाल ग्रिन्डलेज बैंक)मा अधिकृतसरहको जागिरलाई निरन्तरता दिए।

दरबार हत्याकाण्डको असहज परिस्थितिबीच उनले बैंकको जागिरलाई निरन्तरता दिँदै अधिकृतदेखि उपकार्यकारी प्रमुखको जिम्मेवारी सम्हाले।
उनले काम गरेको २८ वर्षसम्म नेपाली सीईओलाई नपत्याएको स्ट्यान्डर्ड चार्टर्ड बैंकले झण्डै तीन दशकपछि गोरखलाई बैंकको नेतृत्व सुम्पिएको हो।
विश्वका १३ देशमा स्ट्यान्डर्ड चार्टर्ड बैंक सञ्चालन गर्दै आएको स्ट्यान्डर्ड चार्टर्ड ग्रुपले नेपालको शाखामा ७०.२१ प्रतिशत सेयर आफ्नो स्वामित्वमा राखेको छ भने बाँकी २९.७९ प्रतिशत सेयर स्वदेशी लगानीकर्तालाई दिएको छ। सेयरको बहुस्वामित्व आफ्नो नाममा राखेको ग्रुपले बैंकको आन्तरिक कामकाजको नेतृत्वमा समेत विदेशी कर्मचारी राख्दै आएको छ।
यो बीचमा गोरखले यसपटक ४ वर्षसम्म बैंकको नेतृत्व गर्ने पहिलो नेपाली हुने मौका पाएका छन्।
सेयर स्वामित्वका आधारमा विदेशी संस्थाले नेपालको बैंक व्यवस्थापन गरिरहेको बैंकमा पर्छ एभरेष्ट बैंक पनि। यो बैंकमा स्वदेशी सेयर स्वामित्व ७९.९८ प्रतिशत छ। अर्थात् ८ अर्ब ५५ करोड रुपैयाँ स्वदेशी लगानी छ भने भारतीय पञ्जाव नेशनल बैंकको २०.०२ प्रतिशत सेयर स्वामित्व छ। अर्थात् २ अर्ब १४ करोड रुपैयाँ लगानी छ।
एभरेष्टमा पनि २५ वर्षदेखि निरन्तर विदेशी नेतृत्व रहँदै आएको थियो। चार वर्षअगाडि विदेशी सीईओको परम्परा तोडिएको थियो।

वि.सं.२०७७ चैतमा सुदेश खालिङ बैंकको प्रमुख कार्यकारी अधिकृत भएर आएपछि पहिलोपटक नेपालीले यो बैंक हाँक्ने अवसर पाएका हुन्।
तत्कालीन सञ्चालक समितिले तत्कालीन सीईओ गजेन्द्र कुमार नेगीले काम गर्न नसकेको भन्दै कार्यकाल सकिनुअगावै पदबाट हटाएर खालिङलाई ल्याएको थियो। यति बेलासम्म विदेशी बैंकको प्रत्यक्ष लगानी तथा व्यवस्थापनमा हस्तक्षेप भएका बैंकहरुको नेतृत्व गर्ने खालिङ पहिलो थिए। अहिले उनी आफ्नो ४ वर्षे कार्यकालको अन्तिम चरणमा छन्।
यस्तै विदेशी बैंकको स्वामित्वमा रहेको अर्को बैंक नेपाल एसबीआई बैंकमा भने नेपालीले नेतृत्व गर्न अझै पाएका छैनन्। भारतीय बैंक स्टेट बैंक अफ इन्डियाको सहायक बैंकको रुपमा रहेको नेपाल एसबीआई बैंकमा उसको ५५ प्रतिशत सेयर स्वामित्व छ भने कर्मचारी सञ्चय कोषको १५ प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व छ।
कुल सेयरको आधा हिस्सा स्वामित्वमा रहेको नेपाल एसबीआई बैंकमा भारतीय स्टेट बैंकले सञ्चालकदेखि व्यवस्थापनसम्मको नेतृत्वमा भारतीयलाई नै राखेको छ। यसका प्रमुख कार्यकारी अधिकृतमा पनि विदेशी नै छन्। सञ्चालक समितिमा भने स्टेट बैंक अफ इन्डियाका ३ जना प्रतिनिधि रहँदा ३ जना नेपालका छन्।

तर कार्यकारी तहमा भने बैंकले हालसम्म नेपालीलाई नेतृत्वको जिम्मेवारी दिएको छैन। बैंकको प्रमुख कार्यकारी अधिकृतमा केन्द्र (स्टेट बैंक अफ इन्डिया) ले नै दिपक कुमार देलाई जिम्मेवारी दिएको छ।
योबाहेकका वाणिज्य बैंकहरुमा पनि विदेशी लगानी छन्। एनएमबी बैंकको सबैभन्दा धेरै प्रमोटर सेयर विदेशीसँगै छ। नेदरल्यान्डको डच विकास बैंक एफएमओले एनएमबी बैंकमा १४ प्रतिशत सेयर स्वामित्व लिएको छ भने ४ प्रतिशत मलेसियाको एम/एस योङ लियोन रियल्टी र मलेसिया होल्डिङको पनि ४ प्रतिशत सेयर छ। बाँकी स्वदेशी लगानी छ।
त्यस्तै नबिल बैंकमा पनि आयरल्यान्डको एनबी इन्टरनेशनल कम्पनीको ५० प्रतिशत सेयर छ।
योबाहेक स्थापनाकालमा फ्रान्सको क्रेडिट एग्रिकोल इन्डोसुएज क्रेडिट एग्रिकोल इन्डोसुज बैंकको ५० प्रतिशत सेयर स्वामित्वसहित सुरु भएको नेपाल इन्डोसुज बैंक (हालको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक) भने सन् २००२ नेपालीहरुले नै स्वामित्वमा लिएपछि लगानी लिएर विदेशी कम्पनी बाहिरिए।
नेपाली लगानी बढाएसँगै सन् २००२ बाटै यो कम्पनीको नाम परिवर्तन गरेर नेपाल इन्भेष्टमेन्ट बैंक (हालको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक) राखियो। त्यसयता यसमा विदेशीको लगानी छैन।
Shares

प्रतिक्रिया