वित्तीय साइबर अपराधमा विद्यार्थीहरु सबैभन्दा धेरै संलग्न हुने गरेको देखिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको स्ट्राटेजिक एनलाइसिस रिपोर्ट २०२४ले अलनाइनमार्फत हुने बैंकिङ ठगीमा सबैभन्दा धेरै संलग्नता विद्यार्थीहरुको रहेको देखाएको हो।
प्रतिवेदनअनुसार ४९ प्रतिशत शंकास्पद कारोबार तथा बैंकिङ ठगीमा उनीहरुको संलग्नता देखिएको छ। खासगरी १९ देखि २४ वर्षसम्मका व्यक्तिहरु यस्तो ठगीमा संलग्न रहेको प्रतिवेदनले औँल्याएको छ।
प्रतिवेदनअनुसार जेठ मसान्तसम्म डिजिटल वालेटमार्फत हुने ठगी ६३ प्रतिशतले बढेको छ। यसमा विद्यार्थीहरु नै बढी संलग्न देखिएका छन्।
राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण, शंकास्पद कारोबार र अनलाइनमार्फत हुने बैंकिङ तथा साइबर ठगीमा समाजिक सञ्जालदेखि डिजिटल वालेटसम्म प्रयोग भएको निष्कर्ष निकाल्दै १९ देखि २४ वर्ष समूहका व्यक्तिहरुको उच्च संलग्नता देखिएको उल्लेख गरेको हो।
त्योबाहेक यस प्रकारका ठगीमा क्रमशः २५ देखि ३० वर्ष उमेर समूहको २१ प्रतिशत, ३१ देखि ३६ वर्ष समूहको १६ प्रतिशत र ३६ वर्षभन्दा माथि उमेर समूहको संलग्नता १४ प्रतिशत रहेको देखिएको छ।
राष्ट्र बैंकले गरेको अध्ययनअनुसार नेपाल प्रहरीमा सन् २०२२/२३ मा १२ हजार १ सय ३५ वटा बैंकिङ ठगीका उजुरी नेपाल प्रहरीमा दर्ता भएका थिए। चालू आवको जेठ मसान्तसम्म भने बैंक तथा वित्तीय संस्थाहरुमार्फत मात्रै १ हजार ५ सय ६९ वटा उजुरी राष्ट्र बैंकमा दर्ता भएका हुन्।
जसमा वाणिज्य बैंकहरुबाट १२ सय ६२ वटा घटना दर्ता हुँदा विकास बैंकहरुबाट २१७ वटा, रेमिट्यान्स कम्पनीबाट ४७, भुक्तानी प्रदायक संस्थाबाट १७ वटा, वित्त कम्पनीबाट १७ वटा र अन्यबाट ९ वटा यस्ता घटना राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा दर्ता भएका छन्।
प्रतिवेदनमा जेठ मसान्तसम्म भएका ठगीहरुमा ६४ प्रतिशत साइबरसक्रिय वित्तीय ठगी रहेको पाइएको हो।
राष्ट्र बैंकले १३८ जनासँग गरेको अनुसन्धानमा बैंकिङ ठगी तथा साइबर अपराधमा ४४ जना विद्यार्थीहरु संलग्न रहेको खुलेको छ। यसमा कर्मचारी २७ जना संलग्न भेटिँदा किसान र व्यावसायिक फर्ममा कार्यरत १६/१६ जना संलग्न भेटिएको हो।
प्रतिवेदनमा नेपालमा हुने प्रमुख १० अपराधमध्ये सबैभन्दा ठूलो हिस्सा बैंकिङ क्षेत्रमा रहेको उल्लेख छ। जसमा बैंक खाता, पासवर्डजस्ता व्यक्तिगत विवरण हात पारेर गरिने ठगी, चिठ्ठा, अनलाइन सपिङ, घर बसेरै काम गर्ने सुविधालगायतका नाममा हुने बैंकिङ ठगीको हिस्सा सबैभन्दा धेरै रहेको उल्लेख छ।
ठगको फन्दामा नयाँ खातावाल
ठगको फन्दामा बैंकका नयाँ खातावालहरु बढी पर्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ। जेठ मसान्तसम्म राष्ट्र बैंकले ४९ प्रतिशत ठगी खाता खोलेको ९० दिनभित्रका खाताहरुबाट भएको उल्लेख गरेको हो।
योबाहेक खाता खोलेको ९० देखि १८० दिनसम्मका खाताहरुबाट १५ प्रतिशत, १८० दिनदेखि २७० दिनसम्मका खाताबाट १० प्रतिशत र एक वर्र्षभन्दा माथि समय भइसकेको खाताबाट २३ प्रतिशत ठगीका घटना भएका हुन्। यसमा पनि प्रयोग नहुने खाताहरुको प्रयोग गरी ठगी गर्नेहरु बढेको पाइएको छ।
यसरी नयाँ खातावालको प्रयोग गरी ठगहरुले एटीएम कार्ड तथा अनलाइन ट्रान्सफरमार्फत पैसा निकाल्ने गरेको पाइएको छ।
अध्ययनले साइबर अपराधका माध्यमहरु दिनप्रतिदिन बढिरहँदा बैंक तथा वित्तीय क्षेत्र सुरक्षालाई लिएर थप चनाखो हुनुपर्ने उल्लेख गरेको छ।
यसका लागि बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको बायोमेट्रिकसहितको केवाईसी अपडेट गर्नुपर्ने, खाता खोलेको केही समयपछि मात्रै डिजिटल बैंकिङ सुविधा दिने व्यवस्था गर्नुपर्ने, जोखिमरहित रियलटाइम ट्रान्ज्याक्सन कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख गरेको छ।
Shares

प्रतिक्रिया